प्याजमा रोग लाग्यो, विषादी किन्न पाएनन्

सल्यान नाम्राका किसानले गत वर्ष ६ क्विन्टल प्याज उत्पादन गरेका थिए । रोगको पहिचान गर्न नसक्दा यसपालि ५० प्रतिशत गिरावट आउने उनीहरुको भनाइ छ ।
विप्लव महर्जन

सल्यान — बन्गाड कुपिण्डे नगरपालिका-१ नाम्राका किसान प्याजमा रोग लागेपछि चिन्तित भएका छन् । यहाँका ५५ परिवारले ५ वर्षदेखि २ सय रोपनी जग्गामा व्यावसायिक प्याज खेती गर्दै आएका छन् ।

प्याजमा रोग लाग्यो, विषादी किन्न पाएनन्

लकडाउनका कारण विषादी खरिद गर्न जान नसकेका कारण समयमै किटनाशक औषधि छर्कन नपाएको उनीहरुको गुनासो छ । यहाँ गत वर्ष ६ क्विन्टल प्याज उत्पादन भएको थियो । कृषि प्राविधिकको अभावमा रोगको पहिचान गर्न नसक्दा उत्पादनमा ५० प्रतिशत गिरावट आउने उनीहरुको भनाइ छ ।

किसानका अनुसार चैतमा पात, डाँठ डढेको प्याज अहिले नछिप्पिदै पहेलिँदै गएको छ । ‘गत वर्ष १३ रोपनी जग्गामा ६० क्विन्टल प्याज उत्पादन गरेर २ लाख ४० हजार कमाएको थिएँ,' किसान वीरबल खत्रीले भने, 'यसपालि २० क्विन्टल पनि उत्पादन नहुने देखिएको छ ।’

प्याज खेती गरेर ६ जनाको परिवार पाल्दै आएकी ४० वर्षकी जितकला बुढाले पनि पोहोर ७० हजार रुपैयाँ कमाएको बताइन् । 'प्याजबाट राम्रै आम्दानी हुने भनेर खाद्यबाली लगाउन छाडियो,' उनले भनिन्, 'रोगले गर्दा धेरै बोट मरे । बाँचेकामा पनि गानामात्रै छ ।'

किसानहरु प्याजको बिउ नेपालगन्ज, भारतको रुपैडियाबाट ल्याउँछन् । उत्पादित प्याज स्थानीय सल्लीबजार लगायत सुर्खेत, नेपालगन्जमा बिक्री हुने गरेको छ ।

नाम्रामा बाली तथा आयमूलक तरकारी खेती गर्न धेरै जग्गा भए पनि सम्बन्धित निकायले सिचाइँबारे खासै चासो नदेखाएको कृष्णप्रसाद शर्माले बताए ।

प्याजमा रोग लागेका बारे किसानले कुनै जानकारी नगराएको नगरप्रमुख गोविन्दकुमार पुनले बताए । नगरपालिकामा एकमात्र कृषि प्राविधिक छन् । उनी पनि लकडाउनका कारण सबै ठाउँ जान नसकेको उनले बताए ।

प्रकाशित : जेष्ठ २, २०७७ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?