कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नगर विकासको जग्गामा व्यक्तिका नाममा स्थापित प्रतिष्ठानको पार्क

कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सहादत पाएकाका नाममा पार्क बनाउन माग हुँदै आएकाे जग्गा वीरेन्द्रनगरकी उपप्रमुखले ‘क्याप्टेन दिनेश प्रतिष्ठान’ लाई दिएपछि स्थानीयको विरोध
चाँदनी कठायत

वीरेन्द्रनगर (सुर्खेत) — वीरेन्द्रनगर नगरपालिकाको घण्टाघर पार्कसँग जोडिएको जग्गामा व्यक्तिको नाममा स्थापित प्रतिष्ठानको पार्क निर्माण हुँदै छ । सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा ‘क्याप्टेन दिनेश प्रतिष्ठान’ का नाममा पार्क निर्माण गर्न थालिएको हो ।

नगर विकासको जग्गामा व्यक्तिका नाममा स्थापित प्रतिष्ठानको पार्क

उक्त जग्गामा कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले पार्क निर्माणका लागि स्वीकृति दिएकी छिन् । अहिले डिभिजन वन कार्यालयसँग सम्झौता भई काम भइरहेको छ । प्रतिष्ठानलाई संघीय सरकारले ३० लाख र प्रदेशको वन तथा वातावरण मन्त्रालयले ३० लाख रुपैयाँ दिएको छ ।

ढकालले चैत ७ गते प्रतिष्ठानलाई दिएको पत्रमा ‘२०७६ माघ २६ को पत्रानुसार क्याप्टेन दिनेश स्मृति पार्क निर्माणका लागि माग भएको जग्गाका विषयमा छलफल हुँदा स्टिमेटअनुसार क्रमागत रूपमा निर्माण गर्नका लागि स्वीकृति प्रदान गरिएको’ उल्लेख छ । डोल्पा स्थायी भर भएका विमानचालक दिनेश न्यौपानेको २०७३ फागुनमा कालिकोटमा भएको हवाई दुर्घटनामा मृत्यु भएको थियो । उनको स्मृतिमा परिवारले प्रतिष्ठान स्थापना गरेको हो ।

नगरपालिकाले कानुनविपरीत संरचना निर्माणको स्वीकृति दिएको भन्दै स्थानीयले तत्काल काम रोक्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा समेत उजुरी हालेका छन् । कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले प्रारम्भिक चरणमा नगरपालिका र डिभिजन वन कार्यालयसँग यसबारे स्पष्टीकरण मागिएको बताए ।

नगर विकासको स्वामित्वमा रहेको उक्त जग्गा हकभोगका लागि निश्चित प्रक्रिया पूरा गरेर बोर्ड (सञ्चालक समिति) बाट निर्णय गर्नुपर्छ । बोर्डको अध्यक्ष नगरप्रमुख हुने प्रावधान छ । हाल नगरप्रमुख देवकुमार सुवेदी पारिवारिक उपचारका सिलसिलामा विदेशमा रहेकाले उपप्रमुख ढकाल कार्यवाहक प्रमुख छिन् । अधिवक्तासमेत रहेका सुर्खेत उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष नारायण कोइराला नगरपालिकाको कार्यवाहकको जिम्मेवारी दिइएको भए पनि समितिको कार्यकारी अधिकार उपप्रमुखमा नहुने बताउँछन् । ‘फेरि बोर्डबाट कुनै निर्णय नगरी कार्यवाहक नगरप्रमुखको हैसियतमा ठाडो आदेशका भरमा जग्गामा पार्क बनाउन अनुमति दिइएको छ,’ उनले भने, ‘यसले वीरेन्द्रनगरको मुटुमा रहेको बहुमूल्य जग्गा व्यक्तिको नाममा स्थापित संस्थालाई दिइएको मात्र नभई विधि र कानुनसमेत मिचिएको छ ।’ यति ठूलो विषयमा सामान्य छलफलबाट निर्णय गरेर स्वीकृति प्रदान गर्नु गलत भएको उनले बताए । उनका अनुसार सार्वजनिक जग्गा भोगचलनका लागि स्वीकृति प्रदान गर्नुपरे समितिको सञ्चालक समितिको बैठक बसी एजेन्डा पेस गरेर छलफल गर्नुपर्ने हुन्छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले घण्टाघर पार्क वीरेन्द्रनगर नगरपालिकालाई प्रदान गरिएको र वरपरको जग्गा पनि प्रयोग गर्न पाइने भएकाले यस्तो स्वीकृति दिइएको बताए । प्रतिष्ठानले संघ र प्रदेश सरकारबाट रकम पाई निर्माणको अनुमति मागेकाले दिइएको उनको भनाइ छ ।

कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा सहादत प्राप्त गरेका चार जनाको परिवारले प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकासँग उनीहरूको सम्मान र स्मृतिका लागि पार्क निर्माण गरिदिन माग गरिरहेका छन् । सहिद यामबहादुर बीसीका तर्फबाट उनकी बहिनी भगवती बीसीले एक वर्षअघि नै पार्क बनाइदिन वा घण्टाघर आसपास क्षेत्रमा जग्गा उपलब्ध गराउन माग गरे पनि सुनुवाइ नभएको बताइन् । उनका अनुसार सहिद यामबहादुर बीसी स्मृति प्रतिष्ठानका नामबाट नगरपालिकामा निवेदन दिइएको थियो । ‘नगरपालिकाले पहिले दिएको निवेदन हरायो भनेपछि दुई–तीन महिनाअघि फेरि निवेदन दिएका थियौं,’ उनले भनिन्, ‘तर हाम्रो मागको कुनै सुनुवाइ भएन, बरु अहिले आएर पहुँच र पावरको भरमा अरूले नै जग्गा र पैसा पाएको सुन्यौं ।’

पारिवारिक उपचारका सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका नगरप्रमुख सुवेदीले भने सुर्खेत उपत्यकाको स्वीकृत गुरुयोजनाविपरीत कुनै व्यक्ति वा संस्थाले जहाँतहीँ संरचना बनाउन नपाउने बताए । नगर विकास समितिको निर्णयबिनै संरचना बनाउनसमेत नहुने उनको भनाइ छ । ‘गुरुयोजनामा घण्टाघर क्षेत्रलाई पार्कका रूपमा प्रयोग गर्न मिल्ने भनेको छ,’ उनले भने, ‘तर पार्क बनाउन मिल्ने भन्दैमा कोही व्यक्तिको नाममा बनेको संस्थाको नाममा पार्क बनाउन त मिलेन नि ।’

प्रकाशित : जेष्ठ १९, २०७७ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?