कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दैलेखमा क्वारेन्टाइन भद्रगोल, एउटै कोठामा २५ जनासम्म

तीन दिनमा ४ हजार ५ सय नागरिक जिल्ला भित्रिए 
ज्योति कटुवाल

दैलेख — ठूलो सास्ती खेपेर भारतबाट आफ्नो जिल्ला आइपुगेका दैलेखका नागरिकले क्वारेन्टाइनमा पनि उस्तै दुःख पाएका छन् । क्वारेन्टाइनको व्यवस्थापन भद्रोगल हुँदा एउटै कोठामा २५ जनासम्म कोच्चिएर बसेका छन् । जसकारण उनीहरुलाई नै संक्रमणको जोखिम बढेको छ । 

दैलेखमा क्वारेन्टाइन भद्रगोल, एउटै कोठामा २५ जनासम्म

यहाँका स्थानीय तहले एउटै कोठामा २५ जनासम्मलाई कोचाकोच गरी राखेका छन् । नारायण नगरपालिका–६ का श्याम रानाले क्यारेन्टाइनको बसाइ भद्रगोल हुँदा संक्रमणको जोखिम बढ्दै गएको गुनासो गरे । उनी बसिरहेको नारायण क्याम्पसमा १ सयजनाका लागि बेड निर्माण गरिए पनि २ सय ५० जनाभन्दा बढीलाई कोचाकोच गरी राखिएको छ । ‘क्वारेन्टाइनभित्र पनि विभेद गरिएको छ,’ उनले भने, ‘कोहीलाई आरादायी बेडमा राखिएको छ, हामी भने डेक्स र बेन्च जोडेर सुत्दै आएका छौं ।’ कति क्याम्पसको कोलिया र छतमा सुत्नसमेत बाध्य भएको उनले बताए ।

स्थानीयका अनुसार उक्त क्याम्पसमा न सुत्ने व्यवस्था राम्रो छ न खाना र शौचालयकै सुविधा गतिलो । एउटै कोठामा २० देखि २५ जनालाई सुताइँदा अन्य स्वास्थ्य समस्या संक्रमणको जोखिमसमेत बढेको स्थानीय विपिन रावलले बताए । ‘खाने र सुत्ने व्यवस्था कस्तो छ भनेर जनप्रतिनिधि सोध्नसमेत आएनन्,’ उनले भने, ‘दाल र भात पनि राम्रोसँग पाकेको हुँदैन ।’ उनले भुइँमा सुत्नुपर्ने बाध्यता रहेको सुनाए ।

नारायण नगरपालिकाका विभिन्न ठाउँमा ३ सय ४४ बेड निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ११ स्थानीय तहमा ९ सय ६५ क्वारेन्टाइ निर्माण गरिएकोमा १ हजार ९ सय ९२ जनालाई राखिएको छ । त्यसमध्ये ४ सय ८६ जनाको मात्र स्वाब संकलन गरिएको छ । यसअघि १ हजार २ सय ५१ जनाको आरडीटी परीक्षण गरिएको थियो ।


दैलेख र सुर्खेतको सिमानामा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट फर्किएकाको चेकजाँच गरिँदै ।

अधिकांश ठाउँमा क्याम्पस र विद्यालयलाई क्वारेन्टाइन बनाइएपछि व्यवस्थापन भद्रगोल बनेको हो । ‘हामीलाई भेडाबाख्रा जसरी कोचिएर राखिएको छ,’ सदरमुकामको क्वारेन्टाइनमा बसेका एक स्थानीयले भने, ‘बरु घरमा सुरक्षित होला, हामी सुरक्षित छैनौं ।’ भारतबाट आउनेको सख्या बढ्दै गएपछि व्यवस्थापन गर्न समस्या भएको जनप्रतिनिधिको भनाइ छ । नारायण नगरपालिका–१, का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले बाहिरबाट आउनेको संख्या बढ्दै गएपछि क्वारेन्टाइनमा राख्न समस्या भएको बताए ।

पहिलो चरणमा भारतबाट आएकाको व्यवस्थापन राम्रै भए पनि अहिले क्वारेन्टाइनमा राख्न समस्या भएको दुल्लु नगरपालिका प्रमुख घनश्याम भन्डारी बताउँछन् । उनका अनुसार नगरपालिकाबाट झण्डै १० हजार व्यक्ति मजदुरीका लागि भारत गएका छन् । ‘भारत गएका आधा मात्र फर्किए पनि व्यवस्थापन गर्न समस्या हुन्छ,’ उनले भने, ‘सतर्कता अपनाउँदै क्वारेन्टाइनको बसाइ व्यवस्थापन गर्न प्रयास गरिरहेका छौं ।’ उनले २ हजार थान किट खरिद गरी क्वारेन्टाइनमा बसेकाको स्वाब संकलन सुरु गरिएको जनाए ।

किट अभावले स्वाब संकलनमा समस्या

भारतमा रेलसेवा सुचारु भएपछि जिल्ला फर्कनेको संख्या बढे पनि किट र भीटीएमको अभाव हुँदा स्वाब संकलनमा समस्या भएको छ । दैनिक झण्डै १ हजार बासिन्दा दैलेख भित्रिएपछि स्वास्थ्य उपकरणको अभाव देखिएको हो ।

स्वास्थ्य सेवा कार्यालयमा तत्काल ५० आरडीटी र भीटीएम मात्र मौज्दात छ । कम्तिमा १०/१० हजार किट र भीटीएम आवश्यक परेको कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार भारतबाट करिब २५ हजार नागरिक जिल्लामा आउने सरकारी अनुमान छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?