भारतबाट फर्किएका अढाई सय नेपाली अलपत्र- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्किएका अढाई सय नेपाली अलपत्र

स्थानीय सरकारको बेवास्ताका कारण गुजरातबाट फर्किएका बालबच्चासहित करिब २ सय ५० नागरिक बाटैमा अलपत्र परेका छन् ।
ज्योति कटुवाल

दैलेख — स्थानीय सरकारको बेवास्ताका कारण भारतबाट मजदुरी गरी फर्किएका करिब २ सय ५० नागरिक बाटैमा अलपत्र परेका छन् । भारतको गुजरातबाट आएका उनीहरु गुराँस गाउँपालिकाको रानीमत्तामा अलपत्र परेका हुन् । 

उनीहरु दुई दिनअघि नेपाल प्रवेश गरेका हुन् । नेपाल आएदेखि नै भोकै बस्नुपरेको नारायण नगरपालिका–४ का प्रेम विकले बताए । उनले सोमबार बिहान ६ बजे गुराँसे पुगे पनि नगरपालिकाले मतलब नगर्दा अलपत्र परेको गुनासो गरे । ‘बालबच्चा भोक लाग्यो भन्दै हैरान गर्छन्,’ उनले भने, ‘होटल पनि बन्द छन्, हाम्रो त बिजोग भयो ।’

स्थानीयले नेपालगन्ज पुगेपछि सम्बन्धित पालिका र जनप्रतिनिधिलाई उद्धार गर्न फोनमार्फत आग्रह गरेका थिए । उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिकाको नगरबसले गुराँसेसम्म ल्याएको थियो । सडक साँघुरो भएकाले गाडी पास हुन नसकेपछि उनीहरुलाई रानीमत्तामै छोडिएको छ । बाटोखर्च नहुँदा घर पुग्न समस्या भएको नौमुले–३ की माया राम्जालीले बताइन् । ‘हामीले त जसोतसो भोक सहेकै छौं, बच्चाबच्ची भोक लाग्यो भन्दै रोएका रोयै छन्,’ उनले भनिन्, ‘सबै होटल र पसल बन्द छन्, गाउँपालिकाले गाडी नपठाउँदा बीच बाटोमा दुःख पाइयो ।’ गाउँपालिकाले गाडी पठाउने भन्दै बिहान ६ बजेदेखि झुलाइरहेको उनको गुनासो छ ।

भारतबाट आएकामध्ये दुल्लु नगरपालिका र महावु गाउँपालिकाका बासिन्दा धेरै छन् । भारतीय क्षेत्रमा सजिलै आए पनि नेपाल प्रवेश गरेदेखि सास्ती भोग्नुपरेको उनीहरुको गुनासो छ । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अलपत्र परेका नागरिकको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँका क्‍वारेन्टाइन भरिन थाले

सम्झना रसाइली

तनहुँ — भारत लगायत जिल्ला बहिराबाट आउने व्यक्तिलाई राख्न तयार गरिएका क्‍वारेन्टाइन भरिन थालेका छन् । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन तथा न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण भारतका विभिन्न राज्यबाट सुनौली सीमा क्षेत्रमा आई अलपत्र परेका जिल्लावासीलाई उद्धार गर्न थालिएसँगै क्‍वारेन्टाइन भरिन थालेका हुन् । कोभिड–१९ कहरका कारण रोजगारी गुमाएर पैदलै यात्रा गरी सुनौली नाकामा अलपत्र परेपछि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहको समन्वयमा उद्धार गर्न चलिरहेको छ ।

भारतीय प्रहरीले नेपालीलाई सीमासम्म ल्याएर छाडिदिने गरेको र बन्दाबन्दीका कारण सहजै आफ्नो देश फर्कन नसकी अलपत्र परेकामध्ये हालसम्म २२० जनालाई उद्धार गरी स्थानीय तहले निर्माण गरेको क्‍वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । उनका अनुसार भानु नगरपालिकामा १५, व्यास नगरपालिकामा ४५, शुक्लागण्डकी नगरपालिकामा २५, भिमाद नगरपालिकामा ४६, आँबुखैरेनी गाउँपालिकामा ३, देवघाट गाउँपालिकामा १२, घिरिङ गाउँपालिमा १५, म्याग्दे गाउँपालिकामा २३, बन्दीपुर गाउँपालिकामा ८ र रिसिङ गाउँपालिकामा २५ जना गरी २२० जनालाई क्‍वारेन्टाइनमा राखिएका छन् । यस्तै, क्‍वारेन्टाइनमा बस्नेहरुमा ५ महिला र २१५ पुरुष रहेका छन् ।

क्‍वारेन्टाइनमा बसेकाहरूको पीसीआर परीक्षणलाई पनि तीव्रता दिइएको कार्यालयका प्रमुख अधिकारीले बताए । उनले भने, ‘हालसम्म जिल्लामा ८९ पुरुष र १८ महिला गरी १०७ जनाको पीसीआर तथा ५९३ पुरुष र ८३ महिला गरी ६७६ जनाको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’भारतका विभिन्न सहरमा रोजगारी गरी फर्किएकाहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताए । उनले भने, ‘भारतबाट जिल्लाका अन्य व्यक्तिहरु फर्कन सक्ने भएकाले उनीहरूलाई राख्नका लागि प्रत्येक स्थानीय तहमा कम्तिमा पनि ५०/५० वेड क्षमताको व्यवस्थित क्‍वारेन्टाइनको तयारी गरिरहेका छौं ।’

‘जिल्लाका १० वटै स्थानीय तहमा हालसम्म १९२ शय्याको क्‍वारेन्टाइन निर्माण गरिएको भए पनि तत्कालका लागि ५०० शय्याको क्‍वारेन्टाइन बनाउने तयारीमा तनहुँका स्थानीय तह लागि परेका छन्’, प्रजिअ अधिकारीले भने, ‘एक स्थानीय तहमा कम्तीमा पनि ५० वेड क्षमताको व्यवस्थित क्‍वारेन्टाइन बनाउने कार्य अगाडि बढाइएको छ ।’

यस्तै जिल्लाको ५ स्थानमा ३४ शय्याको आइसोलेसन कक्ष तयार गरिएको छ भने जिल्ला तथा स्थानीय तह प्रवेश गर्ने नाकाहरुमा ६२ वटा स्वास्थ्य सहायता कक्षा खडा गरिएको छ ।

चैत्र १ गतेयता भारत लगायत विभिन्न मुलुकबाट ९१६ नागरिक जिल्ला भित्रिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×