दैलेखको क्वारेन्टाइनमा एक जनाको मृत्यु

बेहोस भएको ४ घण्टापछि मात्र पुग्यो स्वास्थ्यकर्मीको टोली
ज्योति कटुवाल

दैलेख — दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । उनी १० दिनअघि भारतको गुजरातबाट आएका थिए । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसिरहेका ३७ वर्षीय ती व्यक्ति शनिबार बिहान करिब ७ बजे एक्कासि बेहोस भएर ढलेका थिए ।

क्वारेन्टाइनमा उनीसँगै सुत्ने एकजना साथीका अनुसार स्वास्थ्यकर्मीको टोली भने बेहोस भएको करिब ४ घण्टापछि क्वारेन्टाइनमा पुगेको थियो । ‘हामीले बेहोस हुनेबित्तिकै प्रहरीलाई खबर गरेका थियौं, तर डाक्टरहरु निकै ढिलो आइपुगे,’ उनले भने, ‘त्यति बेलासम्म उनको मृत्यु भइसकेको थियो ।’ बिहान चिया खाएर बिस्तरामा गएका उनी एक्कासि पल्टेको आवाज आएपछि घटनाबारे थाहा पाएको उनले बताए ।

मृतकका बुवाले पनि लापर्बाहीको कारण छोराको मृत्यु भएको आरोप लगाए । शरीरमा कुनै रोग नभएका छोरा बेहोस भएपछि समयमै खबर गर्दा पनि उपचार त टाढाको कुरा, स्वास्थ्यकर्मीहरु नजिक जानसमेत नमानेपछि उपचार नपाएर मृत्यु भएको उनको भनाइ छ । ‘हिजो (शुक्रबार) दिनभर छोरासँग लामो कुराकानी भयो, सबै ठिकठाक छ भन्दै थियो,’ उनले भने, ‘क्वारेन्टाइनको बसाइले अकालमै छोराको ज्यान गयो ।’

दुल्लु अस्पतालका डा. पूजा बीसीले मृत्युको कारण हृदयघात हुन सक्ने बताइन् । आइसोलेसनमा लगेर उपचार गर्ने तयारी गर्दागर्दै मृत्यु भएको उनको भनाइ छ । उनका अनुसार मृतक व्यक्तिको स्वाब संकलन परीक्षणका लागि शुक्रबार जुम्ला पठाइएको छ । कोरोना भए/नभएको रिपोर्ट आएपछि थाहा हुने उनले बताइन् ।

प्राधिकरणको क्वारेन्टाइनमा एउटै कोठामा २० जनासम्म सुतिरहेका छन् । प्रहरीले सामान्य सुरक्षा दिए पनि त्यहाँ स्वास्थ्यकर्मीको उपस्थिति भने छैन । क्वारेन्टाइनस्थलदेखि दुल्लु अस्पताल करिब १ घण्टा दूरीमा रहेको छ । उक्त क्वारेन्टाइनमा ७९ जना बसिरहेका छन् । बसेदेखि उनीहरुको स्वास्थ्य परीक्षणसमेत भएको छैन । ‘बिरामी छौं भनेपछि माथि (पर्खाल) बाटै औषधि फाल्छन्,’ उनले भने, ‘हामीलाई त जनावरको जस्तो व्यवहार हुने गरेको छ ।’

नगर प्रमुख घनश्याम भण्डारीले भारतबाट आएका व्यक्तिहरुको स्वाब परीक्षणबाहेक अन्य स्वास्थ्य परीक्षण गर्न नसकिएको बताए । क्वारेन्टाइनमा अन्य सुविधा भए पनि पानीको समस्या रहेको बताए ।

प्रकाशित : जेष्ठ १७, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?