अण्डा नबिक्दा संकटमा कुखुरापालन व्यवसाय

‘कुखुराको दानामा दैनिक एक हजार खर्च हुन्छ, अण्डा बिक्री भने एक सय रुपैयाँको पनि छैन।’
भीमबहादुर सिंह

जाजरकोट — अण्डा बिक्री नहुँदा कुखुरापालक किसान मर्कामा परेका छन्। लकडाउनका कारण दानासमेत महँगो हुँदा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ। भेरी नगरपालिका–३, स्यालामा दानीलाल पुनले सञ्चालन गरेको पुन कुखुरा फार्मबाट दैनिक ७ सय अण्डा उत्पादन हुन्छ।

अण्डा नबिक्दा संकटमा कुखुरापालन व्यवसाय

लकडाउनका कारण १२ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको उनले गुनासो गरे। ‘फार्ममा अण्डाको थुप्रो लागेको छ,’ उनले भने, ‘कुखुरालाई दाना खुवाउन मात्र दैनिक ७ हजारका दरले खर्च हुन्छ, अब कसरी उक्सिने भन्ने चिन्ताले सताएको छ।’


उनको फार्ममा करिब १२ हजारभन्दा बढी अण्डा थन्किएका छन्। प्रतिअण्डा १० रुपैयाँमा दिँदा पनि बिक्री नभएको उनले सुनाए। उनले दाना प्रतिकिलो ७० रुपैयाँमा खरिद गरी १ हजार कुखुरा पालिरहेका छन्।


७ महिनाअघि व्यवसाय सुरु गरेका पुनले नाफा लिने बेला लकडाउनले समस्या पारेको बताए। ‘बजार र होटल ठप्प भएपछि अण्डा बिक्री हुन छाडे,’ उनले भने, ‘लकडाउन लम्बिए व्यवसाय नै संकटमा पर्ने देखियो।’ उनका अनुसार लकडाउनअघि दैनिक करिब ६ सय अण्डा बिक्री हुन्थ्यो। दाना अभावमा २ सय कुखुरा मरेको उनी बताउँछन्।


भेरी –१, रावतगाउँका गोविन्द विकको पनि पीडा पनि उस्तै छ। उनको विक कुखुरा फार्ममा करिब ८ हजार अण्डा बिक्री नभई थन्किएका छन्। ६ सय लेयर्स जातका कुखरा पालन गरेका विकको फार्ममा दैनिक ५ सय अण्डा उत्पादन हुन्छ। बजारमा अण्डा बिक्री नभएपछि विकले दानाको घाटा ब्यहोर्नुभन्दा स्थानीयलाई अण्डा पार्ने उमेरका २ सय कुखुरा सित्तैमा वितरण गरेका छन्। ‘घाटा ब्यहोर्नुभन्दा सित्तैमा वितरण गर्नु नै राम्रो लाग्यो,’ उनले भने, ‘कुखुरालाई दैनिक १ हजारको दाना खर्च हुन्छ, तर अण्डा बिक्री १ सय रुपैयाँको छैन।’


विकका अनुसार सदरमुकाम खलंगाका आधा दर्जन कुखुरा फार्मबाट दैनिक ५ हजार अण्डा उत्पादन हुन्छ। लकडाउन अवधिमा अण्डाको बजार शून्य भएकाले कृषकलाई १ करोड रुपैयाँ बढी घाटा लागेको विकको भनाइ छ।

प्रकाशित : चैत्र ३०, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?