लकडाउनले स्थानीय तरकारीको माग बढ्यो 

ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिका–६, पिलाडीका हर्कबहादुर खत्री अहिले डोकोमा तरकारी बोक्न नपर्दा दंग छन् । लकडाउनअघि मण्डीमा २५ रुपैयाँ प्रतिकिलो आलु बेचेका उनले अहिले घरबाटै ५० रुपैयाँमा बिक्री गरिरहेका छन् । उनका छिमेकी महेन्द्रकुमार विसीको घरमा पनि तरकारी किन्न गाडी पुग्छ । 

लकडाउनले स्थानीय तरकारीको माग बढ्यो 

लकडाउनका कारण भारतीय तरकारी नआएपछि स्थानीय तरकारीको खपत बढेको छ भने कृषकले भनेकै मूल्य पाएका छन् ।

‘पहिले मण्डीवालाले प्रतिकिलो २५ देखि ३० रुपैयाँमा हामीबाट खरिद गरी ५० देखि ६० रुपैयाँमा आलु बेच्थे,’ खत्रीले भने, ‘अहिले बारीबाटै ५० रुपैयाँ मूल्य पाइरहेका छौं ।’ २० रोपनी जग्गामा बेमौसमी तरकारी खेती गरिरहेका उनले आलु र टमाटर धमाधम बजार पठाइरहेको बताए । एक महिनाको अवधिमा आठ लाख रुपैयाँको तरकारी बिक्री गरेको उनको भनाइ छ ।

सुर्खेत र दैलेखका व्यवसायीले पिलाडीमा मात्रै तीन संकलन केन्द्र स्थापना गरी तरकारी खरिद गरिरहेका छन् । व्यवसाय थालेको १२ वर्षपछि तरकारीले राम्रो मूल्य पाएको विसीले बताए । यो सिजनमा उनले ६ लाख रुपैयाँको तरकारी बजार पठाइसकेका छन् । ‘दैनिकजसो गाडी ल्याएर व्यापारी बारीमै आउँछन्,’ उनले भने, ‘बाहिरको तरकारी नआउँदा हाम्रो आम्दानी बढ्यो ।’ उनको बारीमा अहिले पाँच हजार बोट टमाटर फलिरहेका छन् ।

लालीकाँडाकी मिना ओलीले डोकोमा चार/पाँच घण्टा बोकेर तरकारी बेच्नुपर्ने बाध्यता हटेको बताइन् । ‘सुरुमा केही दिन तरकारी कुहिएर गयो,’ उनले भनिन्, ‘सुर्खेत र दैलेखका तरकारी व्यवसायीले गाउँगाउँमा गाडी पठाएर तरकारी संकलन गर्न थालेपछि भनेजति मोल पाइरहेका छौं ।’ गुराँस गाउँपालिकाका सबै वडामा तरकारी उत्पादन हुन्छ । अहिले दैलेख सदरमुकामसहित सुर्खेत, जुम्ला र कालिकोटको माग गुराँसेको तरकारीले धानिरहेको पान्डे मण्डीका प्रोपाइटर कुष्ण पान्डेले बताए ।

गाउँपालिकाको कृषि शाखाका अनुसार गुराँसेबाट वार्षिक ६ करोड रुपैयाँको तरकारी बाहिर जान्छ । गोगनपानी, लालीकाँडा गोगनपानी, सेरी र रानिमत्ता तरकारी उत्पादनका पकेट क्षेत्र मानिन्छन् । गाउँपालिका अध्यक्ष खेमराज ओलीले किसानलाई थप व्यवसायिक बनाउन एक घर–एक पोखरी र वडा–वडामा संकलन केन्द्रको कार्ययोजना निर्माण गरिएको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?