१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दैलेखमा रिपाेर्ट नआउँदै घर पठाइएकालाई संक्रमण पुष्टि भएपछि क्‍वारेन्टाइन बोलाइयो

संक्रमण पुष्टि भएका ८७ जनाको खोजी गर्न ११ वटै वडा कार्यालयलाई परिपत्र
ज्योति कटुवाल

दैलेख — जेठ ८ गते भारतबाट दैलेख पुगेका नारायण नगरपालिका–२ का तीन जनाको आरडीटी परीक्षण गरियो । केही दिन नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडीटी रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाइयो । तर, पीसीआर रिपोर्ट पोजेटिभ आएको भन्दै फेरि क्वारेन्टाइनमा बोलाइएको छ ।

दैलेखमा रिपाेर्ट नआउँदै घर पठाइएकालाई संक्रमण पुष्टि भएपछि क्‍वारेन्टाइन बोलाइयो

अहिले उनीहरु जाजरकोटस्थित कोटथाप्लामा निर्माण गरिएको क्वारेन्टाइनमा छन् । उनीहरुसँग आएका ८७ जनाको खोजी गर्न नगरपालिकाले ११ वटै वडा कार्यालयलाई परिपत्र गरेको छ । ‘आरडीटी गरिएपछि पीसीआरको रिपोर्ट आउन समय लाग्ने भन्दै घर पठाइएको थियो,’ संक्रमण पुष्टि भएका एक व्यक्तिले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि खुसी भएर घर पुगियो, अहिले रातारात क्वारेन्टाइनमा बोलाइएपछि आफन्तसमेत त्रसित बनेका छन् ।’

अहिले नारायण नगरपालिकास्थित नारायण क्याम्पस कोरोना संक्रमणको केन्द्र बनेको छ । कर्णालीमा भेटिएकामध्ये आधा संक्रमित क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । ‘भारतमा आरडीटी र पीसीआर जाँच गरेर आएको थिए,’ उनले भने, ‘क्याम्पसको बसाइले संक्रमित हुन बाध्य बनायो ।’

१ सय बेड क्षमताको क्याम्पसमा अहिले २ सय ५० जनालाई राखिएको छ । सुरुमा कोरोना पुष्टि भएकालाई छुट्टै व्यवस्थापन गर्न सकेको भए भयावह अवस्था नआउने नागरिक समाजका अगुवा खडकबहादुर सिजापतिले बताए । ‘कर्णालीका अन्य जिल्लाको होल्डिङ सेन्टर सुर्खेत बनाइयो, त्यसैले कम देखा परे,’ उनले भने, ‘तर हाम्रो नगरपालिकाले सबैलाई नारायण क्याम्पसमा ल्याएर थुपार्दा स्वस्थ व्यक्तिमा पनि संक्रमण देखियो ।’ नगरपालिकाले पूर्वतयारी र सावधानी नअपनाउँदा संक्रमण धेरै देखिएको उनले बताए ।

नारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले जनशक्ति अभावले परीक्षण ढिला हुँदा संक्रमित गाउँघरमै पुगेको बताए । उनका अनुसार नगरपालिकामा जेठ १ गतेयता झन्डै १ हजा ५ सय जना भारतबाट भित्रिएका छन् । उनका अनुसार अहिलेसम्म ८ सय ३७ जनाको आरडीटी र ३ सय १६ जनाको पीसीआर गरिएको छ । ‘रिपोर्ट आउन समय लागेपछि १४ दिन क्वारेन्टाइनमा बसेकालाई घर पठाएका थियौं,’ उनले भने, ‘अहिले रिपोर्ट पोजिटिभ आएपछि फिर्ता बोलाइएको हो ।’

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले रिपोर्ट ढिलो आउँदा संक्रमितको संख्या बढ्दै गएको जनाए । ‘रिपोर्ट आउन समय लागेपछि संक्रमितको पहिचानमा समस्या भयो,’ उनले भने, ‘ठाउँ अभावका कारण संक्रमितलाई क्वारेन्टाइन र आइसोलेसनमा विभाजन गरी राखेका छौं ।’ नगरपालिकाभित्र ३ सय १६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ९५ जना संक्रमित देखिएको उनले बताए । दैलेखमा अहिलेसम्म ३ सय १० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

हचुवाको भरमा स्थानीय तहले भारतबाट फर्किएकालाई घर पठाउँदा समस्या भएको जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले बताए । ‘आँखामा छारो हाल्न आरडीटी गरियो,’ उनले भने, ‘स्थानीय तहले कोरोनाजस्तो महामारीमा जनताको स्वास्थ्यप्रति खेलबाड गरे ।’ अव्यवस्थित क्वारेन्टाइनका कारण टोलटोलमा संक्रमण फैलिएको उनको दाबी छ । दैलेखमा शुक्रबार थप ९१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये महाबुका ६४ जना र दुल्लुका २७ जना रहेका छन् ।

अनिश्चितकालीन कर्फ्यु

संक्रमण बढ्दै गएपछि थप जोखिम नियन्त्रणका लागि दैलेख जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

प्रशासनले नारायण नगरपालिका र दुल्लु नगरपालिकामा कर्फ्यु लगाएको हो । भारतबाट आउनेको संख्या र संक्रमित उत्तिकै बढेकोल कर्फ्यु लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनका अनुसार नारायण नगरपालिकाको सम्पूर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामासमेत कर्फ्यु लगाइएको छ ।

‘आरडीटी चेक गरेर घर फर्केकाहरुमा पनि कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘उनीहरुको खोजी कार्य जारी राखेका छौं ।’ खुलेआम बजारमा हिँडडुल धेरै भएकोले संक्रमण फैलिने जोखिम देखिएको उनले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७७ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?