१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उपचार नपाएर १० दिनभित्र कर्णालीमा ३ जनाको मृत्यु

लकडाउनका कारण समयमै उपचार र पारिवारिक स्याहार नपाउँदा मृत्यु हुने गरेको आफन्तहरुको भनाइ छ । जेठ १३ यतामात्र कर्णालीमा ३ जनाको मृत्यु भएको छ ।

(सुर्खेत) र (दैलेख) — भारतको मुम्बईमा मजदुरी गर्ने पञ्चपुरी नगरपालिका–१ सानीडाँडाका २० वर्षीय युवक जेठ पहिलो साता घर फर्किए । स्थानीय सरकारले १५ दिनसम्म जनता मावि विद्यापुरको क्वारेन्टाइनमा राख्यो । बुधबार दिउँसो आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साथीहरुसँग घरतिर लागे । तर, सोही राति घर नजिकै सुतेको अवस्थामा उनको मृत्यु भयो ।

उनको मृत्युको कारण खुलिसकेको छैन । तर, कर्णालीमा कोरोनाबाट ज्यान जोगाउन भारतबाट घर फर्केका उनीजस्तै युवाहरुको मृत्यु हुने क्रम बढेको छ । लकडाउनका कारण समयमै उपचार र पारिवारिक स्याहार नपाउँदा मृत्यु हुने गरेको आफन्तहरुको भनाइ छ । जेठ १३ यतामात्र ३ जनाको मृत्यु भएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ ।

पञ्चपुरी नगरपालिका–१ का वडाध्यक्ष धनबहादुर बुढाका अनुसार बुधबार राति मृत्यु भएका युवक अन्य ६ जनासँगै क्वारेन्टाइनबाट ८ घन्टा हिँडेर गाउँमा पुगेका थिए । उनीहरुलाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । ‘आरडीटी रिपोर्ट नेगेटिभ आए पनि हामीले एक हप्तासम्म ‘होम क्वारेन्टाइन’ मा बस्न सल्लाह दिएका थियौं, त्यहीअनुसार घर नजिकैको भवनमा बसेका थिए,’ उनले भने, ‘राति एक्कासि उनीसँग रहेका साथीहरुले समस्या भएको भन्दै फोन गरेपछि जाँदा त मृत्यु भइसकको रहेछ ।’ राति पौने २ बजेतिर खबर आएको र आधा घन्टामा त्यहाँ पुग्दा मृत्यु भइसकेको उनले बताए ।

क्वारेन्टाइनबाट ती युवाको घर जान गाडीमा करिब १ घन्टा लाग्छ । तर लकडाउनका कारण उनीहरु दिउँसो करिब ३ बजेतिर पैदलै हिँडेका थिए । वडाध्यक्ष बुढाका अनुसार उनीहरु राति करिब ११ बजेतिर गाउँ पुगेका बताए । ‘सिधै घरमा गएको भए परिवारका सदस्यले पनि ‘केयर’ गर्थे होलान्, यस्तो घटना हुन्थेन कि भन्ने लाग्छ,’ उनले भने, ‘घरमा पुगेर पनि बाहिरै सुत्दा नसोचेको घटना भयो ।’ मृतक युवाको पीसीआर परीक्षणका लागि स्वाबको नमुना पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारे सल्लाह गरिने उनले बताए ।

अवलचिङका २२ वर्षीय वीरेन्द्र रोकायाको भने अस्पताल पुग्दा पनि ज्यान जोगिएन । गुजरातबाट जेठ १३ गते सुर्खेत पुगेका उनलाई बाटोमै अप्ठेरो भएपछि राति करिब ११ बजे कालागाउँस्थित प्रदेश अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुगेपछि करिब २ घन्टासम्म स्वास्थ्यकर्मीले छुनै मानेनन् । ‘बाथको बिरामी हो, कोरोना छैन, हेरिदिनुहोस् भनेर जति अनुरोध गरे पनि ‘मिटिङ’ बस्नुपर्छ भन्दै हेर्न मानेनन्,’ मृतकका मामा हरि खत्रीले भने, ‘सोर्सफोर्स लगाएर अस्पतालको ठूलो मान्छेसम्म कुरा पुर्‍यापछि हेर्न त हेरे, तर त्यहाँसम्म सास उडिसकेको रहेछ ।’

अस्पतालको ढिलासुस्तीमात्र होइन, नेपाल प्रवेश गरिसकेपछि बाटोमा पाएको सास्तीले भान्जालाई मृत्युको मुखमा पुर्‍याएको खत्रीको भनाइ छ । जेठ १३ गते करिब ४ बजे रुपैडिया नाकामा पुगेको रोकाया सहितको टोली करिब एक घन्टामै त्यहाँबाट सुर्खेतको लागि बस चढेको थियो । तर, ५ घन्टाको यात्रामा पानीसमेत पिउन पाएनन् । त्यसमाथि ४० सिट क्षमताको बसमा ५५ जना खाँदिएका थिए । प्रदेश सरकारले गाडी पठाएको भनिए पनि उनीहरुबाट जनही १ हजार रुपैयाँ भाडा असुलिएको थियो, जबकि सुर्खेत–नेपालगन्ज रुटमा भाडा अधिकतम ३ सय तोकिएको छ । ‘भाडा जतिसुकै महँगो भए पनि बाटोमा खानेकुरा र पानी दिएको भए भान्जाको यो अवस्था हुन्थेन होला,’ उनी भन्छन्, ‘खाली पेट, त्यसमाथि बसभित्र कोचाकोचले उकुसमुकुस भयो, सास फेर्नसमेत नपाउँदा ज्यानै गयो ।’

खत्रीका अनुसार बस बबईको उकालोमा चढेपछि रोकायालाई पहिलोपटक बान्ता भएको थियो । भेरी पुल पुग्दासम्म त मुखबाट फिँज निकाल्नुका साथै हातखुट्टा बाउँडिएर उनी बेहोस भइसकेका थिए । ‘सुब्बाकुना पुगेपछि छिटो अस्पताल पुर्‍याउनको लागि ३ वटा एम्बुलेन्स बोलायौं, तर कसैले पनि आउन मानेनन्,’ उनले भने, ‘बल्लतल्ल गाउँपालिकालाई भनेर गाडीमा अस्पताल पुर्‍याए पनि ज्यान जोगिएन ।’

कोरोना संक्रमित दैलेखका ३५ वर्षीय युवाको पनि कोरोनाको भन्दा समयमै उपचार नपाएको कारण मृत्यु भयो । भारतको गुजरातबाट आएका उनलाई दुल्लु नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा उनीसँगै बसिरहेका एक व्यक्तिका अनुसार शनिबार बिहान करिब ७ बजे एक्कासि बेहोस भएर ढलेका थिए । घटनालगत्तै उपचारको व्यवस्था गर्न क्वारेन्टाइनमा रहेको प्रहरीलाई अनुरोध गरे पनि करिब ४ घन्टापछि मात्र स्वास्थ्यकर्मीको टोली आइपुगेको उनले बताए । ‘हामीले बेहोस हुनेबित्तिकै प्रहरीलाई खबर गरेका थियौं, तर डाक्टरहरु निकै ढिलो आइपुगे,’ उनले भने, ‘त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।’

मृतकका बुवाले पनि क्वारेन्टाइनभित्रको भद्रगोल अवस्था र उपचारमा भएको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । कोरोनाले भन्दा पनि अन्य कारणलले बिरामी भई उपचार नपाउँदा मृत्यु भएको उनको भनाइ छ । ‘अघिल्लो दिनसम्म छोरासँग लामो कुराकानी भएको थियो, सबै ठिक छ भन्थ्यो,’ उनले भने, ‘तर क्वारेन्टाइनको बसाइले अकालमै छोराको ज्यान गयो ।’

दुल्लु अस्पतालकी डा. पूजा बिसीले पनि कोरोना संक्रमण देखिए पनि मृत्युको कारण हृदयाघात भएको बताइन् । आइसोलेसनमा लगेर उपचार गर्ने तयारी गर्दागर्दै मृत्यु भएको उनको भनाइ छ ।

दैलेखमा मृतक बसेको क्वारेन्टाइनमा मात्र होइन, अन्य क्वारेन्टाइनको अवस्थासमेत निकै अस्तव्यस्त छ । एउटै कोठामात्र २० जनासम्म सँगै सुत्ने गरेका छन् । बिरामी भइहालेमा उपचारको समेत कुनै व्यवस्था गरिएको छैन । जन्डिसले थलो परेका नारायण नगरपालिकाका ४५ वर्षीय बमबहादुर थापाले ११ दिनसम्म पनि कुनै उपचार नपाएको बताए । ‘जन्डिसले पूरै शरीर पहेँलिएको छ, औषधि ल्याइदिन र उपचार गर्न जति अनुरोध गर्दा पनि कसैले सुन्दैनन्,’ जनता माविको क्वारेन्टाइनमा बसिरहेका उनले भने, ‘बिरामी छु, बोल्नै सक्दिनँ, म के गरौं ?’

उनका अनुसार क्वारेन्टाइमा रहेका अन्य व्यक्ति पनि विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् । उनीहरुले औषधिमूलो भने पाएका छैनन् । थापाका अनुसार ४ जनामा झाडापखाला देखिएको छ । ३ जना त बेलाबेलामा बेहोस भएर ढल्ने गरेका छन् । तैपनि कसैले चासो दिने नगरेको थापाको भनाइ छ । उनीहरुको स्वाब परीक्षणसमेत भएको छैन । विद्यालयमा गुजरातबाट आएका ८० जना व्यक्तिहरु बसिरहेका छन् ।

डराउँछन् स्वास्थ्यकर्मी

क्वारेन्टाइनमात्र मात्र होइन, बिरामी भएर अस्पतालमै पुगेका व्यक्तिले समयमा उपचार नपाउनुको कारण स्वास्थ्यकर्मीको त्रास प्रमुख कारण हो । विशेषगरी भारतबाट आएका व्यक्ति भन्नेबित्तिकै स्वास्थ्यकर्मीहरु नजिक जानै डराउने गरेका छन् ।

‘भारतबाट आएका व्यक्तिहरु कोरोनाको अत्यन्तै जोखिममा छन्, व्यक्तिगत सुरक्षा सामग्रीको अभावमा हामीले नजिक जानै मिल्दैन,’ प्रदेश अस्पतालका एक स्वास्थ्यकर्मीले भने, ‘सबै व्यवस्था मिलाउँदासम्म ढिलो हुनु स्वाभाविकै हो ।’ बुधबार साँझसम्मको अपडेटअनुसार कर्णालीमा २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित ३ जनाबाहेक सबै भारतबाट आएका छन् । यसले गर्दा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्तिबाट उच्च सतर्क हुनुपर्ने अवस्था रहेको उनले बताए ।

कर्णालीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को समेत पर्याप्तता छैन । प्रदेश सरकारका अनुसार हाल विभिन्न अस्पतालसँग २ हजार ५ सय ४९ पीपीई सेट स्टक रहेका छन् । सामान्य शंकास्पद बिरामीको उपचारमा समेत यसको प्रयोग गर्ने हो भने २–४ दिनमै अभाव खड्किने र भोलि थप जटिल अवस्था आउने ती स्वास्थ्यकर्मीले बताए ।

उपचारका लागि जेठ १३ गते राति प्रदेश अस्पताल पुर्‍याइएका अवलचिङका २२ वर्षीय वीरेन्द्र रोकाया । तस्बिर सौजन्य : हरि खत्री

प्रकाशित : जेष्ठ २२, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?