भेरी नदीले बगाउँदा बालिका बेपत्ता 

सल्यान — भेरी नदीले बगाउँदा  बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँ निवासी प्रेम विककीे १० वर्षीया छोरी लक्ष्मी विक बेपत्ता भएकी छिन् । आइतबार बेलुकी सात बजे साथीहरुसँग पानी लिन गएको समयमा चिप्लिँदा विकलाई भेरीले बगाएको थियो । 

आइतबार रातिको समयमा खोजी गर्न नसकेपछि बेपत्ता बालिकाको सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय सल्लीबजारको टोली र स्थानीय द्वारा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भेरी नदी धमिलो र पानीको सतह बढेकाले बालिकालाई बगाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । नदी धमिलो भएकाले बेपत्ता भएकी बालिकाको खोजी गर्न कठिनाइ भएको उनको भनाइ छ ।

भेरी नदीको किनारमा रहेको बस्ती घाटगाउँमा मुहान तथा खानेपानीको सुविधा नभएपछि विगतदेखि सय बढी घरपरिवार रहेका स्थानीय भेरी नदिको प्रदुषित पानी खान बाध्य हुँदै आएका छन् । भेरी नदी गहिरो भएकाले जोखिम उठाएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । खानेपानी तथा सरसफाइको लागि भेरी नदीमा जाने क्रममा वर्षैपिच्छे स्थानीय बालबालिका बगेर बेपत्ता हुँदै आएको स्थानीयले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?