१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सुर्खेत कारागारभित्र  कैदीबन्दीबीच कुटाकुट

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेत कारागारमा कैदीबन्दीबीच कुटाकुट भएको छ । कारागारका नाइके–सहनाइकेलगायत आठ कैदीले लागूऔषध कारोबारमा पुर्पक्षका लागि थुनामा रहेका वीरेन्द्रनगर–९ लाटीकोइलीका मिलन लामासहित ६ जना कैदीमाथि सोमबार कुटपिट गरेका हुन् । 

कारागार प्रशासनका अनुसार धीरज पराजुली, नवराज देवकोटा, सुनिल मल्ल, डीलबहादुर सुनार, टोपबहादुर रोकाया, डम्बर भण्डारी, शिव वस्नेत र हितेन्द्र मल्लले लामासहित ६ कैदीमाथि कुटपिट गरेका हुन् ।

उनीहरुलाई मरणसन्‍न हुने गरी कुटपिट गरिएको पीडित लामाकी पत्नी शारता महतारा लामाले बताइन् । उनले पतिसहित अन्य कैदीमाथि कुटपिट गर्नेलाई कडा कारबाही र पीडितको उपचारको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुधबार निवेदन दिएकी छन् । नाइके, सहनाइकेलगायत कैदीले बाँस र प्लाष्टिकको पाइपमा बालुवा भरेर मरणासन्न हुने गरी कुटपिट गरेको उनले दर्ता गरेको निवेदनमा उल्लेख छ ।

कैदी नाइके र सहनाइकेले आफ्नो दम्भ देखाउनका लागि बिना कारण उनीहरुमाथि कुटपिट गरेको एक कैदीले फोनमार्फत जानकारी गराए । ‘खुट्टा र शरीरको पछाडिको भागमा हिँडडुल नै गर्न नमिल्ने गरेर पिटेका छन्,’ उनले भने, ‘अहिलेसम्म पीडित ६ जनालाई नै आफन्तको सम्पर्कमा आउन दिइएको छैन ।’ कुटपिट भएका ६ कैदी–बन्दीलाई उपचारका लागि लैजानुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने आफन्तको माग छ ।

पीडितले दिएको निवेदनका आधारमा दोषीलाई कारबाही गर्न कारागार कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेत कारागारका सूचना अधिकारी भुवन गौतमले घटनाबारे छानबिन भइरहेको बताए । ‘प्रशासनले हामीलाई कारबाही गर्न अनुरोध गरेको छ,’ उनले भने, ‘हामीले आवश्यक छानबिन थालिसकेका छौं, छिट्टै आवश्यक कारबाही अगाडि बढाइनेछ ।’

प्रकाशित : वैशाख ३१, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?