२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्लास्टिकका टनेलमा क्वारेन्टाइन

राजबहादुर शाही

मुगु — खत्याड गाउँपालिकाले हलेखाडा र छोटेमा प्लास्टिक टनेल निर्माण गरी बाहिरबाट फर्किएका नागरिकलाई राख्न थालेको छ । भारतबाट फर्किएका १ सय ६७ जनालाई प्लास्टिक टनेलका क्वारेन्टाइनमा राखिएको हो ।

प्लास्टिकका टनेलमा क्वारेन्टाइन

समुद्र सतहदेखि करिब २ हजार ६ मिटर उचाइको पाटनमा प्लास्टिक टनेलमा बस्नुपर्दा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको क्वारेन्टाइनमा बसेकाको गुनासो छ । प्लास्टिक टनेलमा कोचिएर बस्दा संक्रमणको जोखिम बढेको खत्याड–३ का रविन बानियाँले बताए । ‘खुला शौच गर्नुपर्छ,’ उनले भने, ‘खानेपानीको झन समस्या छ, कसरी १४ दिन कटाउने ?’ उनी ५ दिनअघि भारतको नैतीतालबाट फर्किएका हुन् । उनका अनुसार हलेखाडामा ४८ र छोटेमा १ सय १९ जना भारतबाट फर्किएका व्यक्ति बसिरहेका छन् ।

चिसोले बालबालिका र महिलालाई झन सास्ती भएको स्थानीय कमल बानियाँले बताए । ‘हावाहुरी चल्दा टनेल उडाउने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘नाममात्रको क्वारेन्टाइनका कारण अनेकौं सास्ती भोगिरहेका छौं ।’ उनले प्लाष्टिक टनेलमुनि भुईंमा सुत्दै आएको गुनासो गरे ।

गाउँनजिकैका विद्यालयमा क्वारेन्टाइन बनाउन खोजे पनि स्थानीयले विरोध गरेपछि सफल नभएको गाउँपालिका उपाध्यक्ष जयनन्दा रावलले बताइन् । ‘सार्वजनिक ठाउँमा क्वारेन्टाइन बनाउन नसकिएपछि भारतबाट फर्किएकालाई पाटनमा राखेका हौं,’ उनले भनिन्, ‘बाहिरबाट फर्किनेको घुइँचो बढेपछि व्यवस्थापनमा समस्या भयो ।’ उनका अनुसार गाउँपालिकाले दुई पाटनसहित १० स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ ।

सबै स्थानीय तहले मापदण्डको ख्याल नगरी क्वारेन्टाइन बनाउँदा व्यवस्थापन पक्ष भद्रगोल देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए । ‘अनुमगन गरिएका क्वारेन्टाइनको व्यवस्थापन गर्न स्थानीय तहलाई आग्रह गरेका छौं,’ उनले भने, ‘क्वारेन्टाइन व्यवस्थित नहुँदा समुदायमा कोरोना फैलने जोखिम देखियो ।’

प्रकाशित : जेष्ठ १९, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?