कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

स्वाब संकलन गर्न गाउँगाउँमा चिकित्सक

भारत र विदेशबाट फर्किएका व्यक्तिको स्वाब संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा कार्यालयका चिकित्सक गाउँगाउँमा खटिएका छन् ।
राजबहादुर शाही

मुगु — भारत र विदेशबाट फर्किएका व्यक्तिको स्वाब संकलन गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य सेवा कार्यालयका चिकित्सक गाउँगाउँमा खटिएका छन् । 

स्वाब संकलन गर्न गाउँगाउँमा चिकित्सक

प्रतिष्ठानले कोरोना भाइरस परीक्षण र सचेतना प्रवाहका लागि गाउँमा चिकित्सकको टोली खटाएको हो । प्रतिष्ठानका चिकित्सकसहित पारामेडिसियनको टोली मुगुमकार्मारोङ र सोरु गाउँपालिकामा खटिएको छ भने छायानाथरारा नगरपालिकामा जिल्ला अस्पतालका चिकित्सकले स्वाब संकलन थालेका छन् । खत्याड गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, रातापानीका चिकित्सकको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला स्वास्थ्य प्रमुख निर्मल नगरकोटीले बताए । उनका अनुसार परिचालन गरिएको टोलीले स्थानीय तहसँगको सहकार्यमा स्वाब संकलन, बिरामीको उपचार र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन् । ‘अन्य बिरामीको पनि उपचार सहज होस् भनेर चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाइएको हो,’ उनले भने, ‘जिल्लाबाहिरबाट आएका र ज्वरो तथा रुघाखोकीको लक्षण देखिएका बिरामीलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’

संकलन भएको स्वाब पीसीआर परीक्षणका लागि हेलिकप्टरमार्फत प्रतिष्ठान पुर्‍याइनेछ । गाउँमा खटिएका चिकित्सकको टोलीले एक महिनासम्म स्थानीय तहमै बसेर काम गर्ने व्यवस्था मिलाएको प्रतिष्ठानका अहेब हरिबहादुर बुढथापाले बताए । ‘स्वाबको रिपोर्ट पोजिटिभ आए बस्तीमा आउजाउमा प्रतिबन्ध लगाई उपचार सुरु गर्ने हाम्रो योजना हो,’ उनले भने, ‘टोलीले अन्य रोगका बिरामीको उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ ।’ उनका अनुसार अहिलेसम्म मुगुका १२ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

कोरोना संक्रमण हुन नदिन जिल्लाका ४ स्थानीय तहमा १९ हेल्थ डेस्क स्थापना गरिएको छ भने २ सय ९८ क्वारेन्टाइन बेड निर्माण गरिएको छ । जिल्लाभरि ३ सय २५ जनाको आरडीटी गरिएको जिल्ला स्वास्थ्य प्रमुख नगरकोटीले बताए । उनका अनुसार जिल्ला अस्पतालमा ११ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।


प्रकाशित : वैशाख ३१, २०७७ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?