कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखका संक्रमित ३ दिनदेखि क्वारेन्टाइनमै

ज्योति कटुवाल

दैलेख — अस्पताल र आइसोलेसनले उपचारमा आनाकानी गरेपछि संक्रमित व्यक्तिहरु क्वारेन्टाइनमै बस्न बाध्य छन् । सदरमुकामस्थित नारायण नगरपालिकामा क्वारेन्टाइनमा बस्दै आएका ३४ र दुल्लुमा ३ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुल्लुस्थित विद्युत् प्राधिकरणको भवनमा बस्दै आएका ३ जनामा पीसीआर परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । यसअघि दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा बसेका एक संक्रमितले उपचार अभावमा ज्यान गुमाएका थिए । ‘सावधानी अपनाउनु पर्नेमा संक्रमितलाई ३ दिनसम्म यही राखिएको छ,’ क्वारेन्टाइनमा बस्दै आएका भरत बादीले भने, ‘समयमा उपचार नपाउँदा एक जनाले क्वारेन्टाइनमै ज्यान गुमाए, हाम्रो अवस्था पनि त्यस्तै हुने भयो ।’ उनले दुल्लु अस्पतालले उपचारमा आनाकानी गरेपछि संक्रमितलाई क्वारेन्टाइनमै राखिएको उनको आरोप छ ।

उक्त क्वारेन्टाइनमा भारतबाट आएका ८८ जनालाई राखिएको छ । लकडाउनयता दुल्लु नगरपालिकामा २ हजार २ सय ५२ जना भित्रिएका छन । भारतबाट फर्कनेको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको नगरप्रमुख घनश्याम भन्डारीले बताए । ‘फर्कनेको संख्या बढेपछि क्वारेन्टाइन पनि बढाइरहेका छौं,’ उनले भने, ‘संmक्रमितलाई आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।’ उनका अनुसार नगरपालिकामा ४ बेडको आइसोलेसन बनाइएको छ ।

नारायण नगरपालिकामा पनि कोरोना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको भन्दै स्थानीयले नाराबाजी गरेका छन् । २ सय १२ जनालाई राखिएको नारायण क्पाम्पसमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितले प्रयोग गरेकै शौचालय र धारा प्रयोग गरिरहेको स्थानीय सविन रानाले बताए । ‘यहाँ बस्दा कोरोना सर्ने डर भयो,’ उनले भने, ‘बरु होम क्वारेन्टाइनमा बस्न दिए सुरक्षित हुन्थ्यौं ।’

दैलेखमा भारत र तेस्रो मुलुकबाट झन्डै १० हजार जना भित्रिएका छन् । जसमध्ये ७ हजार ४ सय ८६ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा प्रमुख डा.निरन्जन पन्तले एकैपल्ट धेरै जनामा संक्रमण देखिँदा व्यवस्थापनमा समस्या भएको बताए । उनका अनुसार जिल्लाभरि ४० शय्याका आइसोलेसन छन् ।

पूर्वतयारी नहुँदा संक्रमितको व्यवस्थापनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनका अनुसार क्वारेन्टाइनमा बसेकालाई १० दिनपछि आरडीटी गरेर घर पठाउने निर्णय भएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?