क्‍वारेन्टाइनबाट भागेका ७ जनाको घरमै गएर स्वास्थ्य परीक्षण 

विप्लव महर्जन

सल्यान — बाँकेको जमुनाहा नाका हुँदै घर फर्केने क्रममा नेपालगन्जको महेन्द्र बुहमुखी क्याम्पसको क्वारेन्टाइनबाट भागेर सल्यान आएका सात जनाको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको छ ।

क्‍वारेन्टाइनबाट भागेका ७ जनाको घरमै गएर स्वास्थ्य परीक्षण 

भारतका विभिन्‍न ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिइरहेका बेला भारतबाट फर्कनेहरुको घरमै पुगेर सिम्ता गाउँपालिकाले खटाएका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका हुन् ।


सिम्ता गाउँपालिका-४ सिमलागाउँका उनीहरुलाई गाउँ स्वास्थ्य संयोजक बिरेन्द्र पुनको टोली घरमै पुगेर स्वास्थ्य परीक्षण गरेकाे गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसीले जानकारी दिए । स्वास्थ्य परीक्षण गरिएका सबैको अवस्था सामान्य रहेको पनि उनले बताए । अध्यक्ष केसीका अनुसार क्वारेन्टाइनबाट भागेका उनीहरु चैत्र ११ गते घर फकिएका थिए । घर आएको १६ दिनपछि मात्रै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

भारतलगायत विभिन्‍न देशबाट सिम्ता गाउँपालिकामा एक सय ५२ जना भित्रिएका छन । सबैको अवस्था सामान्य रहेको गाउँपालिकाले जानकारी दिएको छ। घर फर्किएका सबै स्वास्थ्कर्मीको निगरानीमा रहेका छन् । भागेर घर फर्कनेहरु अरु पनि हुन सक्ने भएकाले खोजी भइरहेको उनको अध्यक्ष केसीले बताए।


कोरोना भाइरसको महामारी फैलिएको बेला पालिकाभित्रका कसैलाई पनि संक्रमण हुन नदिन शंका लागेकाहरुको स्वाब परीक्षण गरिने अध्यक्ष केसीले जानकारी दिए । ‘रोगको संक्रमणबाट बच्न सबैलाई लकडाउनको अवधिभर घर बाहिर ननिस्कन सल्लाह दिइरहेका छौं । रोगको संक्रमण बढ्न नदिन कीटाणुनाशक औषधि पालिकाभरिका सबै ठाँउमा छरेका छौं । सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं,’ उनले भने ।

प्रकाशित : चैत्र २७, २०७६ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?