२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नियुक्ति अधिकृत, तलब कार्यालय सहयोगीको 

ज्योति कटुवाल

दैलेख — नारायण नगरपालिकाले अधिवक्ता हरिबहादुर खत्रीलाई २०७५ मंसिर १६ गते अधिकृतस्तरको तलब सुविधा दिने गरी कानुनी सल्लाहकार पदमा नियुक्ति दियो । उनले अहिले पनि न्यायिक समितिमा सल्लाहकारको रुपमा काम गरिरहेका छन् । तर, नगरपालिकाले उनको बैंक खातामा कार्यालय सहयोगी जत्तिकै मासिक १९ हजार रुपैयाँ मात्र पठाइरहेको छ ।

नियुक्ति अधिकृत, तलब कार्यालय सहयोगीको 

नगरपालिकाले दिएको नियुक्तिपत्रमा भने उनको तलब २८ हजार रुपैयाँ उल्लेख छ । लेखा शाखाका ‘लकबुक’मा भने कार्यालय सहयोगी सरहको तलब पाइने उल्लेख गरिएको उनले गुनासो गरे । कानुनी सल्लाहकार खत्रीले सुरुको ३ महिना मात्र नियुक्ति अनुसारको तलब बुझे । ‘नियुक्ति पत्र सल्लाहकारको छ,’ उनले भने, ‘बैंक खातामा कार्यालय सहयोगीसरहको तलब जम्मा हुन थालेपछि रोक्न आग्रह गरेको छु ।’ उनले ३ महिनाको मात्र तलब लिएको जानकारी दिए ।

उनी मात्र होइन, नगरपालिकामा कार्यरत अन्य प्राविधिक कर्मचारीले पनि तह अनुसारको सुविधा पाउन सकेका छैनन् । ऐन/ कानुन लत्याएर मतदाता रिझाउन भर्ती गरिएका कर्मचारी तहअनुसार तलब नपाउँदा थप समस्यामा परेका छन् । तहअनुसारको सुविधा नपाउँदा जागिर छोड्नुपर्ने बाध्यता भएको एक कर्मचारीले गुनासो गरे ।

ल्याब टेक्निसियन जगत खड्का, कम्प्युटर अपरेटर धर्म रेग्मी, पूर्णप्रसाद शर्मा, सहायक कम्प्युटर अपरेटर दिपा खड्का र शर्मिला न्यौपानेको तलब पनि कार्यालय सहयोगी सरहको मात्र छ । ‘नियुक्तिपत्र र जिम्मेवारी एक तहको छ, तलब कार्यालय सहयोगीको,’ एक कर्मचारीले गुनासो गरे, ‘हामीमाथि लामो समयदेखि श्रमशोषण भयो, न्याय माग्न कहाँ जाने ?’

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा कार्यालय सहयोगी, माली र नगर प्रहरी पदमा मात्र विज्ञापन गरी कर्मचारी पूर्ति गर्न पाइने उल्लेख छ । कानुनमा उल्लेख भएअनुसार कार्यालय सहयोगीबाहेक अन्य पदमा तलब खुवाउन नपाइने भएपछि अन्य दर्जाका कर्मचारीलाई पनि सोहीअनुसार सुविधा दिइएको जनप्रतिनिधिले बताउँदै आएका छन् । सबै पदमा विज्ञापनबिनै नगरपालिकाले कर्मचारी भर्ना गरेको हो । प्रमुख प्रशासकीय अधिकृत छवीलाल नेपालीले यसबारे कुनै प्रतिक्रिया नदिने बताए ।

प्रकाशित : वैशाख १६, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?