१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यार्चा टिप्‍न गए ५० हजार जरिवाना

राजबहादुर शाही

मुगु — यस वर्ष प्रतिबन्धका बाबजुद यार्चा टिप्‍न गए  मुगुम कार्मारोङ गाउँपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । लकडाउन र कोरोना भाइरसको संक्रमण हुने भन्दै गाउँपालिकाले एक महिनाअघि यार्चा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यार्चा टिप्‍न गए ५० हजार जरिवाना

अवैध रुपमा पाटन प्रवेश गरी यार्चा चोरी हुने भएकाले कार्यपालिका वैठकबाट जरिवानाको निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘यसअघि पनि पाटन आसपासका गाउँका बासिन्दाले सिजन सुरु हुनुअघि र पछि पनि अवैध रुपमा यार्चा संकलन गर्ने गरेका थिए,’ उनले भने, ‘अवैध रुपमा यार्चा संकलन रोक्न पाटन प्रवेश गर्ने नाकामा स्वयंसेवक परिचालन गरेका छौं ।’

अवैध संकलन रोक्न गाउँपालिकाले मुगु, डोल्फु, चितैलगायत गाउँमा स्वयम्सेवक परिचालन गरेको हो । गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोलालगायत ८ पाटनमा यार्चा पाइन्छ । यो वर्ष यार्चा संकलन रोकिएकाले अर्को वर्ष उत्पादन वृद्धि हुने आशा गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । लकडाउनले यार्चा संरक्षणमा टेवा पुगेको उनको भनाइ छ । उनका अनुसार पूलुस्थित सीमा प्रहरी चौकीले पनि यार्चा संकलन रोक्न नियमित गस्ती थालेको छ ।

गाउँपालिकाले अपरिचित व्यक्ति अनुमतिबिना गाउँ छिरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाका ९ वटै वडाका अध्यक्षको भेलाले प्रवेशमा रोक लगाएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?