कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विपन्‍नका ३ सय ५० घर निर्माण अधुरै

राजबहादुर शाही

मुगु — कोरोना भाइरस संक्रमणको जोखिम र लकडाउनका कारण जनता आवास कार्यक्रम अलपत्र परेको छ । लकडाउनले ३ सय ५० विपन्न परिवारको घर निर्माण अलपत्र परेको हो ।

विपन्‍नका ३ सय ५० घर निर्माण अधुरै

चालु आर्थिक वर्षभित्रै सबै घर निर्माण गर्ने गरी कार्यक्रम सुरु गरिएको थियो । तर अहिलेसम्म एउटा घर बन्न नसकेको जिल्ला पूर्बाधार कार्यालयले जनाएको छ । जसका लागि कार्यालयले प्रतिपरिवार ३ लाख रुपैयाँमा निर्माणको सम्झौता गरेको निमित्त प्रमुख मोहनसिंह कार्कीले बताए । उनका अनुसार गत पुस महिनामा पहिलो किस्ताबापत सबै परिवारलाई ८३ हजार रुपैयाँ भुक्तानी गरिसकिएको छ । उनले अहिलेसम्म ५० प्रतिशत काम पूरा हुन नसकिएको जानकारी दिए ।

कार्यक्रमअन्तर्गत पिलरसहितको एक तले तीन कोठा भएको घर निर्माण गर्ने कार्यविधिमा उल्लेख छ । लकडाउनका कारण जस्ता पाता र सिमेन्ट ढुवानीमा समस्या भएपछि घर निर्माण अधुरै बनेको सोरु गाउँपालिका–४ का प्रकाश कामीले बताए । ‘निर्माण सामग्री जुटाउनै समस्या भयो,’ उनले भने, ‘लकडाउन नभएको भए सबै नयाँ घरमा सरिसक्थ्यौं ।’

अनुदान पाएपछि घर बनाउन उत्साही भएका विपन्न परिवार अहिले निराश छन् । लकडाउनका कारण यो वर्ष नयाँ घरमा सर्ने सपना अधुरै हुने छायानाथरारा नगरपालिका–८ का अंक कामीले बताए । जनता आवास कार्यक्रम र स्थानीय तहबीच समन्वय नहुँदा पनि घर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार कार्यक्रमको सबै बजेट आउन ढिलाइ हुँदा घर निर्माणमा समस्या भएको हो । जिल्लाभरिका सबै घर निर्माण गर्न ९ करोड बजेट चाहिने भए पनि ३ करोड रुपैयाँ मात्र निकासा भएको निमित्त प्रमुख कार्कीले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?