कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यसरी हुँदैछ कर्णालीमा काेराेना संक्रमितको उपचार

चारजना डाक्टर–नर्सलाई १२ घण्टाको ड्युटी, होटलमा बसाइँ
आइसोलेसन कोठामा तातोपानीदेखि इन्टरनेट सुविधा
कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णाली प्रदेश अस्पतालको नयाँ भवन, जुन भवन निर्माण कम्पनीले २०७६ भदौमा अस्पताल व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । यद्यपि भवन प्रयोगमा आएको थिएन । कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमणसँगै प्रदेश सरकारले ‘कोरोना विशेष अस्पताल) को रुपमा प्रयोग गर्ने निर्णय गरेपछि अहिले त्यहाँ चारजना संक्रमितको उपचार भइरहेको छ ।

यसरी हुँदैछ कर्णालीमा काेराेना संक्रमितको उपचार

एकजना दैलेखका र तीनजना सुर्खेतका संक्रमित उपचाररत छन् । सुर्खेतकी एक महिलासँग ४ वर्षीय छोरा पनि सँगै रहेका छन् । ती बालकको स्वाब परीक्षण भने गरिएको छैन । अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार चारैजनाको अवस्था अहिले सामान्य छ । ज्वरो र खोकीजस्ता सामान्य लक्षणसमेत नदेखिएकाले औषधि खुवाउनु परेको छैन । डाक्टर र नर्सले बिहान–साँझ दुईपटक स्वास्थ्य परीक्षण गर्ने गरेका गर्छन् । अरुबेला पनि संक्रमित आफैले ज्वरो, ब्लड प्रेसर र अक्सिजनको अवस्था नाप्छन् । ‘हामीले आइसोलेसनमा राख्ने बेलै कसरी नापजाँच गर्ने भनेर सिकाएका हुन्छौं,’ उनले भने, ‘सोही अनुसार संक्रमित आफैले पनि नाप्न सक्नुहुन्छ ।’

बिरामी बस्ने प्रत्येक कोठामा एक–एकवटा डिजिटल बीपी सेट (ब्लड प्रेसर नाप्ने मेसिन), डिजिटल थर्मोमिटर (ज्वरो नाप्ने मेसिन र स्याचुरेसन प्रोफ (अक्सिजनको अवस्था नाप्ने मेसिन) राखिएका छन् । आइसोलेसन कक्षमा सीसीटीभी क्यामेरासमेत जडान गरिएको छ, जसलाई अस्पतालमै रहेको डाक्टर ड्युटी स्टेसनबाट सहजै अवलोकन गर्न सकिन्छ । पहिलो संक्रमित पुष्टि भएको सोमबार ८ दिन र अन्य चारजनामा पुष्टि भएको तीन दिन पुगेको छ । सबै बिरामीको शरीरको तापक्रम, मुटुको चाल, श्वासप्रश्वास र रक्तचाप सामान्य रहेको डा. पौडेलले बताए ।

अस्पतालले आइसोलेसन कक्षमा इन्टरनेटको सुविधा पनि दिएको छ । कोठामा तातोपानीको लागि इलेक्ट्रिक जग राखिएको छ । संक्रमितले आफै तातोपानी तताएर पिउने गर्छन् । उनीहरुलाई खाना भने होटलबाट आउने गर्छ । नास्ताको रुपमा बिहान चिया–बिस्कुट तथा दिउँसो चना–अण्डा दिने गरिएको छ । दुई छाक खानामा एकपटक मासु दिने गरिएको छ । डा. पौडेलले पहिलो संक्रमितको सोमबार स्वाब परीक्षण गरिने बताए । ‘अन्य संक्रमितको पनि ७ वा १२ दिनमा स्वाब परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने, ‘अहिलेसम्म लक्षण नदेखिएकोले आत्तिइहाल्नु पर्ने अवस्था आएको छैन ।’

उनीहरुको उपचारमा दुईजना चिकित्सक डा. प्रकाशराज ओली र लक्ष्मी रेग्मी तथा दुईजना स्टाफ नर्स नेहा शर्मा र तुलसी लम्साल खटिइरहेका छन् । कार्यालय सहयोगी बालकृष्ण सिग्देलले व्यवस्थानमा सघाइरहेका छन् । अस्पतालले डा. केएन पौडेल र डा. नवराज केसीलाई सुपरभाइजर चिकित्सकको रुपमा तोकेको छ ।

उपचारमा संलग्न डाक्टर र नर्सलाई ७ दिनको लागि ड्युटी तोकिएको छ । उनीहरु दैनिक १२ घण्टाको दरले ड्युटीमा खटिन्छन् । बिहान ७ देखि साँझ ७ बजेसम्म दुईजना डाक्टर–नर्स र साँझ ७ देखि बिहान ७ सम्म अरु दुईजना डाक्टर–नर्स ड्युटीमा बस्छन् । ड्युटीमा खटिएका डाकटर नर्सले यो अवधिमा घर जान भने पाउँदैनन् । होटल सिद्धार्थमा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको छ । अस्पतालले होटलका ६ वटा कोठा रिजर्भ गरेको छ । ७ दिनपछि अरु डाक्टर–नर्सलाई खटाइने र उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि घर जान दिइने डा. पौडेलले बताए ।

अस्पतालले नयाँ भवनस्थित कोरोना विशेष अस्पतालमा ७० आइसोलेसन बेड तयार पारेको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पतामाल ८ वटा भेन्टिलेटर र २५ वटा आइसीयु बेड रहेका छन् । यीमध्ये चारवटा भेन्टिलेटर कोरोनाको लागि छुट्याइएका छन् । केही दिनअघि कुमारी ट्रस्टको तर्फबाट पूर्वसभासद राजीवविक्रम शाहले एउटा भेन्टिलेटरसहित पाँचवटा आइसीयु बेड सहयोग गरेपछि पूर्वाधारको अवस्था केही सहज भएको डा. खड्काले बताए ।

कर्णालीका संक्रमित ९ जनामध्ये ५ जना दैलेख सदरमुकामस्थित एक विद्यालयको आइसोलेसनमा रहेका छन् । सोमबार दैलेखका थप दुईजनामा कोरोना पुष्टि भएको डा. खड्काले जानकारी दिए । कोरोना संक्रमण भएकामध्ये पहिलो चरणका व्यक्तिलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । चिन्ह–लक्षण देखिएका र समस्या उन्मुख बिरामीलाई मात्र कोरोना विशेष अस्पतालमा उपचार गर्नुपर्ने उनीहरुको भनाइ छ । कोरोना विशेष अस्पतालमा सुपरभाइजर तोकिएका डा. केसीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘कर्णालीका सबै कोरोना आइसोलेसन सेन्टरलाई अब कोरोना लेभल–१ अस्पताल र हालका कोरोना विशेष अस्पताललाई कोरोना लेभल–२ अस्पतालमा रुपान्तरण गर्नुपर्ने देखिन्छ । यसरी जाँदा जिल्लामै कोरोनाको उपचार सहज हुन्छ । कोरोनाका सामान्य बिरामी बोकेर सुर्खेत जानु बैज्ञानिक हिसाबले पनि राम्रो होइन ।’

प्रकाशित : जेष्ठ १२, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?