कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कर्णालीमा कोरोनाविरुद्ध लड्न यस कारण छानियो सामुदायिक अस्पताल

हरि गौतम

रुकुम पश्चिम — चौरजहारी नगरपालिका–१ स्थित चौरजहारी सामुदायिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई उपचार गर्ने गरी कोरोना अस्थायी अस्पताल बनाइएको छ । अन्यत्रका सामुदायिक अस्पतालले बिरामी भर्ना गर्न नै नमानिरहेको अवस्थामा यो अस्पताल भने कोरोना संक्रमितको उपचार कसरी गर्न सकिन्छ भनेर निरन्तर लागिरहेको छ ।

कर्णालीमा कोरोनाविरुद्ध लड्न यस कारण छानियो सामुदायिक अस्पताल

कोरोना संक्रमितको उपचारका लागि ४ बेड आइसीयूसहितका छन् भने २० आइसोलेसन बेड बनाइएको छ । आइसोलेसन बेडको संख्या ५० पुर्‍याउन अस्पताल लागिपरेको छ । २४ बेड तयार पारिसकेको अस्पतालले बाँकी २६ बेड निर्माणको कार्य गरिरहेको छ ।

कोरोना अस्थायी अस्पताल बनाउने कार्य जारी रहे पनि बिरामी भर्ना गरेर उपचार गर्न सकिने अवस्था बनिसकेको छ । कोरोना संक्रमण भएर आएको सन्दर्भमा त्यसको उपचारका लागि अस्पतालले तयारी गरिसकेको छ । २४ जनासम्मलाई उपचार गर्नका लागि आवश्यक तयारी भइसकेको छ । २० बेड अस्पताल नजिकै रहेको शीतल माध्यामिक विद्यालयमा बनाइएको छ भने ४ आइसोलेसन बेड अस्पताल भित्रै तयार छन् ।

कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै चैत्र १३ गतेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले अरु २ सरकारीसहित चौरजहारी सामुदायिक अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको थियो । सुर्खेतको प्रादेशिक अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साथमा चौरजहारी अस्पताललाई कोरोना आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारले यसका लागि ५० लाख बजेट समेत छुट्याइसकेको छ ।

आइसोलेसन बेड बनाउनका लागि उपकरण खरिद त्यसको व्यवस्थापन, स्वास्थ्यकर्मीको चाँजोपाँजो मिलाउनका लागि बजेट दिने निर्णय प्रदेश सरकारले गरेको थियो । काम गर्दै जाँदा ५० लाख बजेट पनि अपुग हुने भएपछि बढाउनका लागि प्रदेश सरकार तयार छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट पुर्‍याउने जिम्मा प्रदेश सरकारको भएको बताए । अस्पतालले बनाइरहेको आइसोलेसन बेड अनुगमनका लागि चौरजहारी पुगेका मन्त्री रावलले व्यवस्थापनको काम गर्दै जाँदा बजेटका कारण काम नरोक्न अस्पताललाई निर्देशन दिएका छन् । ‘काम गर्नुस्, बजेटको चिन्ता छैन,’ उनले भने, ‘जतिसक्यो छिटो काम हुन्छ र बजेट सकिन्छ त्यसरी नै प्रदेश सरकार बजेट दिनका लागि तयार छ ।’

चौरजहारी अस्पताल तीन जिल्लाको केन्द्र भागमा छ । रुकुम पश्चिम, सल्यान र जाजरकोट । यसका साथै डोल्पा, रोल्पा र सुर्खेतको केही ठाउँका सर्वसाधारण पनि यस अस्पतालमा उपचारका लागि आउने गर्दछन् । ‘प्रदेश सरकारले सबै हिसाबले उपयुक्त हुने भएपछि चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो,’ कर्णाली प्रदेश सरकारकी प्रवक्ता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री अस्पतालकी अध्यक्ष विमला केसीले भनिन्,‘एक भन्दा बढी धेरै जिल्लाको केन्द्र, बिरामीको फ्लो, जनशक्ति, उपकरण र व्यवस्थापनको कारण पनि यो अस्पताल छनौटमा परेको हो ।’

कोरोना अस्थायी अस्पतालको अध्यक्ष मन्त्री केसीलाई नै तोकिएको छ । यो विपत्तिका बेला जनतालाई सुरक्षित राख्नका लागि चौरजहारी अस्पताल छनौट गरिएको र यसले अब काम गर्ने उनको भनाई छ । तयार भएका बेडको थप व्यवस्थापन र अरु बेड निर्माणको काम भइरहेको भन्दै उनले एकै पटक ५० जना कोरोना संक्रमितको उपचार हुने बताइन् । सिकिस्तलाई छुट्टै र सामान्य बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गर्ने व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।

कोरोना उपचार अस्पताल अनुगमनको क्रममा कर्णाली प्रदेशका मन्त्री प्रकाश ज्वाला, दल रावल, विमला केसी तथा जिल्ला स्थित सरोकारवाला निकायका प्रतिनिधि ।

प्रदेशकै दोस्रो अस्पताल अस्पतालमा आउने बिरामीको संख्याको आधारमा चौरजहारी अस्पताल कर्णाली प्रदेश दोस्रो भएको दाबी गरिएको छ ।

बिरामीको स्ख्याका हिसाबमा सुर्खेतको प्रादेशिक अस्पतालपछि चौरजहारी अस्पताल पर्छ । अस्पतालको ओपीडीमा दैनिक ४ सय ५० देखि ५ सय बिरामी आउने गरेका छन् । ५० बेडको अस्पतालमा दैनिकजसो ६० देखि ७० जना बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । अरु जिल्लाबाट पनि आउन सजिलो भएकाले बिरामीको संख्या बढी हुने अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा अस्पतालमा ६५ हजार बढी ओपीडीमा बिरामी आएका थिए भने ५ हजार ४ सय जनाको अस्पताल भर्ना गरेर उपचार भएको थियो ।

२ हजार १ सय ४४ वटा अपरेशन भएका थिए । ४ हजार ७ सय ४ जना आकस्मिक भर्ना भएका थिए भने ७ सय ७९ सुत्केरी भएका थिए । चालु आर्थिक वर्षका साउनदेखि फागुनसम्म ५५ हजार बढी ओपीडीमा बिरामी आएका छन् ।

कोरोनाको त्रास सुरु भएपछि ओपीडी बन्द गरिएको छ । अस्पताललमा २४ घण्टा आकस्मिक सेवा, हप्ताको ६ दिन ओपीडी सेवा, बाल स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पताल भर्ना हुने ५ वर्षमुनिका बच्चाको निशुल्क उपचार हुन्छ भने एक जना कुरुवाको खाने, बस्नेसम्मको व्यवस्था पनि अस्पतालले गर्दै आएको छ । अस्पताललमा हुने सामान्य र जटिल सुत्केरी सेवा निःशुल्क पाइन्छ ।

पेटको गानोगोला, हड्डीको अप्रेशन, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोशिल, पाठेघरको अप्रेशन हुन्छ । अस्प्तालमा एक बाल रोग विशेषज्ञ सहित ६ जना चिकित्सक छन् । ९८ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

प्रकाशित : चैत्र २७, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?