लकडाउन नमान्‍ने सुर्खेत वाणिज्य संघको निर्णय, विद्यालय खोल्न प्रदेश सरकारको सिफारिस

अर्थ व्यवस्था अस्तव्यस्त हुन थालेपछि कर्णालीमा लकडाउनविरुद्ध जनमत देखिन थालेको छ ।
कलेन्द्र सेजुवाल

सुर्खेत — लकडाउनले अर्थ व्यवस्था र दैनिक कार्यतालिका अस्तव्यस्त हुन थालेपछि कर्णालीमा लकडाउनविरुद्ध जनमत देखिन थालेको छ ।

लकडाउन नमान्‍ने सुर्खेत वाणिज्य संघको निर्णय, विद्यालय खोल्न प्रदेश सरकारको सिफारिस

व्यापारी/व्यवसायीले बुधबारदेखि लकडाउन नमान्ने घोषणा गरेका छन् भने प्रदेश सरकारले समेत विद्यालय र यार्चा संकलन खोल्ने निर्णयको लागि संघीय सरकारलाई अनुरोध गरेको छ ।

सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि लकडाउन नमान्ने निर्णय गरेको छ । संघले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरी लकडाउनका कारण निजी क्षेत्र धराशायी भएको र राहत दिन सरकारले कुनै पहल नगरेकाले यस्तो निर्णयमा पुग्नुपरेको बताएको छ । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा जेठ २१ गते (बुधबार) देखि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सुरक्षा सावधानी अपनाउँदै सम्पूर्ण पसल खोल्ने उल्लेख छ । फलफूल, तरकारी, डेरी, ग्यास पसलहरु भने बिहान ५ देखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । ‘शनिबारको दिन भने सम्पूर्ण पसल बन्द रहनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबारमात्र सुर्खेतमै घर भएका हिरालाल रेग्मी प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । कार्यकालको सुरुमै व्यापारी/व्यवसायीबाट भएको यस्तो निर्णयले उनलाई अप्ठेरो पारेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले निर्णय फिर्ता लिई लकडाउन कार्यान्वयन गराउने विषयमा छलफल भइरहेको बताए ।

यार्सा संकलन र विद्यालय खोल्न सिफारिस

आइतबारमात्र कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकमार्फत यस्तो सिफारिस गरिएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानीसहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ ।

संक्रमण बढ्दै

जनमत लकडाउनविरुद्ध जान थाले पनि पछिल्लो समय कर्णालीमा कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म कर्णालीमा २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १२ जना सुदूरपश्चिम प्रदेशका रहेका छन् । उनीहरु सुर्खेतमै आइसोलेसनमा रहेका छन् । दैलेखमा एक जनाको मृत्यु भएको छ ।

संक्रमितहरु दुई जना जुम्लाका प्रहरीबाहेक अन्य सबै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति छन् । भारतबाट आउनेको संख्या पनि रोकिएको छैन । मुख्यमन्त्री कार्यालयका अनुसार जेठ सुरुदेखि आइतबारसम्म मात्र २० हजार ९ सय १ जना व्यक्ति भारतबाट फर्किएका छन् । २७ हजार ३ सय ४७ जना व्यक्ति अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् ।

लकडाउनका कारण स्थानीय जनजीवनमात्र प्रभावित भएको छैन, भारतबाट आएका व्यक्ति र ज्याला मजदुरी गरेर खाने व्यक्तिले निकै सास्ती खेप्दै आएका छन् । जेठ १३ गतेमात्र भारतबाट आएका सुर्खेत अवचिङका एक व्यक्तिको सयमयमै उपचार नपाउँदा मृत्यु भएको थियो ।

सुर्खेत उपत्यकाको सुब्बाकुनामा पुगेका उनीलाई गाह्रो भएपछि डेढ घन्टासम्म एम्बुलेन्स नपाउँदा अस्पताल पुर्‍याउन ढिलो भई मृत्यु भएको २२ वर्षीय युवाका मामा हरि खत्रीले बताए । ‘लकडाउनको कारण चिनेजानेका मान्छे आउने कुरा भएन, दुइटा एम्बुलेन्सलाई फोन गर्दा आउनै मानेनन्,’ उनले भने, ‘यही ढिलाइले उपचार नपाएरै भान्जाको मृत्यु भयो ।’

प्रकाशित : जेष्ठ २०, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?