कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतबाट सल्यानमा ६ हजार नेपाली फर्कंदै

भारतबाट गाउँ फर्कने क्रम सुरु भएपछि सतर्कताका लागि क्‍वारेन्टाइन थपिएको छ ।
विप्लव महर्जन

सल्यान — भारतमा मजदुरीका लागि गएकाहरु फर्कने क्रम बढेपछि बन्गाडकुपिण्डे नगरपालिकाले सतर्कता अपनाउन क्‍वारेन्टाइन थपेको छ । नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार भारतमा रेलसेवा सुरु भएपछि बन्गाडकुपिण्डेका करिब ६ हजार व्यक्ति फर्कने तयारीमा छन् । 

भारतबाट सल्यानमा ६ हजार नेपाली फर्कंदै

नगरपालिकाले यसअघि प्रभाकर मावि, देवस्थलमा क्‍वारेन्टाइन स्थापना गरेको थियो । भारतबाट गाउँ फर्कने क्रम सुरु भएपछि बन्गाड क्याम्पस, गरास्थित भेरी आधारभूत विद्यालय र अधेरीको नवज्योति माविमा क्‍वारेन्टाइन थपिएको नगरप्रमुख गोविन्दकुमार पुनले बताए । उनका अनुसार ४, ५ र ६ नम्बर वडाका करिब एक सय बासिन्दा बाँकेको जमुनाह नाकामा पुगिसकेका छन् । ‘भारतबाट स्थानीयवासी फर्कने क्रम सुरु भइसक्यो,’ उनले भने, ‘फर्किएका सबैलाई अनिवार्य रुपमा १४ दिन क्‍वारेन्टाइनमा राख्ने गरी आवश्यक व्यवस्थापनका काम गरिरहेका छौं ।’

नगरपालिकाले लकडाउनकै समयमा भारतमा मजदुरीका लागि गएकाको तथ्यांक संकलन गरेको हो । वडा नं. १ बाट एक हजार ५२, २ बाट ६ सय ६७, ३ बाट ९ सय ६९, ४ बाट ५ सय ७५, ५ नम्बर वडाबाट ६ सय ३४ र ६ नम्बरबाट ४ सय ९८ जना भारत गएको नगरपालिकाको तथ्यांक छ । त्यस्तै ७ नम्बर वडाबाट ३ सय ५१, ८ बाट ५ सय ४१, ९ बाट ३ सय ४५, १० बाट १ सय ३७ , ११ नम्बरबाट १ सय ७५ र वडा नं. १२ बाट १ सय ३० जना लकडाउनका कारण भारतमा अलपत्र परेका छन् ।

यसअघि भारतबाट १ सय ६८ जना स्थानीय नगरपालिकामा भित्रिएका थिए । प्रभाकर माविको क्‍वारेन्टाइनमा अहिले १२ जना बसिरहेका छन् । नगरपालिकाले यसअघि १ सय ४५ जनाको आरडीटी गरेकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । नगरभित्र थप समस्या आउन नदिन शनिबारदेखि लकडाउनमा कडाइ गरिएको नगरप्रमुख पुनले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?