३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कर्णालीका पहिलो संक्रमित भन्छन्–‘मलाई कोरोना भएको विश्‍वासै लागेको छैन’

ज्योति कटुवाल

दैलेख — फागुन पहिलो साता रोजगारका लागि भारतको आग्रा पुगेका उनी एक महिना पनि राम्रोसँग काम गर्न नपाइ नेपाल फर्कनुपर्ने बाध्यतामा परे । विश्वभर फैलिएको कोराना रोगले गर्दा काम गर्ने कम्पनी पनि बन्द भएपछि उनीसँग घर फर्किनुको विकल्प पनि थिएन ।

कर्णालीका पहिलो संक्रमित भन्छन्–‘मलाई कोरोना भएको विश्‍वासै लागेको छैन’

आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती व्यक्ति अन्य ४७ जनासहित चैत ११ गते आग्राबाट हिँडेर नेपाल–भारत सीमास्थित वनबासा १४ पुगेका थिए । यता नेपालमा पनि आवतजावत सबै बन्द भइसकेकाले उनीहरु सीमामै बस्नु पर्‍यो । सीमामा राखिएको क्‍वा रेन्टाइनमा जसोतसो ४५ दिन काटेर दैलेख पुगेका उनी र उनका साथीभाइ फेरि सात्तलाको लक्ष्मी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा बसे । क्‍वारेन्टाइनमा बसेको द्रोसो दिन उनीहरुको स्वाब परीक्षण भयो । घर छेउकै क्‍वारेन्टाइनमा बसेकाले उनलाई घर जाने त्यत्ति हतार पनि थिएन ।

जब रिपोर्ट आयो, उनी छाँगाबाट खसेजस्तै भए । गत सोमबार उनमा कोरोना देखियो । यद्यपि उनीसँग ४५ दिनसम्म बसेका र सँगै हिँडेका अरुको रिपोर्ट भने नेगेटिभ आएको छ । ‘४५ दिनको क्‍वारेन्टाइनमा बसेकाले होला, डर एकरति पनि लागेको थिएन,’उनले भने, ‘तर अरु कसैलाई देखिएन, मलाई मात्र देखियो ।’ कल्पनासमेत नगरेको रोग देखिएपछि रुन मन लागेको उनले बताए ।

कोरोना देखिएपछि भने उनका दु:खका दिन सुरु भए । जिल्ला सदरमुकामबाट गएको टोलीले उनलाई दैलेख बजारमा ल्यायो । ‘यहाँ आएपछि त जंगलको बीचमा रहेको स्कुलमा पो राखे,’उनले भने, ‘एक्लै हिँड्न पनि डराउने मान्छे, रातदिन त्रासमा बिताइरहेको छु ।’

उनलाई बुधबार राति ८ बजेदेखि सदरमुकामको सरस्वती माध्यमिक विद्यालयको आइसोलेसनमा राखिएको छ । उनी सुत्ने भवन र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सुत्ने भवन अलग-अलग छन् । त्यसैले पनि राति डर लाग्ने गरेको उनले बताए । ‘बरु गाउँको क्‍वारेन्टाइनै ठीक थियो, यहाँ त कोरोनाको भन्दा मनको डरले सताइरहेको छ,’ उनले भने, ‘झुक्याएर ल्याएर जंगलबीचको स्कुलमा राखे ।’

उनी रोजगारको सिलसिलामा भारत जान थालेको करिब २ दशक भयो । भारतमा गरेको मजदुरीले परिवारको पेट पाल्ने गरेको उनी बताउँछन् । कोरोनाको डर सहेर भारतमै बस्न मन भए पनि घरका मान्छेले तारन्तार फोन गरेर बोलाएपछि फर्किएको उनले बताए । ‘अहिले त झन् चिन्ता थपिएको छ,’उनले भने, ‘मेरो शरीरमा रोगका लक्षण नदेखिए पनि एक्लै बस्नुपर्दा ज्यान गलेको छ ।’

कर्णाली प्रदेशका पहिलो संक्रमित ती व्यक्तिलाई अहिले पनि कोरोना भएको विश्वास लागेको छैन । रोगका कुनै लक्षण चिह्न नदेखिँदा यस्तो लाग्ने गरेको उनले बताए । ५० दिनसम्म सँगसँगै बसेका साथीहरुलाई संक्रमण नदेखिँदा उनले आफैमाथि थप शंका गर्ने गरेका छन् । ‘एउटै कोठामा सुत्थ्यौं, एउटै चर्पी (शौचालय) प्रयोग गर्थ्यौ,’ उनले भने, ‘उनीहरुमा छैन, मलाई मात्र कसरी रोग देखियो ?’ महेन्द्रनगरबाट आउँदा एउटै बसमा ५१ जना मान्छे आएका उनले बताए ।

उनलाई राखिएको विद्यालयमा नर्स र स्वास्थ्यकर्मी पनि बस्छन् । उनीहरुले स्वास्थ्य जाँच गर्नुका साथै रोगबारे परामर्श पनि दिन्छन् । यद्यपि स्वास्थ्य परीक्षणमा खासै वास्ता नहुने गरेको उनको दुखेसो छ । दुई दिनपछि बल्ल शुक्रबार स्वास्थ्य परीक्षण भएको उनले बताए । ‘अन्यत्रका संक्रमितलाई आइसोलेसनमा राखिएको, डाक्टरले हेरिरहेको भनेर सुन्ने गर्छु,’ उनले भने, ‘मलाई त त्यति सारो बिरामी छैन भनेर हो कि खासै वास्ता गरिएको छैन ।’

प्रकाशित : जेष्ठ ९, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?