कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

क्‍वारेन्टाइनको बिजोग, बेन्‍चमै सुत्छन् भारतबाट फर्किएका नागरिक

राजबहादुर शाही

मुगु — गमगढीस्थित महाकाली माध्यमिक विद्यालयमा न पिउने पानीको सुविधा छ न व्यवस्थित शौचालय । छायाँनाथरारा नगरपालिकाले विद्यालयलाई क्‍वारेन्टाइन बनाएपछि भारतबाट फर्किएका १२ जनालाई राखिएको छ । भरपर्दो व्यवस्थापन नहुँदा उनीहरु बेन्‍चमा एकसरो कपडा ओछ्याएर सुत्दै आएका छन् । 

क्‍वारेन्टाइनको बिजोग, बेन्‍चमै सुत्छन् भारतबाट फर्किएका नागरिक

क्‍वारेन्टाइनमा ३ महिला र ९ पुरुष छन् । ‘बेन्चमा सुत्दा दिनभरि ढाड दुख्छ,’ एक महिलाले भनिन्, ‘भुइँमा कार्पेट छैन, रातभरि चिसोले सुत्नै सकिन्न ।’ शुक्रबार पानी परेकाले जाडो बढेको उनले गुनासो गरिन् । विद्यालयमा पर्याप्त खानेपानी सुविधा नहुँदा क्‍वारेन्टाइनमा बसेदेखि नै सरसफाइका काम गर्न नपाएको उनको भनाइ छ ।

उनी ५ दिनदेखि क्‍वारेन्टाइनमा बसिरहेकी छिन् । ‘शौच गर्न पनि लाइन बस्नुपर्ने बाध्यता छ, बरु होम क्‍वारेन्टाइनमा राखिए सुरक्षित हुन्थ्यौं,’ उनले भनिन्, ‘अहिलेसम्म चेकजाँचका लागि स्वास्थ्यकर्मी आएका छैनन् ।’ एउटै कोठामा ५ जनालाई राखिँदा सुरक्षित महसुस गर्न नसकिएको उनको गुनासो छ ।

क्‍वारेन्टाइनमा बसेकाहरु केही दिन चिउरा र चाउचाउकै भरमा थिए । शुक्रबारदेखि छायाँनाथरारा नगरपालिकाले खाना र खाजाको व्यवस्था गरेको छ । सदरमुकामकै क्‍वारेन्टाइन व्यवस्थित नहुँदा आफूहरुले धेरै सास्ती भोग्नुपरेको भारतबाट फर्किएकाको गुनासो छ । चारवटै स्थानीय तहले क्‍वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन नसकेको नागरिक अगुवा कृष्ण शाहीले बताए । ‘सामान्य पूर्वाधार पनि छैनन्,’ उनले भने, ‘स्थानीय तहले सबैलाई एउटै क्‍वारेन्टाइनमा हुल्दा कोरोनाको संक्रमण भयावह हुने देखियो ।’

प्रदेश सरकारले जिल्लाभरिका क्‍वारेन्टाइन व्यवस्थापन गर्न मुगुका स्थानीय तहलाई २० लाख रुपैयाँ बजेट निकासा दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले क्‍वारेन्टाइनको व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरिएको बताए । ‘क्‍वारेन्टाइन निर्माण र व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो,’ उनले भने, ‘अनुगमनका क्रममा देखिएका कैफियत सुधार्न पालिकाहरुलाई अनुरोध गरिरहेका छौं ।’

जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा पनि ५० लाख रुपैयाँ मौज्दात छ । तर निर्देशिका नहुँदा कोषको रकम खर्च गर्न समस्या भएको प्रजिअ निरौलाले गुनासो गरे । उनका अनुसार मुगुमा २१ ठाउँमा ३ सय ७६ बेडको क्‍वारेन्टाइन निर्माण गरिएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?