कर्णालीका दुई स्थानीय तहमा पीसीआर मेसिन

सुर्खेत/दैलेख) — कर्णालीका दुई स्थानीय तहमा कोरोना परीक्षणमा प्रयोग हुने पीसीआर मेसिन खरिद गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले मेसिन खरिदका लागि बिहीबार सम्झौता गरेको छ भने दैलेखको नारायण नगरपालिकाका लागि मेसिन खरिद भइसकेको छ ।

कर्णालीका दुई स्थानीय तहमा पीसीआर मेसिन

दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी मेसिन खरिद गर्न लागिएको चौरजहारी नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार मेसिन आएपछि रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका क्‍वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण सहज हुनेछ । नगरपालिकाले मेडिसोलुसन प्रालि काठमाडौंसँग १ हजार परीक्षण किटसहित मेसिन खरिदका लागि १ करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको हो ।

मेसिन सञ्चालन भएपछि आवश्यक्ताका आधारमा स्वाब संकलनका लागि किट खरिद गर्ने नगरपालिकाले जनाएको छ । ‘स्वाब परीक्षणका लागि सुर्खेत पठाउँदा पालो नआउने समस्या देखियो,’ नगरप्रमुख शर्माले भने, ‘मेसिन सञ्चालनमा आएपछि रुकुमसहित आसपासका जिल्लाबाट खरिद गरिएको स्वाब परीक्षणलाई तीव्रता दिइनेछ ।’

अहिले जिल्लाभरि झण्डै १ हजार ५ सय जना विभिन्‍न क्वारेन्टाइनमा बसिरहेका छन् । रुकुममा संकलन गरिएको १ हजार १ सय ४६ जनाको स्वाबको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन ईश्वर रावलले बताए ।

मेसिन खरिदका लागि १ करोड

कर्णालीमा कोरोना संक्रमणको ‘रेड जोन’ मानिएको दैलेखस्थित नारायण नगरपालिकाले निर्वाचन क्षेत्र विकास कोषको रकमले पीसीआर मेसिन खरिद गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गए पनि परीक्षणमा ढिलाइ भएपछि नगरपालिकाले आफै मेसिन खरिद गरेको हो ।

मेसिन खरिदका १ करोड रुपैयाँमा सम्झौता भएको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनका अनुसार संकलन गरिएको स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान,जुम्ला र प्रदेश अस्पताल, सुर्खेत पठाउनुपर्ने बाध्यता छ । ‘रिपोर्ट ढिला आउँदा क्वारेन्टाइनमा बसेका र शंकास्पद लक्षण देखिएका नागरिकले धेरै सास्ती खेपे,’ उनले भने, ‘मेसिन सञ्चालन भएपछि परीक्षण सहज हुनेछ ।’

नगरपालिकाका अनुसार ३५ लाख रुपैयाँको मेसिनसहित झण्डै १ करोड रुपैयाँको उपकरण खरिद गरिएको हो । मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति काठमाडौंबाट ल्याइएको खड्काले जानकारी दिए । अहिले दैलेखका ११ स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा ३ हजार १७ जना बसिरहेका छन् ।

जिल्लामा अहिलेसम्म ४ हजार जनाको स्वाब संकलन गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निरञ्जन पन्तले बताए । उनका अनुसार बिहीबारसम्म ७ सय २१ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यमध्ये ३ सय ३४ जना निको भएर घर फर्किएको उनले जानकारी दिए ।

प्रकाशित : असार ४, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?