कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुर्खेतबाट ८ सय ८० स्वाब जुम्ला पठाइयो

कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — माथिल्लो कर्णालीका जिल्लाको स्वाब परीक्षण गर्दै आएको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतबाट समेत थप स्वाब पठाउन थालिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बिहीबार ८ सय ८० स्वाब जुम्ला पठाएको जनाएको छ ।

सुर्खेतबाट ८ सय ८० स्वाब जुम्ला पठाइयो

निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन् । २ सय ४५ स्वाब सुर्खेतबाट र थप स्वाब दैलेखको दुल्लु तथा महाबु क्षेत्रबाट पठाइएका उनले बताइन् । ‘सुर्खेत प्रदेश प्रवेश गर्ने प्रमुख नाका र प्रदेशको केन्द्र भएको हुनाले यताको मेसिनमा भार पनि बढी हुने गरेको छ,’ उनले भनिन्, ‘त्यसैले हामीले जुम्लासँग ‘लोडसेडिङ’ गर्ने योजना बनाएको छौं, फेरि त्यहाँको ‘क्याचमेन्ट एरिया’ सानो भएकोले पनि सहज भएको छ ।’ यसअघि जुम्लाले हुम्ला, जुम्ला, मुगु, डोल्पा (तल्लो क्षेत्र) र कालीकोटका स्वाब परीक्षण गर्दै आएको थियो ।

यसका साथै सुर्खेतको प्रयोगशालामा नयाँ ल्याइएको आरएनए एक्प्रेसन किट र मेसिनको म्याचिङमा क्यालिब्रेसन नमिन्दासमेत परीक्षण प्रभावित भएको छ । निर्देशक भण्डारीका अनुसार अहिले सुर्खेतस्थित प्रयोगशालामा करिब २ सय ४५ स्वाब प्रोसेसमा रहेका छन् भने बिहीबार राति थप केही स्वाब सल्यानबाट आएका छन् । मेसिन र किटबीच म्याचिङ भइहाले पनि स्वाब संख्या अधिक हुँदा जुम्ला पठाउनुपर्ने अवस्था आएको उनले बताइन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सुर्खेतबाट पठाइएका स्वाब शुक्रबारै परीक्षण गरी रिपोर्ट दिने तयारी भएको बताए । उनका अनुसार वैशाख २२ देखि परीक्षण थालेको जुम्लास्थित प्रयोगशालाले बिहीबारसम्म ३ हजार १ सय २३ नमुना परीक्षण गरेको छ । जुम्लाले काठमाडौंपछि बढी संख्यामा स्वाब परीक्षण गर्दै आएको छ । प्रतिष्ठान आफैले आरटी–पीसीआर मेसिन र प्रयोगशाला सामग्री खरिद गरेर द्रुत रुपमा परीक्षण गरिरहेको उनले बताए ।

कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत रहेको छ । प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितको लागि १ सय २० आइसोलेसन बेड रहेका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेसन बेड संख्या ७० मात्र रहेको छ । जुम्लासहित छिमेकी जिल्लाका संक्रमितलाई पनि उपचार गर्ने गरी तयारी भइरहेको रजिष्ट्रार काफ्लेले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?