क्‍वारेन्टाइनमै बिरामी पर्न थाले, उपचार छैन

ज्योति कटुवाल

दैलेख — जन्डिसले थला परेपछि उपचारका लागि भारत पुगेका नारायण नगरपालिकाका ४५ वर्षीय बमबहादुर थापा उपचार नगरेरै घर फर्के । हाल जनता माविको क्वारेन्टाइनमा बसिरहेका उनलाई रोगले झन्–झन् च्यापिरहे पनि औषधी भने पाएका छैनन् ।

क्‍वारेन्टाइनमै बिरामी पर्न थाले, उपचार छैन

‘जन्डिसले पूरै शरीर पहेँलिएको छ, औषधि ल्याइदिन र उपचार गर्न जति अनुरोध गर्दा पनि कसैले सुन्दैनन्,’ उनले भने, ‘बिरामी छु, बोल्नै सक्दैन, म के गरौं ?’ क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिहरुले पनि हेला गर्ने गरेको उनले बताए ।

नारायण नगरपालिका–२ को जनता माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टाइमा उनीमात्र होइन, अन्य व्यक्ति पनि विभिन्‍न स्वास्थ्य समस्या भोगिरहेका छन् । उनीहरुले औषधीमूलो भने पाएका छैनन् । थापाका अनुसार ४ जनामा झाडापखाला देखिएको छ । तीनजना व्यक्ति त बेलाबेलामा बेहोस भएर ढल्ने गरेका छन् । तैपनि कसैले चासो दिने नगरेको थापाको भनाइ छ । अर्कोतिर उनीहरुको स्वाब परीक्षणसमेत भएको छैन । विद्यालयमा गुजरातबाट आएका ८० जना व्यक्तिहरु बसिरहेका छन् ।

उनी बस्ने कोठामा अन्य २०–२५ जना बसिरहेका छन् । केही व्यक्तिले बाहिर निस्किएर मदिरा सेवन गर्ने गरेका छन् । कतिपयले बाहिरबाट पनि मगाउँछन् । यस्तो अवस्थाले गर्दा भित्र बस्नै समस्या भएको उनले बताए ।

क्वारेन्टाइनको अवस्था देखेर उनीहरु बाहिर निस्किन नखोजेका होइनन् । तर स्थानीय तहका जनप्रतिनिधिले बाहिर निस्किएमा ज्यानै मार्ने धम्की दिने गरका उनीहरुको भनाइ छ । ‘वडाध्यक्ष नै मदिराले मातेर आउँछन्, भित्रको कुरा बाहिर भनेमा बच्दैनस् भनेर धम्की दिन्छन्,’ क्वारेन्टाइनमा रहेका जगत थापाले भने, ‘यस्तो अवस्थामा कहिलेसम्म बस्ने हो, अत्यास लागिसक्यो ।’

नगर प्रमुख र उपप्रमुखलाई समस्या सुनाए पनि बेवास्ता हुने गरेको उनीहरुको भनाइ छ । क्वारेन्टाइनमा बसेको १० दिन बित्दासम्म पनि स्वाब परीक्षण भएको छैन । परीक्षणको लागि बारम्बार आग्रह गरे पनि वास्तै नगर्ने गरेका थापाले बताए । त्योभन्दा ठूलो पीडा उनीहरुले स्वाब परीक्षण नभएरै संक्रमितको जस्तो व्यवहार हुँदा भोग्ने गरेका छन् । क्वारेन्टाइनस्थलमा स्वास्थ्यकर्मी छैनन् ।

जिल्लाकै भैरवी गाउँपालिका–५ डाँडीमाडीमा रहेको क्वारेन्टाइनको अवस्था झन् बिजोग छ । त्यहाँ एउटै कोठामा २४ जनासम्म सुतिरहेका छन् । बसेको ११ दिन भए पनि स्वाब परीक्षण भएको छैन । ‘१४ दिनमा त चेकजाँच गरेर घर पठाउने भनेका थिए, अहिलेसम्म स्वाबै लगेका छैनन्,’ क्वारेन्टाइनमा बसिरहेका सन्तोष शाहीले भने, ‘यस्तै बसाइँले घर जाँदासम्म झन् बिरामी परिएला जस्तो भइसक्यो, घर कसरी जाने हो ?’

प्रकाशित : जेष्ठ २१, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?