कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वारेन्टाइनमा बस्नेलाई दैनिक १ सय ७८ रुपैयाँ

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेलाई खाना खर्चबापत दैनिक एक सय ७८ रुपैयाँ दिने निर्णय गरेको छ । यसअघि क्वारेन्टाइनमा बसेकालाई नगरपालिका आफैले खाने व्यवस्था गरेकामा अब नगद दिने निर्णय गरेको हो ।

क्वारेन्टाइनमा बस्नेलाई दैनिक १ सय ७८ रुपैयाँ

नगरपालिकाका अनुसार भारत तथा अन्य ठाउँबाट आउनेलाई १४ वटै वडाका क्वारेन्टाइनमा राखिनेछ । ‘क्वारेन्टाइनमा बस्नेलाई नगद रकम दिइनेछ,’ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने, ‘तर उनीहरुले चाहेको खण्डमा खाद्यान्न किनेर उपलब्ध गराउनेछौं ।’ उनका अनुसार पकाएर खानको लागि हरेक क्वारेन्टाइनमा पकाउने भाँडाको व्यवस्था गरिएको छ । आफूले खाने थाल, कचौरा, गिलास र ओढ्ने– ओछ्याउने कपडा सम्बन्धित व्यक्तिले ल्याउनुपर्ने नियम बनाइएको उनले जानकारी दिए । नगरपालिकाले संघीय सरकारकै मापदण्डअनुसार काम अघि बढाएको उनको भनाइ छ ।

क्वारेन्टाइनमा नगरपालिकाले मास्क, स्यानीटाइजर, साबुन, खानेपानीका लागि ड्रम, फिल्टर र शौचालय सफाइका सामग्री प्रदान गरेको छ । दाउराको समस्या हुने वडामा ग्याँस र चुलाको व्यवस्था पनि गरिने नगरप्रमुख विशाल शर्माले बताए । ‘वडामा गठित क्वारेन्टाइन व्यवस्थापन समितिले यसको सहजीकरण गर्नेछ,’ उनले भने, ‘अब बिहान र दिउँसोको नास्ता तथा साँझ–बिहानको खानाको व्यवस्था क्वारेन्टाइनमा बस्नेले आफै गर्नेछन् ।’ संघ र प्रदेशले बजेट विनियोजन गर्न असजिलो मान्ने र मापदण्ड अमिल्दो बनाएकाले समस्या भएको उनले गुनासो गरे ।

चौरजहारी नगरपालिकाबाट ३ हजार २ सय ४४ जना भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका छन् । उनीहरु घर फर्कन सुरु गरेको र शुक्रबार मात्र ३४ जना भित्रिएको नगरपालिकाले जनाएको छ । उनीहरुलाई सम्बन्धित वडामा पठाइएको छ । ‘क्वारेन्टाइनमा पनि १४ दिन बसेपछि मात्रै कारोना भाइरस संक्रमण भएनभएकोबारे पीसीआरमार्फत परीक्षण गरिनेछ,’ नगरप्रमुख शर्माले भने, ‘भारतमा रहेकामध्ये झन्डै ५० प्रतिशत स्थानीय बासिन्दा घर फर्कने हाम्रो अनुमान छ ।’ उनका अनुसार कोरोना संक्रमितको उपचारका लागि चौरजहारीमै ३९ बेडको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?