कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नगरसभामा खुर्सानीको धुलो प्रहार गर्ने ४ जना वडाध्यक्षसहित १० नगरसभा सदस्यलाई कारबाही 

राजबहादुर शाही

मुगु — नगरसभामा खुर्सानीको धुलो प्रहार गरेर बैठक अवरुद्ध गर्न खोजेपछि छायानाथरारा नगरपालिकाले ४ जना वडाध्यक्षसहित १० जना नगरसभा सदस्यहरुलाई कारबाही गरेको छ ।

बुधबार सातौ नगरसभा उद्घाटनका क्रममा खुर्सानीको धुलो प्रहार गरेको र कुर्सी–टेबुल तोडफोड गरेको आरोपमा उनीहरुलाई ७ दिनका लागि निष्कासित गरिएको हो ।

वडा नम्बर १ का वडाध्यक्ष लोकबहादुर हितान, ७का अध्यक्ष हरिचन्द शाही, १२ का अध्यक्ष सुवासचन्द बुढा र १४ का अध्यक्ष नन्दलाल बडुवाललाई निष्कासन गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए । यस्तै सभा विथोल्न खोज्‍ने वडा सदस्यहरु बैदेवी बिक, पंचकला रावल, सीमा परियार र वास्मति विकलाई पनि कारबाही गरिएको हो ।

नगरसभा सञ्चालन लागि व्यवस्था गर्न बनेको ऐन–२०७५ को दफा ९ (उपदफा ४) बमोजिम उनीहरुलाई निष्कासन गरिएको नगरप्रमुख शाहीले बताए । ‘सभाकक्षको शान्ति सुव्यवस्था भंग गरेकाले ७ दिनका लागि निष्कासित गरिएको छ,’ उनले भने ।

फेरि तालाबन्दी

तालाबन्दी खुलेको ३ दिन नबित्दै नगरपालिकामा फेरि ताला लागेको छ । नेकपा समर्थक जनप्रतिनिधिले बिहीबार नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयलाई दुर्व्यवहार गरेको भन्दै स्थानीय तह कर्मचारी संघले ८ दिनसम्म तालाबन्दी गरेको थियो । लगातार तालाबन्दी हुन थालेपछि प्रशासनिकसहित विकास निर्माणका कामकाज प्रभावित भएका छन् ।

आफूहरुका मागप्रति बेवास्ता गरिएपछि तालाबन्दी गरिएको नगर उपप्रमुख सुन्तला रोकायाले बताइन् । माग पूरा नभएसम्म तालाबन्दी जारी हुने उनको भनाइ छ । असन्तुष्ट पक्षसँग सहमति गरी ताला खुलाइने नगरप्रमुख शाहीले बताए ।

यो पनि पढ्नुहोस्ः

मेयर–उपमेयरको चेपुवामा छायानाथ–रारा

प्रकाशित : असार ११, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?