कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्धार गरेर फर्काइएकाहरु भन्छन्- 'क्वारेन्टाइनमै बिरामी भइयो'

५ सय जनालाई कालीकोट ल्याइए पनि २ सय ५ जनालाई  मात्र क्वारेन्टाइनमा राखिएको छ। अरु यात्रुबारे स्थानीय सरकारसमेत बेखबर छन्।
तुलाराम पाण्डे

कालीकोट — जिल्लाबाहिर अलपत्र परेका स्थानीयलाई प्रदेश सरकारले उद्धार गरे पनि उनीहरुले विभिन्न सास्ती भोग्नुपरेको बताएका छन्। काठमाडौंबाट लकडाउन छिचोलेर बुधबार ताडी पुगेको यात्रुबाहक बसमा आएका ५५ यात्रुलाई खाँडाचक्र नगरपालिकाले तिलाकर्णाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको छ। तर क्वारेन्टाइनमा खान र बस्न पनि ठूलो सास्ती भोग्नुपरेको तिलागुफा–२ का नन्द बोहोराले गुनासो गरे।

उद्धार गरेर फर्काइएकाहरु भन्छन्- 'क्वारेन्टाइनमै बिरामी भइयो'

‘चिसो भुइँमा त्रिपालमाथि पिफम ओछ्याएर सुत्दा ढाड चलाउनै नसकिने भएको छ,’ उनले भने, ‘घर पुर्‍याउने भनेर बाटोमा पनि धेरै दुःख दिए।’ महाबै, तिलागुफा र जुम्लाको सिँजाका बासिन्दालाई उक्त क्वारेन्टाइनमा राखिएको छ।

सुत्ने ठाउँ पनि पानी चुहिएर चिसो भएको कनकासुन्दरी–१, जुम्लाकी सुशीला उपाध्यायले बताइन्। उनी काठमाडौबाट हिँडेको ३ दिनमा कालीकोट पुगेकी हुन्। बुधबार राति र बिहीबार दिनभरि पानी परेकाले चिसोले रुघाखोकी लागेको उनले बताइन्। ‘गाउँकै क्वारेन्टाइनमा राखिएको भए जस्तो दुःख पनि भोग्न सकिन्थ्यो,’ उनले भनिन्, ‘यहाँ ल्याएर राख्न किन उद्धारको नाटक गरिएको होला?’ आधारभूत स्वास्थ्य इकाइका कर्मचारीले ज्वरो नापे पनि अन्य उपचार नगरेको उनको भनाइ छ।

क्वारेन्टाइनमा बसेकाले जिल्ला अस्पतालबाट डाक्टर बोलाइ आफूहरुको जाँच गर्नुपर्ने माग गरेका छन्। ‘उद्धार भनेर हामीलाई दुःख मात्र दिइयो,’ स्थानीय जगत शाहीले भने, ‘सरकारले सामाजिक दुरी कायम गर्ने नारा लगाएको छ, यहाँ भने एउटै कोठामामा १५/२० जनालाई खाँदेर राखिएको छ।’ बुधबार ३ वटा यात्रुबाहक बस कालीकोट भित्रिएकोमा एउटा गाडीलाई रोकेर दुःख दिएको उनको आरोप छ।

कोहलपुरबाट एक शंकास्पद बिरामी आएको भन्ने सूचनाका आधारमा जाँचका लागि गाडी रोकिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए। जुम्ला र मुगु जाने दैनिक ३/४ वटा गाडी छोडिएको उनको भनाइ छ। ‘सबैलाई आरडीटीपछि घर पठाइनेछ,’ उनले भने, ‘सबै स्थानीय तहलाई नागरिकको व्यवस्थापन गर्न आग्रह गरिएको छ।’ उनका अनुसार एक साताको अवधिमा करिब ५ सय जनालाई प्रदेश र स्थानीय सरकारले उद्धार गरेका छन्।

शंकास्पद बिरामी भएको गाडी र सबै यात्रुलाई गाउँको बीचमा रहेको तिला कर्णाली क्याम्पसको क्वारेन्टाइनमा राखेको भन्दै स्थानीयले विरोध गरेका छन्। गाउँमा बाहिरका बिरामी ल्याएर सबैको स्वास्थ्यमाथि खेलबाड गरिएको स्थानीय अर्चना पाण्डेले आरोप लगाइन्।

क्वारेन्टाइनमा २०५ जना

लकडाउनमा अलपत्र परेका ५ सय जनालाई कालीकोट ल्याइए पनि बिहीबारसम्म ९ वटै पालिकामा २ सय ५ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ। अरु यात्रुबारे स्थानीय सरकारसमेत बेखबर छन्।

गाउँमा आएको थाहा भएकालाई क्वारेन्टाइनमा राख्ने गरिएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरवहादुर विष्टले बताए। लुकेर सुटुक्क घर जानेको पनि खोजी गरिरहेको उनको भनाइ छ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार खाडाचक्रमा ८५, पचालझरनामा ४, सान्नीत्रिवेणीमा ४०, नरहरिनाथमा २७ र महाबैमा २६ जना क्वारेन्टाइनमा छन्।

पलाँता गाउँपालिकामा मंगलबार आएका केही व्यक्तिलाई सरस्वती माविको क्वारेन्टाइनमा राखिए पनि खाना र बस्नको असुविधा भएपछि भागेर घर गएका छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले धौलागोहको राडुनेटा, खीनको नेटा र मेहेल्ने क्वारेन्टाइनमा २७ जना बसिरहेको दाबी गरे। ‘थिर्पूबाट स्थानीयवासीलाई घर नजिकको क्वारेन्टाइनमा पठाइएको हो,’ उनले भने, ‘भागेर गएका होइनन्।’

३८९ जनाको स्वास्थ्य परीक्षण

९ वटै पालिकामा अहिलेसम्म ३ सय ८९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। २ सय २८ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको निमित्त कार्यालय प्रमुख डा. भीष्म पोख्रेलले बताए। उनका अनुसार सबै पालिकामा किटसहित चिकित्सकको टोली जिल्लाभर घुमेर फर्किएको छ।

प्रकाशित : वैशाख १२, २०७७ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?