१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जुम्लाका गाउँमा चिकित्सक पुगे

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको संक्रमण फैलन नदिन र क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सेवा दिनका लागि जिल्लाका ८ वटै स्थानीय तहमा विशेषज्ञ चिकित्सक पठाएको छ ।

जुम्लाका गाउँमा चिकित्सक पुगे

वरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीका अनुसार कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिकासहित स्थानीय तहमा दुई–दुई जना चिकित्सक खटाइएका छन् । सबै गरेर १५ जना चिकित्सक गाउँ पुगेका शाहीले बताए । गाउँमा खटिएको चिकित्सकको टोलीले क्वारेन्टाइनको निगरानी गर्नुका साथै गाउँमा हुने सबै प्रकारका बिरामीको जाँच गर्नेछन् ।

गुठीचौर गाउँपालिकामा कमलराज शर्मा र रामप्रसाद उप्रेती, तातोपानी गाउँपालिकामा सुनिल बुढाथोकी र सुश्मा काफ्ले, पातारासी गाउँपालिका कपिल अमगाई र भुमेश काफ्ले, तिला गाउँपालिकामा सञ्जीव पण्डित र आशा शर्मा, सिञ्‍जा गाउँपालिकामा विशाल पोखरेल र दृष्टिराज जोशी, कनकासुन्दरी गाउँपालिकामा शम्भु यादव, चन्दननाथ नगरपालिकामा प्रविण गिरी र अर्जुन तिवारी, हिमा गाउँपालिकामा अजीत मिश्र र महिमा थापालाई खटाइएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले समग्रमा मनोवैज्ञानिक त्रास हटाउनको लागि चिकित्सक परिचालन गरिएको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहले क्वारेन्टाइनमा स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले सबै स्थानीय तहमा चिकित्सक खटाएको उनको भनाइ छ । उनका अनुसार प्रतिष्ठानले यसअघि पनि हुम्ला, मुगु र कालीकोटमा एक महिनासम्म चिकित्सक खटाएको थियो ।

जुम्लामा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?