२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

किट अभावले परीक्षण अन्योलमा 

हरि गौतम

रुकुम पश्चिम — लकडाउनको समयमा विभिन्‍न ठाउँमा अलपत्र परेका र वैदेशिक रोजगारीका लागि गएका करिब पाँच हजार व्यक्ति जिल्ला भित्रिए । अधिकांशलाई स्थानीय तहले निर्माण गरेका क्‍वारेन्टाइनमा पनि राखियो । तर, किट नभएको भन्दै परीक्षण नै नगरी घर पठाइँदा गाउँमा कोरोनाको त्रास कायमै छ । 

किट अभावले परीक्षण अन्योलमा 

स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म एक हजार जनाको आरडीटी र एक सय ६ जनाको मात्र पीसीआर परीक्षण गरिएको छ । किट अभाव भएपछि वैशाख १७ गतेयता परीक्षण रोकिएको कार्यालयले जनाएको छ । कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले किट कहिले आउँछ भन्ने अन्यौल कायमै रहेको बताए ।

जिल्लाका तीन स्थानीय तहले दुई साताअघि तीन दिनको अवधिमा उद्धारको नाममा एक हजार पाँच सय जनालाई भित्र्याएका थिए । उनीहरु सबै कोरोना भए/नभएको परीक्षण नगरी घर पुगेका छन् । बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकाले उद्दार गरि ल्याइएकालाई क्वारेन्टाइनमा राखे भने मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकाका बासिन्दा सोझै घर पुगेका थिए ।

दुई हप्ता क्वारेन्टाइनमा राखेका तीन स्थानीय तहले पनि सबैको परीक्षण नगराएको पाइएको छ । सानीभेरीले दुई सय २० जनालाई बिना परीक्षण घर पठायो भने बाँफिकोटमा भित्रिएका दुई सय चारमध्ये नमुनाको रुपमा ५० जनाको मात्र आरडीटी गरेको थियो ।

एक सय १७ जना क्वारेन्टाइनमा राखेको त्रिवेणी गाउँपालिकाले ५२ जनाको आरडीटी र दुई जनाको पीसीआर गरेको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले बताए । ‘संक्रमण परीक्षण गर्ने किट अभावमा क्वारेन्टाइनको हरेक कोठाबाट तीन जनासम्मको परीक्षण गरी घर पठाएका हौं,’ उनले भने, ‘दुई हप्ता पुगेपछि स्थानीयबासी आत्तिए, तत्कालै किट आउने सम्भावना नभएपछि परीक्षणमा समस्या भयो ।’

किट अभावकै कारण क्वारेन्टाइनमा राखेका सबैलाई बिना परीक्षण घर पठाउनु परेको सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । उनका अनुसार किट आएपछि क्वारेन्टाइन बसेर घर गएकालाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गर्ने सबै स्थानीय तहको योजना छ ।

मुसीकोट र चौरजहारीमा चार/चार सय तथा आठबीसकोट नगरपालिकामा झण्डै पाँच सय नागरिकलाई उद्दार गरिएको थियो । जनस्वास्थ्य कार्यालयले आकस्मिक अवस्थाका लागि दुई सय थान आरडीटी किट मौज्दात राखेको जनाएको छ ।

प्रकाशित : वैशाख ३१, २०७७ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?