कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जहाँ लकडाउनमै पनि विद्यालयको पढाइ जारी छ

हिमपातका कारण बाहिरका मान्छे नआएपछि कोरोना संक्रमणको जोखिम नहुने भन्दै हुम्लाको लिमी गाउँका विद्यालयमा पढाइ सञ्चालन भइरहेको छ ।
छपाल लामा

हुम्ला — लकडाउन लागू भएपछि स्कुल-कलेज ठप्प छन् । विकल्पमा कतिपय शैक्षिक संस्थाले अनलाइन कक्षा नै सुरु गरिसके । तर हुम्लाका दुई विद्यालयमा भने पठनपाठन जारी छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नभएको र लकडाउनको प्रभाव नपरेको भन्दै नाम्खा गाउँपालिका–६, लिमीस्थित हल्जी र जाङका आधारभूत विद्यालयमा पठनपाठन भइरहेको हो । 

जहाँ लकडाउनमै पनि विद्यालयको पढाइ जारी छ

हुम्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । फागुन पहिलो साता विद्यालय खुल्नुपर्ने भए पनि बाक्लो हिमपातका कारण लिमीमा चैतमा मात्र विद्यालय खुलेको स्थानीय शिक्षक छिरिङमेन्डाक लामाले बताए । उनका अनुसार गाउँमा कोरोना भाइरसको जोखिम र लकडाउनको प्रभाव छैन । ‘विद्यालय बन्द गरे कोर्स पूरा नहुने देखियो,’ उनले भने, ‘त्यसैले लकडाउनमा पनि पठनपाठन सञ्चालन गरेका हौं ।’ उनका अनुसार अहिले लिमीका विद्यालयमा नेपालीसँगै तिब्बती भाषामा पठनपाठन भइरहेको छ ।

लिमीको सुनखानी प्राथमिक विद्यालयमा यस वर्ष ४५ विद्यार्थी भर्ना भएका छन् । हिमपातका कारण लिमी जाने बाटो अहिले पनि बन्द छ । बाहिरका शिक्षक आउने बाटो बन्द भएकाले स्थानीय शिक्षकबाट पठनपाठन गराइरहेको विद्यालयका प्रधानाध्यापक कर्णजीत बुढाले बताए । ‘लिमी आउने नारा र न्यालु नाका हिमपातका कारण अझै बन्द छन्,’ उनले भने, ‘सरकारी दरबन्दीका शिक्षक जिल्लाबाहिरका भएकाले स्थानीय शिक्षकबाटै पठनपाठन गराइरहेका हौं ।’ लकडाउन अवधिभरि विद्यालय व्यवस्थापन समिति र अभिभावकले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था मिलाएको उनले जानकारी दिए ।

हिमपातकै कारण बाहिरका मानिस आउन नसक्ने भएकाले लिमीमा कोरोना भाइरस संक्रमणको जोखिम नरहेको ६ नम्बर वडाध्यक्ष पालजोर तामाङले दाबी गरे । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु शाहीका अनुसार लिमीमा अहिले निजी स्रोतका शिक्षकबाट पठनपाठन भइरहेको छ । सदरमुकाम सिमकोटबाट लिमी पुग्न चार दिनको पैदल दूरी छ ।

प्रकाशित : वैशाख २०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?