कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णालीका संक्रमित भन्छन्– ‘आइसोलेसनमा भन्दा घरमै सुरक्षित हुन्छौँ’

चाँदनी कठायत

वीरेन्द्रनगर — लेकबेशी–३ का ६१ वर्षीय वृद्ध अहिले नगरपालिकास्थित नेपाल रेडक्रसको भवनमा बसिरहेका छन् । भारतबाट फर्किएर क्‍वारेन्टाइनमा बसिरहेका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भयो ।

कर्णालीका संक्रमित भन्छन्– ‘आइसोलेसनमा भन्दा घरमै सुरक्षित हुन्छौँ’

उमेरले समेत कमजोर बन्दै गएका उनलाई मधुमेह र रक्तचापले पनि च्यापेको छ । ‘अहिलेसम्म जाँच गराएको छैन,’ उनले भने, ‘यसै त बुढो मान्छे त्यहीमाथि कोरोनाले पनि समात्यो ।’ शुक्रबार उनको शरीर सुन्निएको छ । समय–समयमा सामान्य ज्वरो आउने र कमजोरी महसुस भएको उनले बताए ।

उनीसँगै बसेका लेकबेशी–५ का २५ वर्षीय संक्रमितले आफूहरुको अहिलेसम्म स्वास्थ्य जाँच नभएको बताए । ‘सबैलाई एकै ठाउँमा हुलेर राखिएको छ,’उनले भने,‘हामीले प्रयोग गर्ने शौचालय पनि एउटै छ, आइसोलेसन भनेर एकै ठाउँमा ७/८ जनालाई राखिएको छ ।’ पूर्वाधारविहीन आइसोलेसनभन्दा आफूहरु घरमै सुरक्षित हुने उनले बताए ।

लेकबेशी नगरपालिकामा भेटिएका १२ जना संक्रमित अहिले उक्त भवनमा आइसोलेसनमा बसेका छन् । उनीहरुलाई गत सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । यी संक्रमितहरु भारतको लखनउ, हैदरावाद, महाराष्ट्र, गुजरातलगायत स्थानबाट फर्किएका हुन् । आफूहरु भारतमा पनि क्वारेन्टाइनमा बसेको र नेपाल आएर पनि क्वारेन्टाइनमै बसेको लेकबेशी–१ का २६ वर्षीय संक्रमितले बताए ।

उनीहरुको बबई नाकामा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको थियो भने पीसीआर परीक्षणको क्रममा कोरोना देखिएको थियो । ‘हामी एकदम स्वस्थ छौँ,’ उनले भने, ‘केही भएको छैन, यसरी हुलेर राख्दा अन्य रोगको संक्रमण हुने डर भयो ।’ क्‍वारेन्टाइन गाउँको बीचमा भएकाले स्थानीयलाई पनि संक्रमणको जोखिम देखिएको अर्का २५ वर्षीय संक्रमित बताउँछन् ।

संक्रमित छोरीसँगै स्वस्थ आमा

१२ जना संक्रमितसँगै ८ वर्षीया बालिकाकी ३२ वर्षकी आमा पनि रेडक्रस उपशाखा लेकवेशी–१ को भवनमा छिन् । संक्रमित छोरीलाई एक्लै छाड्न नसेपछि आफू पनि सँगै बसेको उनले बताइन् । ‘सानै छोरीलाई एक्लै छोड्न पनि मिलेन,’ उनले भनिन्, ‘छोरीलाई केही लक्षण पनि देखिएको छैन, अहिले छोरी ठिक छिन् तै पनि यस्तो अवस्थामा म छोरीसँगै हुँदा राम्रो हुन्छ ।’

लेकबेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारले संक्रमितहरु आइसोलेसनमा बस्नुभन्दा घर जान आत्तिएको बताए । ‘कसैलाई पनि कुनै लक्षण छैन,’ उनले भने, ‘त्यही भएर पनि त्यहाँ बस्न मानिरहेका छैनन् ।’ संक्रमितहरुको अवस्था गम्भीर बन्दै गए प्रदेश अस्पतालको आइसोलेसनमा लैजाने उनको भनाइ छ । उनका अनुसार आइसोलेसनमा बसेकालाई डा. टपेन्द्र कोइरालालगायत स्वास्थ्यकर्मीको टोलीले जाँच गरिरहेको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?