१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णालीमा भारतबाट फर्किनेको लस्कर, परीक्षण किट सकिए

१० दिनमा फर्किए ४ हजार ३३६ जना
कलेन्द्र सेजुवाल

वीरेन्द्रनगर — जेठ महिना लागेसँगै भारतबाट आउने नागरिकको संख्या ह्वात्तै बढेपछि कर्णालीमा संक्रमण भित्रिएको छ । शनिबारसम्म चारजनामा संक्रमण पुष्टि भएको छ । चारैजना भारतबाट आएका हुन् । शनिबार सुर्खेतका तीनजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए ।

कर्णालीमा भारतबाट फर्किनेको लस्कर, परीक्षण किट सकिए

उनीहरुलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमित एकजना महिला छिन् । उनीसँग रहेका चार वर्षीय बच्चाको स्वाब आइतबार परीक्षण गरिने खड्काले जानकारी दिए । कर्णालीका पहिलो कोरोना संक्रमित दैलेखका ३५ वर्षीय पुरुषलाई पनि शुक्रबार सुर्खेत ल्याएर विशेष अस्पतालमा राखिएको छ । सबैको अवस्था सामान्य रहेको डा. खड्काले बताए । उनका अनुसार शनिबारै गरिएको स्वाब परीक्षणमा थप ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । पुन: परीक्षणको लागि स्वाबको नमुना नेपालगन्ज पठाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट ४ हजार ३ सय ३६ जना व्यक्ति कर्णालीका विभिन्न जिल्लामा प्रवेश गरेका छन् । सबैभन्दा बढी दैलेखका २ हजार २ सय ४४ जना आएका छन् भने डोल्पा र हुम्लाका व्यक्ति छैनन् । सुर्खेतका ९ सय १४ जना, सल्यानका ७ सय २० जना, जाजरकोटका १ सय २४ जना, कालीकोटका १ सय २३ जना, रुकुम पश्चिमका १ सय ८ जना, जुम्लाका ५० जना र मुगुका ४५ जना आएका कार्यालयको भनाइ छ । प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले भारतबाट करिब २५ हजार व्यक्ति फर्किने अनुमानसहित सुरक्षा र व्यवस्थापनको तयारी गरिएको बताए । ‘अहिले आउनेमध्ये अधिकांश व्यक्तिहरु ‘हाइ–रिस्क’ (उच्च जोखिम) मा छन्,’ उनले भने, ‘परीक्षण र बसाई व्यवस्थापन राम्रो बनाउन सकिएन भने समुदायमा संक्रमण फैलिनसक्छ ।’

यसरी आएका व्यक्तिहरु सबैजना क्वारेन्टाइनमा बसेका छैनन् । दैलेखमा अहिले १ हजार ७९ जनामात्र क्वारेन्टाइनमा बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले एकैपटक ठूलो संख्यामा जिल्ला सदरमुकाममा आउँदा खाना खुवाउन र सम्बन्धित स्थानीय तहमा पठाउन निकै मुस्किल भएको बताए । त्यस्तै, सुर्खेतका स्थानीय तहका क्वारेन्टाइनमा ८ सयजना र प्रादेशिक क्वारेन्टाइनमा ७८ जना बसिरहेका छन् । नेपालका विभिन्न स्थानबाट आएका व्यक्तिसमेत क्वारेन्टाइनमा बसिरहेका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताए । यस हिसाबले बबई नाका भएर भारतबाट आएका सबै व्यक्ति क्वारेन्टाइनमा नबसेका देखिएको छ । सल्यानमा ७ सय २० जना भारतबाट आएका भए पनि अहिले ५ सय २५ जना सामुदायिक क्वारेन्टाइनमा बसिरहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले बताए ।

प्रदेश र स्थानीय सरकारसँग भने जोखिम थेग्ने क्षमता छैन । प्रदेश सरकारले बबई नाकाबाट प्रवेश गर्ने सबैको आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) गर्ने निर्णय गरे पनि किट सकिएपछि अन्योल थपिएको छ । सामाजिक विकासमन्त्री दल रावलका अनुसार अहिले प्रदेशमा करिब १ हजारको संख्यामा आरडीटी किट स्टक रहेका छन् । ‘उताबाट आउने मान्छेलाई रोक्न सकिने अवस्था छैन, यता किट सकिँदै गएका छन्,’ उनले भने, ‘हामीले आफैं खरिद गर्नुका साथै संघीय सरकारसँग पनि सहयोग मागेका छौं ।’

सरकारले भारतबाट आउने क्रम सुरु भएपछि बबईबाट प्रवेश गर्ने सबैको आरडीटी गर्ने निर्णय गरेको थियो । तर, भीड व्यवस्थापनमा असहज भएपछि सल्यान, जाजरकोट र रुकुम पश्चिमतिर जानेको सल्यानमा, सुर्खेत जानेको बबईमा र दैलेख, कालीकोट, जुम्ला, मुगु जानेको दैलेखको गुराँसेमा आरडीटी परीक्षण गरिरहेको छ । यी तीनवटै परीक्षण केन्द्रमा ४ हजार २ सय आरडीटी किट दिइएको प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले बताइन् । अनुमान गरेभन्दा बढी मान्छेको परीक्षण गर्नु परेपछि अब मुस्किलले एक–दुई दिनको लागि मात्र किट स्टक रहेका उनको भनाइ छ ।

यही जोखिम महसुस गरेर शुक्रबार प्रदेश विपद व्यवस्थापन समितिले केन्द्रीय विपद व्यवस्थापन समिति र नेपाल सरकारसँग भारतीय सीमा नाकामै परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले रिपोर्ट नेगेटिभ आएकालाई मात्र सम्बन्धित जिल्ला र प्रदेशमा पठाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

संक्रमण बढिहाल्यो भने कर्णालीमा उपचारको समेत राम्रो प्रबन्ध छैन । प्रदेशभर रहेका २७ कोरोना विशेष उपचार केन्द्रमा ५ सय ४० आइसोलेसन बेड रहेका छन् । त्यस्तै अस्पतालहरुमा १ सय ५१ कोरोना बिशेष बेड, १७ भेन्टिलेटर र ४० आइसीयू बेड रहेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको कोरोना विशेष अस्पतालमा समेत पर्याप्त बेड छैनन् । यस्तो अवस्थामा अन्य जिल्लाका संक्रमितलाई सम्बन्धित जिल्लाकै आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्था मिलाउन चिकित्सकले सरकारलाई सुझाव दिएका छन् ।

प्रदेश अस्पतालका डा. नवराज केसीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘कर्णालीका सबै कोरोना आइसोलेसन सेन्टरलाई अब कोरोना लेभल–१ अस्पताल र हालका कोरोना विशेष अस्पताललाई कोरोना लेभल–२ अस्पतालमा रुपान्तरण गर्नुपर्ने देखिन्छ । यसरी जाँदा जिल्लामै कोरोनाको उपचार सहज हुन्छ । कोरोनाका सामान्य बिरामी बोकेर सुर्खेत जानु वैज्ञानिक हिसाबले पनि राम्रो होइन ।’

प्रकाशित : जेष्ठ ११, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?