१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दैलेख बन्यो कोरोना ‘रेड जोन’

भारतको महाराष्ट्र र गुजरातबाट आउनेमा संक्रमण धेरै
नाकाबाट भित्रिएकालाई जिल्ला ल्याउन एउटै गाडी प्रयोग गरिएको थियो
क्वारेन्टाइनमा राखिएका कतिपय परीक्षणको रिपोर्ट आइनपुग्दै घर गएका थिए
ज्योति कटुवाल

दैलेख — दैनिक धेरै जनामा कोरोना संक्रमण पुष्टि हुन थालेपछि दैलेखलाई कर्णालीको ‘रेड जोन’ का रूपमा हेर्न थालिएको छ । यहाँ शनिबारसम्म ३ सय ५२ जनामा संक्रमण देखिएको छ । यो संख्या कर्णालीमा हालसम्म संक्रमण पुष्टि भएमध्येको ६० प्रतिशत हो । प्रदेशमा संक्रमित संख्या ५ सय ८७ पुगेको छ ।

जेठ १० मा नारायण नगरपालिकाका २ सय ५८ जना भारतबाट घर आए । महाराष्ट्र र गुजरातबाट फर्किएका उनीहरूलाई जाँचैबिनै १४ दिनसम्म सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा राखियो । उनीहरूमध्ये एकतिहाइमा संक्रमण देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्याम्पसलाई अन्य स्थानीय तहका बासिन्दाको समेत ‘होल्डिङ एरिया’ बनाइँदा अधिकांशमा संक्रमण देखिएको छ । ‘भारतबाट आएकाहरूलाई सबैलाई एउटै ठाउँमा नराखिएको भए यस्तो भयावह अवस्था आउने थिएन,’ जिल्ला स्वास्थ्यका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भने, ‘दैलेख भित्रिने नाकामा चेकजाँच गरेर भित्र्याउन सकेको भए संक्रमणको दर यति धेरै हुँदैनथ्यो ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ स्थानीय तहका २ सय ३३ स्थानमा बनाइएका क्वारेन्टाइनमा अहिले १२ हजार ८ सय ८४ जना छन् । सबै भारतबाट घर फर्किएकाहरू हुन् । मापदण्ड पुर्‍याउन नसकेकका क्वारेन्टाइनका कारण पनि संक्रमण फैलिएको फोकल पर्सन रेग्मीले बताए । नारायण नगरपालिकामा १ हजार ४ सय ३७, दुल्लुमा १ हजार ३७ र महाबुमा १ हजार ४ सय ३७ शय्याका क्वारेन्टाइन बनाइएका छन् । भारतबाट घर फर्किनेहरू बढ्दै गएपछि संक्रमण देखिएका ३ वटै स्थानीय तहका सबै क्वारेन्टाइन भरिएका छन् ।

जेठ १ गतेयता १३ हजार ५ सय ४४ जना दैलेख भित्रिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा छ । यिनमा २ हजार २ सय ५९ जनाको मात्र स्वाब संकलन भएको छ । क्वारेन्टाइनमा कोचाकोच गरेर राखिँदा र ल्याब रिपोर्ट नआउँदै घर पठाइँदा संक्रमणले ठूलो रूप लिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । ‘धेरै संक्रमित गाउँ पुगिसकेका छन्,’ उनले भने, ‘अब समुदायस्तरमा पनि संक्रमणको जोखिम देखियो ।’ परदेशबाट घर फिरेकाहरूलाई ल्याउन प्रयोग गरिएका गाडी एउटै हुँदा पनि सँगै यात्रा गरेकाहरूबाट संक्रमण सरेको हुन सक्ने शंका छ । यसअघि आरडीटी गरिएका ३ सय ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । भारतबाट फर्किएका धेरैको स्वाब परीक्षण नभएकाले संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको उनले बताए ।

संक्रमित बढ्दै गएपछि महाबु गाउँपालिकासहित नारायण र दुल्लु नगरपालिकाले क्वारेन्टाइनलाई नै आइसोलेसन बनाउन थालेका छन् । मापदण्डअनुसार जिल्ला अस्पतालमा ४० शय्याको आइसोलेसन बनाइएको छ । अस्पताल प्रमुख डा. नीरञ्जन पन्तले ४० बेडको आइसोलेसनमा ३५ जना संक्रमितको उपचार भइरहेको बताए । उनका अनुसार अस्पतालमा ५ शय्याको आईसीयू बनाइएको छ भने २ वटा भेन्टिलेटर छन् ।

संक्रमित बढेपछि उपचार र व्यवस्थापनमा समस्या भएको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । रिपोर्ट ढिलो आउनु नै सबैभन्दा ठूलो समस्या बनेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए । ‘स्वाब संकलन गरेर मात्र भएन, रिपोर्ट पनि समयमै आए उपचार र व्यवस्थापन सहज हुन्थ्यो,’ उनले भने, ‘संघ र प्रदेश सरकारले बेवास्ता गरेपछि हामीले जति गरे पनि नपुग्दो रहेछ ।’ जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले स्थानीय तहले समयमै ध्यान नपुर्‍याउँदा संक्रमितको संख्या बढ्दै गएको बताए ।

प्रकाशित : जेष्ठ २४, २०७७ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?