सल्यानका थप १२ संक्रमित निको भए

विप्लव महर्जन

सल्यान — जिल्लामा सोमबार कोरोना निको भएर थप १२ जना घर फर्किएका छन् । कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा बसेका तीन र चौरजहारी मिसन अस्पतालको आइसोलेसनमा रहेका १२ जनाको दोस्रोपटकको रिपोर्ट नेगेटिभ आएको हो ।

सल्यानका थप १२ संक्रमित निको भए

योसँगै जिल्लामा कोरोना निको हुनेको संख्या ६६ पुगेको छ । सल्यान बहुमुखी क्याम्पसबाट ४१, प्रदेश अस्पताल सुर्खेतबाट १३, कुमाख गाउँपालिकाबाट तीन, चौरजहारी मिसन अस्पतालको आइसोलेसनबाट नौ र जिल्ला अस्पताल सल्यानबाट पाँच जना निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले बताए । कोरोना संक्रमित १ सय ७२ मध्ये अहिले जिल्ला अस्पतालमा सात, लुहापिङस्थित बहुमुखी क्याम्पसमा ८८, चौरजहारीको मिसन अस्पतालमा पाँच जनाको उपचार भइरहेको उनले जानकारी गराए । उनका अनुसार घर फर्काइएकाहरू अहिले होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

भारतबाट आएर जिल्लाका १० स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका ३ हजार ८ सय ४४ जनाको स्वाब संकलन गरिएकोमा तीन हजारको रिपोर्ट आएको छ । तीमध्ये १ सय ७२ मा मात्र पोजिटिभ देखिएको हो ।

सबैभन्दा बढी बन्गाड कुपिण्डे नगरपालिकामा १ सय ३४ संक्रमित रहेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।

प्रकाशित : असार ८, २०७७ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?