लिमीमा पुगेन आयोडिनयुक्त नुन

छपाल लामा

हुम्ला — ढुवानी अनुदानको आयोडिनयुक्त नुन गाउँमा नपुग्दा नाम्खा गाउँपालिका–६, लिमीका बासिन्दा अझै ढिके नुनको भरमा छन् ।

लिमीमा पुगेन आयोडिनयुक्त नुन

सरकारले १५ वर्षदेखि ढुवानी अनुदानमा हुम्लामा आयोडिनयुक्त नुन पठाइरहेको छ । तर डिपो सदरमुकाममै सीमित हुँदा लिमीबासी आयोडिनयुक्त नुनबाट वञ्चित छन् ।

आयोडिनयुक्त नुनको अभावमा अधिकांश महिला र बालबालिका वर्षौदेखि कुपोषणको शिकार बनेको वडाध्यक्ष पाल्जोर लामाले बताए । ‘सदरमुकाममा बर्सेनि सयौं क्विन्टल आयोडिनयुक्त नुन आउँछ,’ उनले भने, ‘तर हामीले कहिल्यै त्यो नुन खान पाएनौं ।’ उनले ढुवानी समस्याका कारण गाउँबासी ढिके नुनको भरमा रहेको बताए ।

लिमीमा तिल, हल्जी र जाङ गरी ३ बस्ती छन् । जहाँ झन्डै १ हजार घरधुरीको बसोबास छ । लामो समयदेखि चिनियाँ बजारबाट खरिद गरिएको ढिके नुन उपभोग गर्दै आएको हल्जीका खेनराब लामाले बताए । उनका अनुसार लिमीबाट सदरमुकाम आउजाउ गर्न दुई साता लाग्छ । ‘धेरैजसोलाई आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ भन्ने ज्ञानै छैन,’ उनले भने, ‘वर्षमा एकपल्ट लाग्ने तिब्बती हाटबजारबाट नुन खरिद गरी वर्षभरि पुर्‍याइरहेका छौं ।’ आयोडिनको अभावमा थाइराइड, गलगाँड आउनेलगायत स्वास्थ्यसमस्या देखिने जिल्ला अस्पतालका डा. टसिआङ्जुक लामाले बताए ।

प्रकाशित : असार १४, २०७७ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?