१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पीसीआर मेसिन किन्दै चौरजहारी नगरपालिका 

हरि गौतम

रुकुम पश्चिम — जिल्लामै सञ्चालन हुने गरी आरटी पिसिआर मेसिन प्रक्रिया अघि बढाइएको छ । चौरजहारी नगरपालिकाले पीसीआर मेसिन सेटअप तथा रिएजेन्ट खरिदसम्बन्धी सूचना प्रकाशन गरेको हो । ३ दिनको म्याद राखेर प्रस्ताव आव्हान गरिएको नगरपालिकाले जनाएको छ । 

पीसीआर मेसिन किन्दै चौरजहारी नगरपालिका 

पीसीआर मेसिन सेटअपका लागि प्रक्रिया थालिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । संघ तथा प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएपछि र नगरपालिकाले त्यसको व्यवस्थापन गर्न सक्ने भएपछि प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । उनका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सामग्री खरिद गर्ने र ल्याब स्थापना गर्ने नगरपालिकाको योजना छ ।

भारतका विभिन्न ठाउँबाट आएकाहरु अहिले क्‍वारेन्टाइनमा बसिरहेका छन् । चौरजहारीले मेसिन खरिद गरेपछि जिल्लाभरिका क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण गरिनेछ । अहिले जिल्लाभरि झण्डै १ हजार ५ सय जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुमा कोरोना भए/नभएको पत्ता लगाउन समस्या भएपछि मेसिन किन्ने र ल्याब स्थापना गर्ने प्रक्रिया थालेको नगरप्रमुख विशाल शर्माले बताए ।

बजेटका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको उनको भनाइ छ । ‘जिल्लाभरि दैनिकजसो स्वाब संकलन हुने भए पनि परीक्षणमा समस्या भएपछि पीसीआर मेसिन खरिद गर्न लागिएको हो,’ उनले भने, ‘अहिले त्यसको संरचना व्यवस्थापनको काम भइरहेको छ ।’ माथिल्ला सरकारले बजेट नदिए जिल्लाकै ६ स्थानीय तहले यसको व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख शर्माले बताए ।

गत शनिबार जिल्लाका ५ स्थानीय तहबाट पठाइएको ७ सय ७५ जनाको स्वाबमध्ये ६ सय २५ जनाको रिपोर्ट आउन बाँकी छ । पछिल्लो समय चौरजहारीबाट पठाइएका ४ सय ६९ र आठबिसकोटबाट पठाइएका ५२ स्वाब पनि परीक्षणकै क्रममा छन् ।

रुकुममा संकलन गरिएको १ हजार १ सय ४६ जनाको स्वाबको पीसीआर रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन ईश्वर रावलले बताए । उनका अनुसार सबै स्वाब सुर्खेतस्थित कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको हो । मेसिनले नधानेको भन्दै निर्देशनालयले स्वाब संकलन बन्द गर्न निर्देशन दिइरहेको उनले गुनासो गरे । ‘केही समयका लागि संकलनको काम रोकेका छौं,’ उनले भने, ‘परीक्षण गर्नुपर्ने स्वाबको चाप घटेपछि स्वाब संकलनलाई तीव्रता दिइनेछ ।’

प्रकाशित : जेष्ठ ३०, २०७७ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?