कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छायानाथरारा नगरपालिकामा ८ दिनदेखि तालाबन्दी

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिकामा ८ दिनदेखि तालाबन्दी हुँदा प्रशासनिक र विकास निर्माणका कामकाज ठप्प भएका छन् ।

मागेअनुसार सूचना नदिएको भन्दै नेकपाका केही कार्यकर्ताले जेठ ३० गते प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेयलाई दुर्व्यवहार गर्दै कार्यकक्ष तोडफोड गरेका थिए ।

घटनाको विरोधमा स्थानीय तह कर्मचारी संघले गत आइतबारदेखि नगरपालिकामा तालाबन्दी गरेको हो । घटनामा संलग्नमाथि कारबाही नभएसम्म तालाबन्दी जारी हुने संघका जिल्ला संयोजक उपरबहादुर मल्लले बताए ।

कार्यालयमा तालाबन्दी गरिएपछि प्रशासनिकसहित विकास निर्माण, योजना भुक्तानी, अनुगमन र नगर परिषद् तयारीलगायत काम प्रभावित भएका छन् । राजनीतिक पूर्वाग्रहका कारण नेकपाका कार्यकर्ताले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तोडफोड गरेको नगरप्रमुख हरिजंग शाहीले आरोप लगाए । सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीका अनुसार घटनामा संलग्नको खोजी भइरहेको छ ।

प्रकाशित : असार ७, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

अहिले नगरे कहिले गर्ने ?

उपत्यकाका काँठमा थपिने नयाँ सहरले चाप बढ्ने प्राचीन सहरलाई नै हो । किन थपिँदै छन् नयाँ सहर यहाँ ? उपत्यकावासी प्रश्न गर्दै छन् । तर जवाफ दिने निकाय कमिसन आउने दिवास्वप्नमा मस्त छ ।
शिशिर वैद्य

सहरको प्राचीन बजार असनमा बहस चलिरहेको छ– अहिले नगरे कहिले गर्ने ? युवा एकजुट भएका छन् । तात्तिएका छन् । फुटपाथ पसलले अस्तव्यस्त बनाएको असनलाई व्यवस्थित बनाउने शंखनाद गरेका युवालाई प्रौढहरू प्रोत्साहित गर्दै छन् । भन्दै छन्– ‘ठीक गर्‍यौ । असनमा हुने भीडको मूल कारक यिनीहरू नै हुन् ।’

काठमाडौंको मूल बजार हो असन । यहाँ जन्मदेखि मृत्युसम्म आवश्यक सबै सामान पाइन्छन् । बिहानभरि लाग्ने फुटपाथ बजार असनको शोभा हो । खुसीबूं, चमती, काभ्रेस्थली, धर्मस्थली, गोंगबुँ, टोखा, इचंगु, थिमी आदि काँठ र वरपरका खेतबारीमा फलेका तरकारीको मूल बजार यही हो । डोकामा साग र तोरी, खर्पनमा काउली, चम्सुर र पालुंगो बोकेर ठाउँठाउँ बिसाउँदै आइपुग्ने किसान । स्वाँ माला भन्दै घरघर डुलेर फूल बेच्न आइपुग्ने गथुहरू । भक्तपुरको जुजुधौ, फर्पिङको आलुबखडा, छैमलेको नास्पाती, टोखाको चाकु बोकेर मिर्मिरेमै आइपुग्थे किसानहरू उहिले । यो क्रम कहिले सुरु भयो, यसै भन्न सकिन्न । संख्या पातलिएको छ । उनीहरू आउने क्रम रोकिएको छैन । सहर यी व्यापारी र किसानको पदचापसँगै ब्युँझिन्छ । काँठका यी व्यापारीका ठाउँ फुटपाथ व्यापारीले लिएका छन् । मिर्मिरेमै आउने किसानहरूसँग सस्तोमा किनेर नाफा खान पल्केका छन् यी बिचौलियाहरू । बजार बस्न नदिए पनि हातहातै बेच्नेहरूको भीड कायमै छ ।

असनको फुटपाथ बजारको शोभा हराएको छ आजभोलि । तरकारी बजार विस्थापित भएको छ । तर के पाइँदैन यहाँ ? हरेक चिज पाइन्छ सडकमा । जुत्ता, मोजा, पाइन्ट, सर्ट, साडी, चप्पल, रुमाल, तन्ना, मास्क, ट्राउजर, काइँयोदेखि मुसा–साङ्लो मार्ने औषधिसम्म पाइन्छन् सडकमा । फुटपाथ व्यापारीहरूको यो भीड स्थानीय र सहरका लागि टाउको दुखाइ बनेको छ । कतिलाई व्यवस्थित गर्ने ? कहाँ मात्र व्यवस्थापन गर्ने ?

मनमोहक सहर काठमाडौंले रूप फेरेको छ । आधुनिक बन्ने होडमा सुन्दरता गुमाएको छ । वाग्मती, विष्णुमती, इच्छुमती, रुद्रमतीमा सफा पानी बग्थ्यो कुनै समय । वर्तमान पुस्ता यो कुरा पत्याउन चाहँदैन । सधैं फोहर बगेको देखेको पुस्ताले यो कुरा पत्याओस् पनि कसरी ? ढलमती बनेका छन् यी सबै खोला । काँठका खेतीयोग्य जमिन नयाँ सहरले ढाकेको छ । काठमाडौंका रैथाने भन्नेहरूका लागि यी नयाँ सहर बिराना बस्ती हुन् । उपत्यकाको प्राचीनताले यी बस्तीलाई चिन्दैन । नयाँ सहर, नौला मानिस अनि अर्थहीन नामहरूले सुसज्जित छन् यी नयाँ बस्ती । यी बस्तीमा देशभरिका मानिस भेटिन्छन् । पूरै देश ओइरिएपछि सहरमा भीड बढ्नु स्वाभाविक हो । सरकार अझै सहर थप्दै छ यो खाल्डोमा । उपत्यकाका काँठमा थपिने यी नयाँ सहरले चाप बढ्ने उही प्राचीन सहरलाई नै हो । किन थपिँदै छन् नयाँ सहर यहाँ ? उपत्यकावासी प्रश्न गर्दै छन् । तर जवाफ दिने निकाय कमिसन आउने दिवास्वप्नमा मस्त छ ।

कोरोना संक्रमणको त्रासले बन्द सहर मन्द खुलेको छ । लकडाउनलाई ‘लुजडाउन’ गरिएको छ । यससँगै उपत्यका छिर्नेको भीड बढेको छ । संक्रमण दिनानुदिन फैलिएसँगै मान्छेले मान्छेलाई मान्छे देख्न छाडेको छ सहरमा । सद्भाव र आतिथ्यका लागि सधैँ तत्पर हुने सहर ढोका थुनेर बसेको छ । कोरोना संक्रमणको त्रासलाई पढेलेखेका, बुद्धिमान् र सभ्य भन्नेहरूले नै अतिरञ्जित पारेका छन् । सजग भएजस्तो, सचेत बनेजस्तो गरी डराएका छन् उनीहरू । वैज्ञानिकहरूले भनेका, विज्ञहरूले सुझाएका उपायमा विश्वास गर्दैन सहर । आफैं विज्ञ छन् यहाँ जो–कोही । कोरोना मान्छेबाट मान्छेमा सर्छ । यो नयाँ प्रकारको रुघा हो । तर यसका लागि माध्यम जरुरी हुन्छ । त्यसैले मास्क, व्यक्तिगत दुरी अनिवार्य छ । महँगा साबुनको अत्यधिक खपत हुने सहरलाई हात धुन सिकाउन नपर्ने हो । तर रेडियो, टीभी, पत्रपत्रिका र सामाजिक सञ्जाल हात धुन सिकाउँदै छन् । मास्क लगाउन सम्झाउँदै छन् । तर पनि सहर हरेक मान्छेलाई शंकाको चस्मा लगाएर हेर्छ । सहरमा मनोवैज्ञानिक त्रास बढेको छ । विज्ञहरू भन्दै छन्, यो विश्व परिवर्तन हुने समय हो । महामारीबाट पार लागिसकेपछिको विश्व अलग हुनेछ । अर्थतन्त्र फेरिनेछ । मानिसहरूको व्यवहार फेरिनेछ । हाम्रो सहरको चरित्र अजिबको छ । यो फेरिन खोज्दैन । तर चलायमान् छ । लकडाउनमा पनि चलिरहेकै थियो, भित्रभित्रै ।

असनमा फुटपाथेहरू प्रहरी देख्यो कि भाग्छन् । अन्यत्र सहरबजारमा साहुजीहरू प्रहरी भ्यान देखेपछि सटर तान्छन् । लुकामारी चलिरहेको छ सहरमा । असनमा सही चर्चा चलेको छ । अहिले नगरे कहिले गर्ने ? कोरोना संक्रमण महामारी हो । महामारीको औषधि पत्ता लागिसकेको छैन । अवस्था बिग्रन नदिन मानिसको व्यवहारले ठूलो भूमिका खेल्छ । त्यसैले भनिँदै छ, लकडाउनलाई लुजडाउन गर्दा होस पुर्‍याउनुपर्छ । नत्र तीन महिना लामो लकडाउन व्यर्थ हुनेछ । सहरको पर्याय हो भीड । बजारमा भीड, बैंकमा भीड, बसमा भीड, माइक्रोमा भीड, मन्दिरमा भीड, जात्रापर्वमा भीड । सार्वजनिक यातायातको प्रयोग गर्नेहरूका लागि भीडको अनुभव अनिवार्य छ सहरमा । यसको विकल्प छैन । ‘लुजडाउन’ रणनीति बनाउँदा निकै होस् पुर्‍याउनुपर्छ यहाँ । सहर–बजार अनि सार्वजनिक यातायातको भीड व्यवस्थापन गर्ने सुनौलो अवसर हो अहिले । फुटपाथका पसल हटाउने अभियान भीड नियन्त्रणको एउटा पाटो मात्रै हो । संक्रमण फैलाउन भीडको भूमिका अहम हुन्छ । सहरले अब व्यवहार फेर्नुपर्छ । भीडलाई पर्याय बनाएर संधैँझैं चल्न खोजे जोखिम बढ्छ । जोखिम कोरोना संक्रमणको मात्रै होइन, अन्य पनि छन् । गल्लीको मुखमा फुत्त फोहरको पोको फालेर मुख लुकाउँदै लुसुक्क हराउने समाज छ यहाँ । महामारी यत्तिकै फैलिने होइन, लापरबाहीले फैलिने हो । यो बुझाउने राम्रो अवसर पनि हो अहिले ।

टेम्पो र माइक्रो सहरका गल्लीमा छिर्न सहज यातायात साधन हुन् । यी सार्वजनिक यातायातमा यात्रा गरेकाहरूलाई यसको यात्रा अनुभव सुनाइरहनै पर्दैन । व्यक्तिगत दुरी राख्न पर्याप्त ठाउँ नै नहुने यस्ता सार्वजनिक यातायात कसरी सञ्चालनमा आउलान् ? निर्विकल्प छन् कतिपय सहरबासी । कसरी सम्भव होला उनीहरूको यात्रा ? यी कोचाकोच यातायातमा यात्रा गरेको सम्झिँदा पनि आङ सिरिंग हुन्छ अहिले । पछिल्ला केही वर्षमा सहरमा यातायात व्यवस्थाले फड्को मारेको छ । नयाँ–नयाँ सार्वजनिक बस सञ्चालनमा आएका छन् । बस नयाँ आउँदैमा भीड नहुने होइन रहेछ । सहरबासीको आचरणमा परिवर्तन नआएसम्म र सरकारले सार्वजनिक यातायातको यात्रु ओसार्ने नीतिमा कडाइ नगरेसम्म भीड घट्नेछैन । केही विकसित देशले सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्रै यात्रु ओसार्ने अनुमति दिएर ‘लुजडाउन’ गरेका छन् । त्यहाँ सार्वजनिक यातायात सरकारमातहत चल्छन् । व्यवसायीले चलाए पनि नीति–नियम कडा छन् ।

हामीकहाँ सार्वजनिक यातायातको जिम्मा निजी व्यवसायीले लिएका छन् । नेताहरू थुप्र्रै निजी व्यवसायीका साझेदार छन् । भन्सार छुट, राजस्व छुट, वार्षिक करमा छुट पाइरहेका सार्वजनिक यातायातको सार्वजनिक दायित्व यात्रु ओसार्नु मात्रै पक्कै होइन । सुरक्षित, व्यवस्थित र सुविधाजनक ढंगले सेवा दिनु पनि हो । जुन एक प्रतिशत पनि पालना भएको छैन । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने यो सही अवसर हो । यसमा सबैभन्दा बढी दायित्व यातायात व्यवसायीको हुन्छ । सरकारको हुन्छ । यात्रुको पनि हुन्छ । तर नीति निर्माता नै सार्वजनिक व्यवसायीको साझेदार बनेपछि नाफाका लागि मान्छे कोच्दा बोल्ने कसले ? सहरका जनताले सिक्नुपर्ने, सिकाउनुपर्ने, बुझ्नु/बुझाउनुपर्ने यस्तै समयमा हो । अहिले पनि नसिके कहिले सिक्ने ? अहिले पनि नबुझे कहिले बुझ्ने ? सहर आफैं बुझक्कड छ । विज्ञहरूको कमी छैन यहाँ । चिया चौतारीमा गफ छाँट्ने विज्ञहरू सर्वज्ञानी ठान्दछन् आफूलाई यहाँ । सहर यिनै सर्वज्ञानीहरूले चलाइरहेका छन् । फुटपाथे व्यापारीको पीडा देख्दैनन् उनीहरू । गामा र पाखे भन्छ सहर यी फुटपाथ व्यापारीलाई । किन बढ्दै छन् सहरमा यिनीहरूको भीड ? किन अनेक अवहेलना सहेर पनि भागीभागी, लुकीलुकी, फर्कीफर्की आउँछन् उनीहरू सहरमा ? यसको जवाफ खोज्ने फुर्सद छैन सहरलाई ।

आफूलाई ‘लक’ गरेर घरभित्र मस्त बसेको छ सहर । फुटपाथ व्यापारी गरिब होइनन्, न्यून आय भएका इलमीहरू हुन् । सहरका गल्लीहरूमा लाखौं यस्ता मानिस डेरा लिएर बसेका छन् । डम्बर गन्धर्व लकडाउनको अप्ठ्यारोमा सहरमा बाँचेका तिनै गरिबको पीडा गाउँदै भन्छन्…–

कोरोना भाइरस छोए नि सर्ने

लकडाउन भयो खै अब के गर्नी...

सारा सटर लाग्या छ ताला

काम छैन हजुर गरिबले के खाला ?

प्रकाशित : असार ७, २०७७ १४:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×