हुम्लाको हिल्सामा सशस्त्रको बीओपी स्थापना

छपाल लामा

हुम्ला — चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकास्थित हिल्सामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । 

हुम्लाको हिल्सामा सशस्त्रको बीओपी स्थापना

पोस्टमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जना सुरक्षाकर्मी रहनेछन् । शसस्त्र प्रहरीका डीआइजी प्रतापबावु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीको उपस्थितिमा शनिबार हिल्सामा बीओपी स्थापना गरिएको हो ।

पोस्ट स्थापना गर्न सशस्त्र प्रहरीको टोली ४ हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको हुम्लाका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहन विष्टले बताए । ‘टोलीले सीमा सुरक्षालाई पहिलो प्राथमिकता दिनेछ,’ उनले भने, ‘सीमामा हुने आपराधिक र गैरकानुनी गतिविधिको निगरानी गर्न पनि बीओपीलाई अख्तियारी दिइएको छ ।’

सरकारले गत वर्ष नै पोस्ट स्थापना गर्ने निर्णय गरे पनि प्रक्रियागत ढिलाइका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन । यसअघि हिल्सामा नेपाल प्रहरीको टोलीले सीमा सुरक्षाको काम गरिरहेको थियो ।

प्रकाशित : असार ७, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?