१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कर्णाली प्रदेश सरकारले काम कम हल्ला बढी गरेको कांग्रेसको आरोप

सुर्खेत — कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय पाएर पनि प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

कर्णाली प्रदेश सरकारले काम कम हल्ला बढी गरेको कांग्रेसको आरोप

बुधबार जुम प्रविधिबाट गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारले अरुसँग सल्लाह पनि नगर्ने र दिएको सल्लाह पनि ग्रहण नगर्ने गरेको आरोप पनि लगाए । ‘प्रतिपक्षमै भए पनि हामीले समयमै विभिन्न माध्यमबाट सरकारलाई रोकथामका उपाय सुझाएका थियौं,’ उनले भने, ‘तर मन्त्रीहरु हेलिकप्टर सयरमै रमाए, अहिले संक्रमण बढ्दै जाँदा पनि कुनै संवेदनशिलता देखिँदैन ।’

चैत ११ गते लकडाउन भइसकेपछि करिब २ महिनासम्म संक्रमण नदेखिएको अवस्थामा रोकथाम र नियन्त्रणका लागि थुप्रै तयारी गर्न सकिने अवस्था भए पनि प्रदेश सरकारले काम कम हल्ला बढी गरेको उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य रहेका नेता शाहीले कोरोना नियन्त्रणको नाममा आर्थिक अनियमिततासमेत पर्याप्त भएको आरोप लगाए । सुरुमै प्रदेशका २५ वटा नगरपालिकालाई १–१ करोडको दरले बजेट निकासा गर्न आग्रह गर्दा प्रदेश सरकारले त्यसो नगरी बजेट आफ्नै तजविजमा खर्च गरेको उनले बताए । ‘स्थानीय तहलाई आर्थिक रुपमा सशक्त बनाएर सक्रिय बनाएको भए अहिले यो अवस्था आउने थिएन,’ उनले भने, ‘बजेट नदिने, सहयोगमात्र खोजेर कसरी सहयोग पाइन्छ ?’

नेता शाहीले कर्णाली प्रदेशमा कोरोना संक्रमण दोस्रो स्टेजमा प्रवेश गरिसकेकोले सबैको हातेमालोबाट मात्र नियन्त्रण संभव हुने बताए । यसको लागि सरकारले नै कमीकमजोरी हटाएर अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । अहिले कर्णालीमा २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनभन्दा बाहिर पनि दुईजना प्रहरी र एकजना युवामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?