कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यार्चा प्रतिबन्धले जीविकोपार्जनमा समस्या

राजबहादुर शाही

मुगु — कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्चा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । मुगमकार्मारोङ गाउँपालिकाका करिब २ हजार ४ सय परिवारको आयआर्जनको मुख्य स्रोत नै यार्चा संकलन हो ।

यार्चा प्रतिबन्धले जीविकोपार्जनमा समस्या

मुगुमकार्मारोङ गाउँपालिकाको मुगु, डोल्फू, चितै, पूलु, किम्री, दाउरा, पूलु, रिउस, पुवा, माग्री, मह, छाइल, पापुलगायत १३ बस्तीका बासिन्दाले यार्चा बिक्रीको रकमले वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् । ‘यो वर्ष यार्चा टिप्न नपाइएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ,’ माग्रीगाउँका छिरिङ तामाङले भने, ‘आठ वर्षदेखि यार्चा टिपेरै परिवारको वर्षभरिको खर्च टार्दै आएको छु ।’ उनका अनुसार भिरालो र सिँचाइ नहुँने क्षेत्र भएकाले गाउँमा अन्न उत्पादन न्यून हुन्छ । गत वर्ष उनी एक्लैले यार्चा टिपेर ५८ हजार रुपैयाँ कमाएका थिए ।

मुगमकार्मारोङको सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत पाटनमा यार्चा उत्पादन हुन्छ । कोरोना भाइरसको जोखिमका कारण गाउँपालिकाले यस वर्ष पाटन खुला नगर्ने निर्णय गरेको हो । गत वर्ष पाटनमै पाँच सयदेखि एक हजार रुपैयाँमा यार्चा बिक्री भएको थियो ।

छायानाथरारा नगरपालिकाको लुम्स, कम्फा, रोवा, चराप, सोभा, घट्टलेख, तल्ललेख, झाकोट, लुहारपोल्नालगायत गाउँका करिब एक हजार ८० परिवारको मुख्य कमाइ पनि यार्चा बिक्री नै हो । यार्साको भरमा बाँचेका विपन्न परिवारलाई यो वर्ष जीविकोपार्जनको चिन्ताले सताएको रोवागाउँका हस्त नेपालीले बताए । ‘जागिर छैन, मजदुरी गर्न खोज्दा पनि काम पाइँदैन,’ उनले भने, ‘विकास योजना पनि ठप्प छन्, कसरी परिवार पाल्ने ?’

गाउँपालिकाले यार्चा प्रतिबन्धको निर्णय गरेपछि पाटन आसपासका क्षेत्र सुनसान छन् । पाटन नखुलेपछि ठेकेदार र होटेल व्यवसायीसमेत समस्यामा परेका छन् । गत वर्षसम्म छाइल, लुम्स, पूलु, रिउसलगायत बजार यार्चा संकलनको बेला भरिभराउ हुन्थे । यार्चा संकलन बन्द भएपछि होटल व्यवसाय संकटमा परेको रोकाया होटेलका प्रोपाइटर सुत्त रोकायाले बताए । ‘गत वर्षसम्म यार्चा संकलकको ओहोरदोहोरका कारण भ्याइनभ्याइ थियो,’ उनले भने, ‘यो वर्ष ग्राहक नआउँदा आम्दानी शून्य छ ।’

यार्चा संकलन बन्द हुँदा राजस्व संकलनसमेत शून्य भएको मुगुमकार्मारोङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । उनका अनुसार गत वर्ष यार्चा संकलनबाटै एक करोड रुपैयाँ राजस्व संकलन भएको थियो । ‘पाटनमा संकलकको भीड हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढी देखिएपछि प्रतिबन्धको निर्णय गरेका हौं,’ उनले भने, ‘यो सिजनमा यार्चा नटिप्दा अर्को वर्ष उत्पादनमा बृद्धि हुने अपेक्षा छ ।’ गाउँपालिकाका अनुसार गत वर्ष करिब सात हजार स्थानीयले यार्चा संकलन गरेका थिए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?