१७ संक्रमित २ दिनदेखि क्‍वारेन्टाइनमै 

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकाका १७ संक्रमित २ दिनदेखि क्‍वारेन्टाइनमै बस्न बाध्य छन् । स्थानीय तहले उपचारको व्यवस्था नगर्दा संक्रमितहरु देवस्थलस्थित प्रभाकर मावि र बन्गाड क्याम्पसको क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

१७ संक्रमित २ दिनदेखि क्‍वारेन्टाइनमै 

संक्रमितसँगै बस्दा कोरोना संक्रमणको जोखिम बढिरहेको क्‍वारेन्टाइनमा बसिरहेकाको गुनासो छ । अहिले बन्गाड क्याम्पसमा १ सय ५७ र प्रभाकर माविमा २ सय ८३ जना भारतबाट फर्किएका नागरिक बसिरहेका छन् । जिल्ला अस्पतालमा निर्माणाधीन १ सय शय्याको आइसोलेसनको निर्माण पूरा नहुँदा उपचारमा समस्या भएको बन्गाडकुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताए । ‘तत्कालका लागि उनीहरुलाई छुट्टै कोठामा सारेका छौं,’ उनले भने, ‘अन्य व्यक्तिमा संक्रमण हुन नदिन सतर्कता अपनाइएको छ ।’

जिल्लामा अहिलेसम्म ४२ जनामा संक्रमण पुष्टि भएको छ । पहिलो चरणमा संक्रमण देखिएका २५ मध्ये १२ जनालाई जिल्ला अस्पताल र १३ जनालाई प्रदेश अस्पताल, सुर्खेत पठाइएको नगरपालिका प्रमुख गोविन्दकुमार पुनले बताए । एक सातामा मात्रै १ हजार २ सय नागरिक भित्रिएका कारण व्यवस्थापनमा समस्या भएको उनको गुनासो छ ।

जिल्ला अस्पताल प्रमुख डा.अर्जुन वुढामगरले १५ शय्याको आइसोलेसन मात्र चालु अवस्थामा हुँदा अन्यको उपचारमा समस्या भएको बताए । उनका अनुसार १ सय शय्याको आइसोलेसनको काम जारी छ । ‘निर्माणाधीन वार्डको काम पूरा हुनबित्तिकै थप संक्रमितलाई ल्याइनेछ,’ उनले भने, ‘१/२ दिनभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिएका छौं ।’

प्रकाशित : जेष्ठ २१, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?