२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

क्वारेन्टाइन भरिएपछि भारतबाट जुम्ला फर्किएकाहरु गाउँमा

एलपी देवकोटा

जुम्ला — भारतबाट आएका नागरिक राख्न बनाइएको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइन भरिभराउ भएपछि आइतबार दिउँसो जुम्ला पुगेका ३५ जना गाउँ छिरेका छन् । स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था नगरेपछि उनीहरु गाउँ छिरेका हुन् ।

क्वारेन्टाइन भरिएपछि भारतबाट जुम्ला फर्किएकाहरु गाउँमा

प्रहरीका अनुसार आइतबार दिउँसो भारतबाट फर्किएका ४० जनालाई सदरमुकाम खलंगा पुर्‍याइएको थियो । त्यसमध्ये चन्दननाथ नगरपालिकाका १२ र तातोपानी गाउँपालिकाका २३ जना सोझै गाउँ गएका छन् भने गुठिचौरका ५ जनालाई गाउँपालिकामा पठाइएको छ । उनीहरु गाउँ छिरेपछि संक्रमण बढ्ने भन्दै स्थानीयबासी त्रसित बनेको खलंगाका कमल केसीले बताए ।

धनगढीबाट आइतबार दिउँसो ३ बजे जुम्ला पुगेका उनीहरु राति १२ बजेसम्म क्वारेन्टाइनमा ठाउँ नपाएपछि गाउँ छिरेका हुन् । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित सिता माविलाई क्वारेन्टाइन बनाइएको छ । ४ वटै क्वारेन्टाइनमा अहिले ५ सय १ जनालाई राखिएको छ । निर्माण व्यवसायी संघको भवनमा क्वारेन्टाइन बनाउने निर्णय भए पनि अदालतमा मुद्दा परेपछि समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । ‘क्वारेन्टाइन बनाउने जिम्मेवारी स्थानीय तहको हो, हामीले सहजीकरण मात्र गरिरहेका छौं,’ उनले भने, ‘सदरमुकाममा थप क्वारेन्टाइन बनाउन खोजे पनि ठाउँठाउँमा स्थानीयले अवरोध गरेपछि सफल भइएन ।’

आइतबार रारालिहीमा अलपत्र परेका चन्दननाथ–३ का ८ जनालाई डाँडाकोट स्कुलको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् । ‘बस्तीभन्दा टाढा क्वारेन्टाइन बनाउन खोजे पनि ठाउँ नभेटाउँदा समस्या छ,’ उनले भनिन्, ‘भारतबाट आउनेको संख्या बढेपछि सबै क्वारेन्टाइन भरिए, थप क्वारेन्टाइन बनाउन सकिएको छैन ।’

प्रकाशित : जेष्ठ १९, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?