कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

राहतमा चामलको सट्टा मकै 

खाद्य संस्थानको डिपोमा चामल मौज्दात नहुँदा बारेकोटका ३ हजार घरधुरीलाई मकै वितरण गरिँदै 
भीमबहादुर सिंह

जाजरकोट — बारेकोट गाउँपालिकाले विपन्न घरपरिवारलाई राहतस्वरुप मकै वितरण गर्ने भएको छ । करिब एक महिनादेखिको लकडाउनका कारण अतिविपन्न परिवारमा खाद्यान्न अभाव देखिएको भन्दै मकै वितरण गर्न लागिएको हो । 

राहतमा चामलको सट्टा मकै 

खाद्य तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को घाटस्थित डिपोमा चामल मौज्दात नभएपछि मकै वितरण गर्ने निर्णय गरिएको हो । अहिले घाट डिपोमा ७ क्विन्टल मात्र चामल मौज्दात छ । बाहिरबाट तत्काल आपूर्ति हुने सम्भावना नभएपछि मकै वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहीले बताए । उनका अनुसार राहतका लागि स्थानीयस्तरमै मकै खरिद गर्न थालिएको छ ।

उनले ३ हजार विपन्न घरमा २५ किलो मकै, आधा लिटर तेल र २ किलो वितरण गर्न लागिएको जानकारी दिए । गाउँपालिकाले मकै खरिद गर्न सबै वडामा डेढ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अध्यक्ष शाहका अनुसार वडाबाट वितरण हुने खाद्यान्नले ३ हजार घरधुरीका १२ हजार जनालाई १ महिना खान पुग्ने अनुमान छ । शिक्षक, कर्मचारी, व्यापारी र जनप्रतिनिधिबाहेक सबैको घरमा मकै वितरण गरिने उनले बताए ।

बारेकोटमा धान उत्पादन न्यून हुन्छ । हिउँदे बाली गहुँ र जौं नपाक्दा विपन्न परिवारमा खाद्यान्न समस्या देखिएको छ । बाहिरबाट चामल आपूर्ति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कार्यपालिका वैठकले मकै वितरणको निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए । स्थानीय उत्पादनमा वृद्धि ल्याउन पनि राहत अभियानले सहयोग गर्ने उनले दाबी गरे । ‘स्थानीय बाली उत्पादनमा जोड दिन विशेष अनुदानका कार्यक्रम ल्याउन लागेका छौं,’ उनले भने, ‘वर्षेनी खाद्य अभावको मारमा परिरहेको बारेकोटलाई खाद्यान्नमा निर्भर गराउन आवश्यक तयारीसमेत थालिएको छ ।’

खाद्य व्यापार तथा कम्पनी लिमिटेडले खाद्य अभाव हुने बारेकोटमा खाद्यान्न ढुवानीमा वर्षौंदेखि लापरबाही गरिरहेको स्थानीयको गुनासो छ । स्थानीय मनसरा विकले घाट डिपोमा कहिल्यै पर्याप्त चामल नहुने बताइन् । २ हजार ५ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएको डिपोमा यस वर्ष १ हजार ४ सय क्विन्टल मात्र चामल ढुवानी भएको छ ।

एमबी विल्डर्सले गत चैत मसान्तसम्म सबै चामल ढुवानी गर्ने गरी सम्झौता गरेको भए पनि अहिलेसम्म आलटाल गरिरहेको कम्पनीका शाखा कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले बताए । ‘ठेकेदारले लकडाउनका कारण चामल ढुवानीमा फेरि आलटाल गरिरहेका छन्,’ उनले भने, ‘कारबाहीको चेतावनीसहित ठेकेदार कम्पनीलाई तत्काल चामल ढुवानी सक्न ताकेता गरिएको छ ।’

प्रकाशित : वैशाख ४, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?