३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आइसोलेसनमै अलमल : ३ चरणमा व्यवस्थापन गर्ने प्रदेश सरकारको तयारी

'क्वारेन्टाइनलाई आइसोलेसन र घरलाई क्वारेन्टाइन बनाउनुपर्ने अवस्था आउन सक्छ ।'
कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णालीमा सबैभन्दा बढी कोरोना संक्रमित दैलेखमा ८९ जना देखिएका छन् । तीमध्ये सोमबारसम्म ३४ जनालाई मात्र अस्पतालको आइसोलेसनमा राखिएको छ ।

आइसोलेसनमै अलमल : ३ चरणमा व्यवस्थापन गर्ने प्रदेश सरकारको तयारी

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार जिल्लामा आइसोलेसन बेडको संख्या ४० मात्र छ । उनी भन्छन्, ‘संक्रमित थपिँदै छन्, तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरिरहेका छौं ।’

दैलेखमा मात्र होइन, संक्रमित थपिँदै जाँदा तिनीहरुलाई कहाँ राख्ने भन्ने अन्योल अन्य जिल्लामा पनि देखिएको छ । आइसोलेसन बेडको संख्या न्यून हुनु र संक्रमित ह्वात्तै बढ्नुले यस्तो अवस्था निम्तिएको सरोकारवाला बताउँछन् । सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालको अवस्थामा कर्णालीमा करिब ५ सय ५० जनालाई राख्न सक्ने आइसोलेसन बेड तयार छन् । सोमबारसम्म संक्रमितको संख्या १ सय ९८ पुगिसकेको छ । परीक्षणको दायरा बढ्दै जाँदा संक्रमितको संख्या पनि थपिँदै गएको छ ।

सल्यानमा आइसोलेसन बेडको संख्या १५ मात्र छ । सोमबारसम्म संक्रमितको संख्या ३५ पुगिसकेको छ । जिल्ला स्वास्थ्य प्रमुख डा. अर्जुन बुढामगरका अनुसार १३ जनालाई सुर्खेतस्थित प्रदेश अस्पतालमा र १२ जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । अन्य संक्रमित भने वनगाडकुपिन्डे नगरपालिकाको क्वारेन्टाइनमै रहेका छन् । ‘अब हामीले एक–दुई दिनमै कम्तीमा सय बेडको आइसोलेसन बेड थप्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको अवस्थाले त थेग्न सक्ने अवस्था नै रहेन ।’

सुरुको अवस्थामा संक्रमितलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । संक्रमण भित्रिएको दुई हप्तामै थेग्न नसक्ने अवस्था देखिएपछि प्रदेश सरकारले समेत आइतबार संक्रमितको व्यवस्थापन र उपचार ३ चरणमा गर्ने निर्णय गरेको छ । कुनै लक्षण नदेखिएको संक्रमितलाई जिल्ला तहमा तोकिएको आइसोलेसनमा राख्ने, लक्षण देखिएका र सम्भावित जोखिम भएका संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा र जटिल अवस्थाका संक्रमितलाई तोकिएको विशिष्टीकृत अस्पतालमा व्यवस्थापन गर्ने निर्णय भएको छ ।

प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) र रुकुम पश्चिमको चौरजहारीस्थित सामुदायिक अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा पूर्वाधार विकास गरेको छ । जुम्लामा १ सय २० बेड, सुर्खेतमा ७० बेड र चौरजहारीमा १५ बेड छन् । यी अस्पतालमा रहेका बेडमा तेस्रो चरणका बिरामीलाई उपचार तथा व्यवस्थापन गर्ने सरकारको योजना छ ।

यद्यपि, सुरुवाती चरणमा लक्षणै नदेखिएका संक्रमित आउन थालेपछि अस्पतालले चिन्ता व्यक्त गरेका छन् । ‘हिजो (आइतबार) अस्पताललाई कुनै जानकारी नदिई सल्यानका १३ जनालाई ल्याएर भित्र राख्ने काम भयो,’ प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालमा खटिएका एक चिकित्सकले भने, ‘यसरी सामान्य अवस्थाका बिरामीले भर्न थाल्ने हो भने भोलि जटिल अवस्थाका बिरामीलाई कहाँ लगेर राख्ने भन्ने चिन्ता थपिएको छ ।’ स्थानीय स्वास्थ्यकर्मीसँग समेत परामर्श नगरी वनगाडकुपिन्डे नगरपालिकाका मेयरले बलजफ्ती रुपमा बिरामी पठाएका ती चिकित्सकले बताए ।

मेयर गोविन्दकुमार पुन मगरले भने चौरजहारीस्थित कोरोना विशेष अस्पतालमा पठाइएका बिरामीलाई उक्त अस्पतालले भर्ना गर्न नमानेपछि सुर्खेत पठाइएको बताए । ‘कोरोनाको लागि सरकारबाट अनुदान पाएको अस्पतालले संक्रमितलाई लिन नमानेपछि एक दिन एक रातसम्म उनीहरु क्याम्पसको एउटा कोठामा बसे,’ उनले भने, ‘त्यसपछि निकै अनुरोध गरेपछि सुर्खेत पठाइएको हो ।’

चिकित्सकका अनुसार कर्णालीका कोरोना संक्रमितमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनीहरुको अवस्था सामान्य रहेको छ । संक्रमण भने निकै भयावह रुपमा फैलिइरहेको छ । प्रदेश सरकारका अनुसार जेठ सुरुदेखि आइतबारसम्म भारतबाट १९ हजार ६ सय १६ व्यक्ति भित्रिएका छन् । क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ४ सय ८२ जना छ । जुम्लाका २ जना प्रहरीबाहेक अन्यमा संक्रमण क्वारेन्टाइनमै बसेको बेला पुष्टि भएको थियो । भारतबाट आउने र संक्रमित थपिने क्रम अझै रोकिएको छैन । यही अवस्थालाई आकलन गरेका कर्णाली प्रदेशका एक सुरक्षा अधिकारी भन्छन्, ‘केही समयमै क्वारेन्टाइनलाई आइसोलेसन र घरलाई क्वारेन्टाइन बनाउनुपर्ने अवस्था आउन सक्छ ।’

प्रदेशका सामाजिक विकासमन्त्री दल रावल पनि संक्रमितको बढ्दो चापलाई मध्यनजर गर्दै क्वारेन्टाइनस्थलमै आइसोलेसनको व्यवस्था गर्नुपर्ने अवस्था आएको बताउँछन् । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा आइतबार अपडेट भएको विवरणअनुसार प्रदेशभर २९ हजार १ सय ३७ क्वारेन्टाइन बेड रहेका छन् । ‘अहिलेसम्म संक्रमण क्वारेन्टाइनभित्रै रहेकोले सिल गरेर समुदायमा फैलिन नदिनेतिर सरकार लागेको छ,’ उनले भने, ‘यसको लागि क्वारेन्टाइनको अवस्था सुधार गरी सोही ठाउँमा आइसोलेसन बेड राख्ने योजना बनाएका छौं ।’

विशेष अस्पतालको तयारी

प्रदेशमा रहेका ३ वटा कोरोना विशेष अस्पतालले पनि तेस्रो चरणका बिरामीको व्यवस्थापन गर्नुपर्ने भएकोले अहिल्यै भार नबढाउन अनुरोध गरेका छन् । प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकासको लागि सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) लाई १/१ करोड तथा रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ दिएको थियो । हाल सुर्खेत र जुम्लामा १५ भेन्टिलेटर र ३५ बेड रहेका छन् । दैलेखमा भने २ भेन्टिलेटर र ५ आइसीयू बेड रहेका छन् । प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्का संक्रमण बढ्दै सबै तहका अस्पताल र स्वास्थ्य संस्थालाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताउँछन् ।

कहाँ छन् संक्रमित ?

प्रदेशमा संक्रमण पुष्टि भएका १ सय ९८ जनामध्ये ६५ जना अहिले पनि क्वारेन्टाइनमै बसिरहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालको विशेष अस्पतालमा ५१ जना रहेका छन् । तीमध्ये सुर्खेतको खुलामञ्चस्थित क्वारेन्टाइनबाट लगिएका ३७, सल्यानका १३ र दैलेखका १ जना छन् ।

दैलेखको सदरमुकामस्थित एक विद्यालयमा बनाइएको विशेष अस्पतालमा ३३ जना रहेका छन् । अन्य व्यक्ति स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमै रहेका प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए ।

सल्यानको जिल्ला अस्पतालस्थित आइसोलेसनमा १२ जना र १० जना वनगाडकुपिन्डे नगरपालिकाको क्वारेन्टाइनमा रहेका जिल्ला स्वास्थ्य प्रमुख बुढामगरले बताए । जुम्लाका १९ जना संक्रमित प्रतिष्ठानको शिक्षण अस्पतालमा रहेका छन् । कालीकोटका १८ जना संक्रमित खाँडाचक्रस्थित एकीकृत भवनको आइसोलेसनमा रहेका छन् । उक्त भवनमा हाल १५ बेड रहेकामा ५० बेड बनाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?