३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

क्‍वारेन्टाइन निर्माणमा स्थानीयको अवरोध 

राजबहादुर शाही

मुगु — गाउँका सामुदायिक भवनमा क्‍वारेन्टाइन बनाउँदा कोरोना संक्रमण फैलने भन्दै स्थानीयहरु विरोधमा उत्रिन थालेका छन् । झण्डै दर्जन स्थानमा स्थानीयले क्‍वारेन्टाइन बनाउन अवरोध गरेपछि भारतबाट फर्किएका नागरिकको व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मेहम्मे परेको छ । 

मुगमकार्मारोङ गाउँपालिकास्थित सेरोगगार्डका स्थानीयले बाहिरबाट आएका नागरिकलाई ढुंगामुडा गर्दै लखेटेका छन् भने सोरु गाउँपालिकाको कालैस्थित विजय माविमा स्थानीयले क्‍वारेन्टाइन बनाउन अवरोध गरे । गाउँका सामुदायिक विद्यालयमा निर्माण गरिएका क्‍वारेन्टाइनका कारण कोरोना संक्रमणको जोखिम बढेको स्थानीय कमल शाहीले बताए । ‘पछिल्लो समय भारतबाट भित्रिएका मानिसका कारण कोरोना फैलन डर देखियो,’ उनले भने, ‘अधिकांश क्‍वारेन्टाइन गाउँका बीचमा छन्, समुदायमा संक्रमण फैलिए स्थिति भयाभह हुने देखिन्छ ।’

स्थानीयले गाउँ नजिकै क्‍वारेन्टाइन बनाउन नदिएपछि पाटन क्षेत्रमा प्लास्टिकका टनेलमा क्‍वारेन्टाइन बनाइएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनका अनुसार अहिले पाटन क्षेत्रका क्‍वारेन्टाइनमा १ सय ६७ जना भारतबाट फर्किएका व्यक्तिलाई राखिएको छ ।

रोग सर्ने डरले स्थानीयले गाउँमा क्‍वारेन्टाइन बनाउन नदिएपछि भारतबाट फर्किएका नागरिकलाई व्यवस्थापन गर्न गाह्रो भएको मुगमकार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । ‘कोरोना महामारीले गाउँबस्तीमा द्वन्द्व उत्पन्न हुन थाल्यो,’ उनले भने, ‘प्रहरी परिचालन गर्दा पनि केही ठाउँमा क्‍वारेन्टाइन निर्माण गर्न सकिएन ।’

कर्णालीमा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्लावासी त्रसित बनेको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । ‘क्‍वारेन्टाइन निर्माण गर्दा धेरै ठाउँमा अवरोध आयो,’ उनले भने, ‘अवरोध भएका ठाउँका स्थानीयलाई सहमतिमा ल्याएर क्‍वारेन्टाइन निर्माणलाई तीव्रता दिएका छौं ।’ जिल्ला विपद् व्यवस्थापन केन्द्रको निर्णयअनुसार सबै स्थानीय तहलाई कम्तिमा ५० शय्याको आइसोलेसन बनाउन अनुरोध गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जेठ १ यता भारतबाट करिब ५ सय नागरिक मुगु भित्रिएका छन् । ‘किट नहुँदा सबैको स्वाब संकलन गरी परीक्षण गर्न समस्या भएको छ,’ प्रजिअ निरौलाले भने, ‘खत्याड गाउँपालिकाको हलेखाडामा २७ वर्षीय पुरुषमा संक्रमण देखिएपछि जिल्लाभरि उच्च सतर्कता अपनाएका छौ ।’

प्रकाशित : जेष्ठ २३, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?