कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अघि बढ्दै विकास निर्माण

चाँदनी कठायत

वीरेन्द्रनगर — लकडाउनका कारण झण्डै अढाई महिनादेखि ठप्प भएका विकास निर्माण अघि बढेको छ । सुरुमा केही अलमल भए पनि स्थानीय प्रशासनबाट अनुमति लिएर निर्माणका काम सुचारु गरिएका हुन् । 

अघि बढ्दै विकास निर्माण

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक, झोलुंगे र मोटरेबल पुल निर्माणको कामलाई तीव्रता दिएको हो । पूर्वाधार विकास निर्देशनालयमार्फत अहिले सुर्खेत उपत्यकाभित्र मात्रै ३५ साना सडक योजनाका काम भइरहेका छन् । निर्देशक वासुदेव पौड्यालले प्रदेश राजधानी सडक योजना, रत्नराजमार्गको फलाँटे रानीघाट हुँदै भुरीगाउँ, दशरथ–डाँडागाउँ–नेटालगायत सडक योजनाको काम भइरहेको बताए ।‘लकडाउनभन्दा अगाडिको गतिमा त काम भएको छैन,’उनले भने, ‘तर ठप्पै पनि भएको छैन, वातावरण मिलेसम्म हामीले निर्माण अनुमति लिएर काम निरन्तर गरिरेहका छौं ।’ उनले पुल निर्माणको काम भने रोकिएको जनाए ।

सल्यानस्थित पूर्वाधार विकास कार्यालयले पनि सडक, झोलुंगे पुल र मोटरेबल पुललगायत योजनाको काम गरिएको छ । कार्यालय प्रमुख विनोद पुनले लुहाम–रामपुर, खलंगा–कुपिन्डे–चौरजहारीलगायत सडकको काम भइरहेको बताए । उनका अनुसार कुदुखोला र नाम्राखोला झोलुंगे पुल र शारदाखोला बरला, जिमालीखोला तथा दार्माखोला मोटरेबल पुलको कामलाई पनि तीव्रता दिइएको छ । ‘लकडाउनको अवधिमा पनि हामीले कुनै काम रोकेका छैनौं,’ उनले भने, ‘मेसिनरी औजार प्रयोग गरेर काम गर्नुपर्ने योजना भएकाले पनि ठप्प भएका छैनन् ।’

रुकुममा पनि सल्लीबजार–मुसीकोट, झुल्नेटा–घापागाढ, राडीज्युला–बरांगे र सिमबजार–हम्पाटाकुरा सडकको काम पनि जारी छ । पूर्वाधार विकास कार्यालयले आठबीसकोट नगरापालिकाको भियत्माखोला–भल्माज्यूला पक्की पुलको काम पनि गरिरहेको छ ।

मुगुमा पनि केही योजनाको सम्झौता गर्ने र डीपीआर गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख मोहनसिं कार्कीले बताए । उनका अनुसार अहिले रुगाछाइला–जडीबुटी मार्ग, अल्का–साँघु–सोवा, दोमुखा–गमगढी–नाक्चेलाग्ना, मारचौर–झुगला, सेरी–नारंगे र तारापानी–दोमुखा सडक योजना पनि चलिरहेका छन् । ‘अहिले केही योजना सम्झौता गर्ने क्रममा छौं,’ उनले भने, ‘केही पुलको डीपीआर परामर्शदाताबाट हुँदैछ ।’ कार्यालयले घोडपोलखोला झोलुंगे पुल निर्माण सुचारु गरेको छ । हुम्लामा भने ठेक्का सम्झौता भएका योजनाहरुमा पनि निर्माण सामग्री अभाव हुँदा काम रोकिएको पूर्वाधार विकास प्रमुख पन्नासिंह बोहोराले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?