कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कर्णालीका अस्पताललाई कुमारी ट्रष्टको १ करोड सहयोग

कलेन्द्र सेजुवाल

सुर्खेत — कुमारी ट्रष्टले कर्णाली प्रदेशका ९ वटा अस्पताललाई १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुर्खेतस्थित प्रदेश अस्पताललाई एउटा भेन्टिलेटरसहित पाँचवटा आइसीयू बेड सहयोग गरिएको छ ।

कर्णालीका अस्पताललाई कुमारी ट्रष्टको १ करोड सहयोग

ट्रष्टका अध्यक्ष एवं पूर्वसभासद राजीवविक्रम शाहले शुक्रबार एक कार्यक्रमबीच कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्कालाई ७० लाख बराबरको सहयोग हस्तान्तरण गरे । जुम्लाबाहेकका अन्य ८ वटा जिल्ला अस्पतालको लागि ३० लाख बराबरको सहयोग प्रदान गरिएको छ । जुम्लामा पूर्वाधारयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले तत्काल सहयोग नगरिएको अध्यक्ष शाहले बताए । उनका अनुसार सहयोग गरिएका सामग्रीमा भेन्टिलेटर, आइसीयू, इसीजी मेसिन, प्यासेन्ट मनिटर, प्यासेन्ट बेड, अक्सिजन कन्सनटेटर, डेलिभरी बेड म्यानुयल, प्यासेन्ट ट्रली, नेपुलाइजरलगायत रहेका छन् ।

अमेरिकामा बस्ने माया राणाले आफ्ना स्वर्गीय बुवाको प्रथम बार्षिकीको अवसरमा ट्रष्टलाई गरेको आर्थिक सहयोगबाट कर्णालीका अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको अध्यक्ष शाहले बताए । ‘कोरोनाको संक्रमणविरुद्ध लड्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो,’ उनले भने, ‘त्यसमाथि कर्णालीजस्तो भौगोलिक विकटता र स्वास्थ्य पूर्वाधार कमजोर भएको ठाउँमा यस्तो बेला सहयोगको खाँचो अझ बढी महसुस भएकोले सहयोग गरेका हौं ।’

कुमारीको सहयोगपछि प्रदेश अस्पतालमा आइसीयू बेड संख्या २५ पुगेको छ । अस्पताल निर्देशक डा. खड्काका अनुसार कोरोना प्रकोपअघि ४ वटा आइसीयू बेड रहेकोमा सरकारको सहयोगमा १६ र कुमारी ट्रष्टको सहयोगमा ५ बेड थपिएको छ । अब प्रदेशभर आइसीयू संख्या ४० पुगेको छ । जुम्लामा १० र दैलेखमा ५ आइसीयू बेड रहेका छन् ।

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) मा ३ वटा आइसीयू बेड रहेकोमा कोरोना प्रकोपलाई मध्यनजर गरेर ७ वटा थप गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशभर भेन्टिलेटरको संख्या १७ रहेको छ । सुर्खेतमा कुमारीको सहयोगमा आएको एकसहित ८, जुम्लामा ७ र दैलेखमा २ वटा भेन्टिलेटर रहेका छन् ।

स्वास्थ्य सामग्री सहयोग कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पछिल्लो समय भारतबाट आउने नागरिकको कारण कोरोनाको जोखिम बढेको बताए । ‘सीमामा आएर अलपत्र परेपछि उनीहरुलाई उद्धार गरेर ल्याउनु सरकारको दायित्व हो, घर आउन खोज्नु उनीहरुको अधिकार पनि हो,’ उनले भने, ‘तर त्यही कारणले जोखिम बढिरहेको छ ।’ जोखिम न्यूनीकरण गर्न प्रदेश प्रवेश गर्ने नाकामा आरडीटी परीक्षण गर्नुका साथै स्थानीय तहको सहयोगमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?